२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपालबाट निर्यातमा आठ गुणा बढीको सम्भावना, तर सरकारलाई नै छैन चासो
नेपालबाट निर्यात हुने वस्तु अधिकांश विदेशी !

सबैले भन्दै र सुन्दै आएको एउटा भनाइ हो- ‘नेपालमा सियो पनि बन्दैन’ । यो भनाइ सत्य पनि हो । नेपालमा बर्सेनि लाखौँ रुपैयाँको सियो आयात हुने गरेको छ । सियोलाई सानो र सामान्य मानेर यस्तो टिप्पणी गरिएको हुनसक्छ । सियो नेपालमा नबन्दा आयात गर्नुपर्ने स्थिति आए पनि नेपालबाट कुनै पनि वस्तु निर्यात नै नहुने भने होइन । 


नेपालका केही त्यस्ता वस्तुहरू पनि छन्, जुन विदेश निर्यात भई अर्थतन्त्रमा ठूलो योगदान दिइरहेका छन् । तर ती वस्तु जति मात्रामा निर्यात हुन सक्थ्यो, त्यस अनुसारको सफलता हासिल गर्न भने नेपाल अझै पनि चुकिरहेको छ । यो कुरा विश्व बैंकले सार्वजनिक गरेको एक तथ्यले पनि पुष्टि गर्छ । 



विभिन्न ५० वटा देशको वैदेशिक व्यापार (निर्यात) अवस्था अध्ययन गर्दै विश्व बैंकले नेपालले सबैभन्दा धेरै सम्भावना खेर फालिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त तथ्याङ्क अनुसार नेपालले हालको भन्दा आठ गुणा बढी निर्यात गर्न सक्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ११ महिनामा २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा १  खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको निर्यात भएको थियो । 

नेपालले निर्यात गर्ने वस्तुको प्रमुख हिस्सा प्रशोधित खाद्य तेलको देखिन्छ । नेपालबाट सबैभन्दा धेरै निर्यात भएका अधिकांश वस्तु नेपाली उत्पादन होइनन् ।  व्यवसायीले तेल तेस्रो मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर निर्यात गर्ने गरेका छन् । जसले निर्यातको दर बढ्नुमा हाम्रो आन्तरिक उत्पादनको कुनै भूमिका देखिँदैन । 



चालू आर्थिक वर्षको ११ महिनामा नेपालले १ खर्ब ७ अर्ब ६८ करोड रुपैयाँको पाम तेल तथा प्रशोधित तेल निर्यात गरेको छ । यस्तै, २६ अर्ब ४८ करोड रुपैयाँको धागो निर्यात हुँदा १३ अर्ब ३ करोडको तयारी कपडा निर्यात भएको छ ।  यसै गरी १२ अर्ब ४४ करोडको चिया कफी र मसलाजन्य वस्तु निर्यात भएको छ । यस्तै, ११ अर्ब १५ करोड रुपैयाँको गलैँचा निर्यात हुँदा  ८ अर्ब ५९ करोड रुपैयाँको काठ तथा काठजन्य वस्तु, ७  अर्ब ५१ करोड रुपैयाँको पशुजन्य आहार, ७ अर्ब २६ करोडको फलफूलका बोट बिरुवा निर्यात भएको छ ।

यी वस्तु भारतलगायत चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, फ्रान्स, क्यानडा, अस्ट्रेलिया, जापानमा निर्यात भएको छ । सोयाबिन तेल, पाम आयलजस्ता उत्पादनको निर्यातलाई अस्थायी प्रकृतिको मानिन्छ । तयारी पोसाक, ऊनी गलैँचा, हस्तकलाका सामान, नेपाली हाते कागज, चिया, कफी, जुट जस्ता उत्पादन भने नेपालको आफ्नै उत्पादन हो । तर नेपालबाट निर्यात हुने अधिकांश वस्तु नेपाली उत्पादन नहुँदा चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको बताउँछन्, अर्थशास्त्री ज्ञानेन्द्र अधिकारी । 

‘नेपालबाट निर्यात भएका अधिकांश वस्तुजस्तै भटमास, कच्चा पाम तेल, सूर्यमुखी तेल, धागो, पस्मिना, सुगन्धित तेल, पशु आहार आदिका कच्चा पदार्थ तथा मध्यवर्ती वस्तु तेस्रो मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गरिएका देखिन्छन्,’ उनी भन्छन्, ‘यस्ता वस्तु निर्यातबाट प्राप्त गर्ने आम्दानी कम हुन्छ भने दीर्घकालीन पनि हुँदैन ।’



नेपाल हाल सीमित वस्तु जस्तै गलैँचा, तयारी पोसाक, वनस्पति घिउ, तेल लगायत वस्तु निर्यात मात्र केन्द्रित देखिन्छ । निर्यात व्यापार प्रवर्द्धनका लागि पाँच औले, यार्सागुम्बाजस्ता जडीबुटीका साथै अन्य कृषिजन्य वस्तुलाई निर्यातका लागि ध्यान दिनुपर्ने अर्थशास्त्री अधिकारी बताउँछन् ।

नेपालले निर्यात गर्ने सक्ने अथाह सम्भावना हुँदा हुँदै पनि चुकिरहेको उनको भनाइ छ । उनका अनुसार नेपाल सरकारले नै अहिलेसम्म निर्यातमा राम्रो सम्भावना रहेका अन्य वस्तुहरूको पहिचान गरी ती वस्तुको प्रवर्द्धनको लागि विशेष चासो दिन सकेको छैन ।

पछिल्लो समय व्यापार घाटा कम गर्न सक्ने केही आयाम नेपालमै छन् । सरकारले कफी, मह, धागो, कपडा, गलैँचा, छालाजन्य वस्तुलगायतका सामग्रीलाई निर्यातजन्य वस्तुमा समेटेर प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । तर पनि यीमध्ये कुनै पनि सामग्रीले आयात प्रतिस्थापन गर्न सकेका छैनन् । जसका कारण नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि उपभोग र आयातमुखी बन्दै गएको छ ।

जसको प्रभाव हाल अर्थतन्त्रमा देखा परेको छ । बढ्दो व्यापार घाटा कम गर्ने प्रमुख आधार आयात प्रतिस्थापन र निर्यात वृद्धि हो । नेपालको निर्यात क्षेत्रमा असीमित सम्भावना छन् । तर, त्यसको उपयोग गर्न हामी चुकिरहेका छौँ । अब स्पष्ट दृष्टिकोण, दीर्घकालीन योजना, गुणस्तरीय उत्पादन नीति कार्यान्वयनमार्फत निर्यातलाई नयाँ उचाइमा पुर्‍याउन आवश्यक छ । 

  • प्रकाशित मिति : १० असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया