राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई अस्वीकार गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिमा नै स्वार्थको द्वन्द्वबाट जेलिएका पात्रहरू रहेको बताएका हुन् ।
उनले भने, ‘शंकरदास वैरागी अहिलेको निगाह प्राप्त नेताहरूको ‘गुडबुक्स’मा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिन हुन्न भन्ने हाम्रो पाटीको मत छ,’ उनले थप भने, ‘उहाँ स्वयम सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । उहाँले कसको छानबिन गर्ने, गृहमन्त्री स्वयम संन्देहको घेरामा हुनुहुन्छ ।’
छानबिन समितिलाई अस्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आज पनि सदन बहिष्कार गरेका छन् । हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले ‘पहेँलो हो भन्दैमा पित्तललाई सुन भन्न नसकिने’ जस्तै कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भन्दैमा छानबिन समिति हुन नसक्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले समिति भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको यो नयाँ प्रपोगाण्डा भएको भन्दै यसका विरुद्धमा राप्रपा सडक र सदनमा उभिने बताए ।
उनले भने, ‘पहेँलो हो भन्दैमा पित्तललाई सुन भन्न सकिँदैन । यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दै गर्दा के हो छानबिन समिति हुनसक्छ ? यो त निगाहा प्राप्त गरेको, अझ अपराधलाई कसरी ढाकछोप गर्ने, भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याएको नयाँ प्रपोगाण्डा हो । यसका विरुद्धमा राप्रपा सडक र सदनमा जान्छ । यो समितिले न्याय दिन सक्दैन । संख्याको आधारमा यो प्रकरणलाई निस्तेज नपारियोस् । यो मान्छे बेच्ने प्रक्रिया हो । यसमा हाम्रो आपत्ति छ ।’
यस्तै, उनले सत्ताको नसा लागेपछि मान्छेले आफूलाई भगवान् सम्झिने भन्दै भिजिट भिसा प्रकरणमा बेचिएका नागरिक राप्रपा र रास्वपाका मात्रै होइनन् काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि भएको बताए ।
उनले भने, ‘सत्ताको नसा यस्तो लाग्छ कि मान्छेले आफूलाई भगवान् सम्झिन्छ । जनताको भलाई बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ । भिजिट भिसा प्रकरण आज हामी कति दल छौ, कति सांसद छौ, कति हाम्रो सङ्ख्या छ यसले महत्त्व राख्दैन । अहिले जसरी ती बेचिएका नागरिक छन् ती नागरिकहरू के राप्रपा र रास्वपाका मात्रै हुन् त ? ती बेचिएका नागरिकहरू काङ्ग्रेस, एमाले, माओवादीमा आस्था राख्ने पनि छन् । वा एक वाक्यमा भन्दा नेपाली नागरिक हुन् । ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यस्तो अपराधमा शंकाको घेरामा राजनीतिक दलहरू, विशेष गरेर१८ वर्षमा १४ जना गृहमन्त्रीहरू भए । ती सबैलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर माग गरिरहेका छौ । तर अहिले दूधको साक्षी बिरालो जस्तो मात्र भयो ।’
जसका विरुद्धमा छानबिन हुनुपर्ने हो, उनीहरूले नै कर्मचारी राखेर छानबिन समिति बनाए यसले विधिको शासन स्थापना नगर्ने पनि उनको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।