२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

विद्युत् प्राधिकरणको लापरबाही, करेन्टले खच्चर मरेपछि किसानको बिजोग

मुगु छायानाथ रारा नगरपालिका–१०का  जग्गी बडूवाल र सोही ठाउँका पृथ्वी बडूवालले खच्चर व्यवसाय गर्दै आएको वर्षौँ भयो । ती र ती जस्तै व्यवसायीहरूलाई घर खर्च र गुजारा चलाउन खच्चरकै सहारा छ । 


तर, गत आइतबार जग्गीले नसोचेको घटना भोग्नु पर्‍यो । त्यो दिन  जग्गी र छायानाथकै कर्णबहादुर मल्लका समेत गरी १० खच्चड विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट लिक भएको करेन्टमा परे । करेन्टको झट्कासँगै छटपटाहट मै खच्चरको प्राण गयो, जग्गी, प्रेम र कर्णका प्रिय जनावरमात्रै मरेनन्, आम्दानीको बाटो नै बन्द भयो । 



छायानाथ रारा नगरपालिका—१२ लुम्सको भ्याकुनेमा रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट करेन्ट चुहावट हुँदा कर्ण का चार, जग्गी तीन र पृथ्वी का तीन गरी १० वटा खच्चर मरेका हुन् । 

मुगुम कार्मरोङ गाउँपालिमा व्यापारी र योजनाका सामग्री ढुवानी गरेर आफ्नो घर फर्किँदै गर्दा घटना घटेको खच्चर धनी जग्गी बडूवालले बताए । प्राधिकरणको लापरबाहीका कारण आफूहरूको कमाई खाने बाटो नै बन्द भएको उनले दुःखेसो पोखे । 



सोही स्थानमा दुई दिन अगाडि कम्फा गाउँका खडकबहादुर बुढाको दुहुनु भैँसीलाई पनि करेन्ट लागेको थियो । 

जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले आफ्नै आँखा अगाडि करेन्ट लागेर भैँसी ढलेको देखेपछि आफैँले तत्कालै प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुखलाई उक्त क्षेत्रको लाइन बन्द गरी ट्रान्सफर्मर मर्मत भनेको बताए । तर,  विद्युत प्राधिकरणको लापरबाही पुनः दुःखद घटना घटेको उनले बताए ।

अहिले दुर्गन्धले मान्छेलाई बाटोमा हिँड्न समेत मुस्किल भएको छ । प्रहरी र विद्युतका कर्मचारीहरूले घटनाको मुचुल्का बनाई सदरमुकाम फर्किसकेका छन् । गाउँलेहरु मरेका खच्चड व्यवस्थापन गर भनेर ताकेता गर्न थालेका छन् । विद्युत प्राधिकरणको लापरबाहीले खच्चर मात्रै मरेनन्, आफ्नो व्यवसाय नै चौपट भएको पीडितहरूले गुनासो पोखी रहेका छन् ।

विद्युत प्राधिकरण मुगुका निमित्त कार्यालय प्रमुख मनराज शाहीले आफ्नो लापरबाही नभई आइतबार आएको हुरी बतास र बर्सातका कारण बिजुलीको तार बटारिँदा ट्रान्सर्फमरबाट करेन्ट लिक भएको बताए । 



ठाउँ ठाउँमा विद्युत पुगेको छ । तर, लापरबाहीको कारण जोखिम पनि उत्तिकै बढिरहेको छ । गत वैशाखको पहिलो साता ताप्लेजुङको काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर चार जनाको घटनास्थलमै ज्यान गएको थियो । अहिले पनि यस्तै प्रकृतिका घटना आइरहेकै छन् ।

यस्ता घटना दोहरिन नदिन प्राधिकरणले लापरबाही गर्न हुँदैन, विद्युतजस्तो संवेदनशील सेवामा सानो गल्तीले समेत जनजीवनमा गम्भीर सङ्कट ल्याइरहेको यी र यस्तै घटनाले देखाइरहेको छ । नागरिकको ज्यान र सम्पत्तिमा अपूरणीय क्षति पुर्‍याउनुभन्दा पहिला नै सम्बन्धित निकायले जिम्मेवार बन्न आवश्यक छ । 

  • प्रकाशित मिति : १० असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया