२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

६० किलो सुन तस्करी प्रकरण : अमला पनि रिहा, ‘ठूला’ नेतामाथि भएन अनुसन्धान

अमला रोका पक्राउ परेसँगै फेरि एक पटक ६० किलो सुन तस्करी प्रकरणले चर्चा पाएको छ । रोल्पाको थवाङ गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौँको टोखा नरपालिका ३ सुर्यदर्शन टोल बस्ने ४४ वर्षीया रोकालाई प्रहरीले शुक्रबार काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । 


६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भए पनि लगत्तै फेरी पक्राउ परिन् । तर, त्यहाँबाट पनि हाजिर जमानीमा रिहा भएकी छन् ।



जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाहिरबाट सोमबार पुनः नियन्त्रणमा लिई उनलाई पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो । विभागले सोमबार राति नै एक जना आफन्त बोलाएर हाजिर जमानीमा रिहा गर्‍यो ।

उनी रिहाभएसँगै उच्च राजनीतिक तथा प्रशासनिक दबाबमा रिहा गरिएको आशङ्का गरिएको छ । तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी जनार्दन शर्माले अनुसन्धान गोप्य हुनेभन्दै रोका रिहा भए नभएको खुलाउन चाहेनन् । ‘जुनसुकै अनुसन्धान गोप्य हुन्छ । रोका रिहा भए नभएको मलाई जानकारी भएन,’ उनी भन्छन्, ‘अनुसन्धान भइरहेको अवस्थामा सबै कुरा बाहिर ल्याउन पनि हुँदैन ।’



रोक्का पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङका श्रीमती हुन् । दावा तिब्बती मूलका बेल्जियन नागरिक हुन् । दावा लामो समयदेखि नेपालमा बसेर आपराधिक कार्यमा लागेका व्यक्ति हुन् । जसको पहुँच नेपालका ठूला–ठूला राजनीतिक नेतासम्म छ । 

विशेषगरी नेकपा माओवादी केन्द्रका नेतासँग उनको उठबस देखिन्छ । वर्षमान पुनसँग दावाले बसेर डिनर गरेको फोटो त चर्चित नै छ । दावाको सम्पर्क वर्षमानसँगै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलगायत उनीहरूका छोरा, आफन्त, पार्टी कार्यकर्तासँग देखिएको बताइन्छ । 

नेकपा माओवादी केन्द्रका नेताहरूसँग निकट रहेको भनिएकी रोक्का लामो समयपछि पक्राउ परेकी थिइन् । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक–शूमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो । पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो । सुरुमा यसको अनुसन्धान विभागले नै गरेको भए पनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो ।



सिआइबीले अनुसन्धान सुरु गर्नु अगावै राजस्व अनुसन्धान विभागले २०८० साउन १४ गते दावा छिरिङलाई पक्राउ गरेको थियो । तर श्रीमती रोका भने फरार थिइन् । सुन काण्ड भएको २३ महिनासम्म उनी फरार हुनु र रहस्यमय ढङ्गले पक्राउ परी अनुसन्धानबिनै छोडिदिनुले विभिन्न शंका उपशंका उब्जाएको छ । तर, पछिल्लो समय पनि ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको खोजी कार्य निरन्तर चलिरहेको बताउँछन्, सिआइबी प्रहरी प्रवक्ता युवराज खड्का । ‘हामीले अनुसन्धान गरेर फाइल जिल्ला अदालतलाई बुझाइसकेका छौँ,’ उनी भन्छन्, ‘अदालतले पठाएको पत्र अनुसार फरार रहेकाहरूलाई अझै पनि हामी खोजी गरिरहेका छौँ ।’

ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिणाम ३६२ किलो ७७८ ग्राम भएको निष्कर्षसहित पहिलो चरणको अनुसन्धानबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो माग गर्दै २०८० भदौ ३१ गते मुद्दा दायर गरिएको थियो । 

दोस्रो चरणमा यही मुद्दामा २०८१ असारमा सिआइबीले मुद्दा पेस गरेको थियो । त्यतिबेला १९ जना प्रतिवादी बनाइएकोमा १६ जना पुर्पक्षका लागि थुनामा र ३ जनासँग धरौटी माग गरिएको थियो ।

सुन प्रकरणको दोस्रो चरणमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । जसमध्ये केही पहिलो चरणमै पक्राउ परेर पुर्पक्षका लागि कारागारमा रहेकाहरू पनि छन् ।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भएको थियो । दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरूसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो । 

सुन तस्करीको थप छानबिन गर्न भन्दै १४ असोज २०८० मा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग समेत पठन गरिएको थियो । १ चैतमा २०८० मा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई आयोगले प्रतिवेदन बुझाएको थियो । त्यसपछिको थप अनुसन्धान गर्दा सिआइबीले ३५२ किलो मात्र नभई ३ हजार १९४ किलो ६६८ ग्राम अर्थात् करिब ३१ क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो ।

देशै तरंगित बनाएको सुनकाण्ड अहिले सेलाउँदै गएको छ ।  सामान्य कर्मचारी र भरियालाई मात्र निशानामा राखेर अनुसन्धान सिमित पारिँदै गर्दा, प्रश्न उठेको छ- कतै ठूलाबडाकै संलग्नताको सङ्केत देखिँदा उनीहरूलाई उम्काउने खेल भइरहेको त होइन ?  

  • प्रकाशित मिति : ११ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया