उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने अधिकांश नेपाली विद्यार्थीका लागि इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आइएलटिएस) परीक्षा अपरिहार्य छ ।
विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायतजस्ता अंग्रेजी भाषी देशहरूमा भर्ना पाउन न्यूनतम् आवश्यक स्कोर ल्याउनुपर्ने भएकाले विद्यार्थीहरू आइएलटिएस परीक्षा दिने बाध्यतामा छन् । आइएलटिएस परीक्षामा तोकेको न्यूनतम् अंक ल्याउन नसक्ने विद्यार्थी अध्ययनका लागि ती देशमा जानै नपाउने कारण पनि यो परीक्षा प्रणालीमा विद्यार्थी अनिवार्य सहभागी हुनैपर्छ ।
बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिजअन्तर्गतको ‘क्याम्ब्रिज एसिस्मेन्ट इङ्लिस विभाग’ले नेपालमा ब्रिटिश काउन्सिल र आइडिपी अष्ट्रेलियासँगको सहकार्यमा आइएलटिएस परीक्षा सञ्चालन गर्दै आएको छ । क्याम्ब्रिज एसिस्मेन्ट इंग्लिस विभागले आइएलटिएस परीक्षाको संरचना बनाउने, प्रश्नपत्र तयार गर्ने र स्कोरिङ मापदण्ड निर्धारण गर्ने काम गर्छ भने ब्रिटिस काउन्सिलले आइएलटिएस परीक्षा सञ्चालन, परीक्षा केन्द्र व्यवस्थापन र स्पीकिङ्ग टेस्ट लिने काम गर्छ । यस्तै, काम आइडिपी अष्ट्रेलियाले पनि गर्छ ।
यी दुवै संस्थाले युनिभर्सिटी अफ क्याम्ब्रिजअन्तर्गतको क्याम्ब्रिज एसिस्मेन्ट इंग्लिस विभागअन्तर्गत रहेर आइएलटिएस परीक्षा सञ्चालन र व्यवस्थापनको काम गर्छन् । तर, पछिल्लो समय यी दुई संस्थाबीच व्यापारिक प्रतिस्पर्धा बढ्दै जाँदा नेपालमा आइएलटिएस परीक्षा शुल्कमा असमानता आएको छ । जसका कारण कुनै विद्यार्थीले भारी छुटको नाममा तोकिएभन्दा निकै (करिब १२ हजार) सस्तोमा आइएलटिएस परीक्षा दिइरहेका छन् भने कुनै विद्यार्थी महँगो (तोकिएकै शुल्क ३६,२०० रुपैयाँ) शुल्क तिरेर परीक्षा दिनुपर्ने बाध्यतामा छन् । यसले गर्दा विद्यार्थी र अभिभावकमा अन्योलता देखिनुका साथै केही शैक्षिक परामर्श व्यवसायीसमेत मर्कामा परेका छन् ।
अहिले ब्रिटिस काउन्सिलले पेपर बेस आइएलटिएस परीक्षाको शुल्क बढाएर ३६ हजार २ सय रुपैयाँ र कम्प्युटरबेस परीक्षाको लागि ३३ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । यसअघि पेपरबेसको ३१ हजार ५ सय र कम्प्युटरबेसको शुल्क २८ हजार ८ सय रुपैयाँ तोकिएको थियो । ब्रिटिस काउन्सिलले विगत तीन वर्षदेखि आइएलटिएस परीक्षाको शुल्क निरन्तर आफूखुसी ढंगबाट बढाउँदै लगिरहेको छ । नेपाल सरकारले आइएलटिएस परीक्षा शुल्क निर्धारण गर्ने विषयमा भूमिका निर्वाह गर्न चुक्दा अन्य देशको तुलनामा नेपालमा आइएलटिएस परीक्षाको शुल्क महँगो देखिन्छ ।
छिमेकी मुलुक भारतमा आइएलटिएस परीक्षा दिएबापत २१५ देखि २२० अमेरिकी डलर शुल्क लाग्छ भने श्रीलंकामा आइएलटिएस परीक्षाको शुल्क २२० डलर निर्धारण गरिएको छ । अन्य देशमा पनि आइएलटिएस परीक्षाको शुल्क सरदरमा २२० अमेरिकी डलर वरिपरी नै देखिन्छ । तर, नेपालमा ब्रिटिस काउन्सिलले निर्धारण गरेको पछिल्लो शुल्क अनुसार आइएलटिएस परीक्षा दिन नेपाली विद्यार्थीले २४५ अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।
यस्तै, आइडिपी अष्ट्रेलियाले पेपरबेस आइएलटिएस परीक्षाको शुल्क ३१ हजार ५ सय र कम्प्युटरबेस परीक्षा शुल्क २८ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । उसले पनि आगामी १ जुलाईदेखि लागू हुनेगरी ब्रिटिस काउन्सिल सरह शुल्क निर्धारण गरेको छ । तर, शैक्षिक परामर्श क्षेत्रमा यी दुई संस्थाले निर्धारण गरेकोभन्दा भिन्न शुल्कमा आइएलटिएस परीक्षा दिन पाइने भन्दै कन्सल्टेन्सी र एजेन्टले प्रचारप्रसार गरिरहेका छन् ।
अहिले सामाजिक सञ्जाल (फेसबुक, एक्स, इन्स्टाग्रामलगायत) मा आइएलटिएर परीक्षाको शुल्क २४ हजार रुपैयाँदेखि ३६ हजार २ सय रुपैयाँसम्मा दिन पाइने भन्दै विभिन्न खालका प्रचार सामग्री छ्यापछ्याप्ती पाइन्छन् । जसका कारण आइएलटिएस परीक्षाको वास्तविक शुल्क कति हो भन्ने कुरामै अन्योलता देखिन्छ । शैक्षिक परामर्श व्यवसायीले पनि संस्थापिच्छे फरक–फरक शुल्क भएका कारण विद्यार्थी र अभिभावकको विश्वास गुमाउँदै गएका छन् ।
समान शुल्क निर्धारणले विद्यार्थी र परामर्श व्यवसायी दुवैलाई सहज बनाउँछ : अध्यक्ष बराल
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल आइएलटिएस तयारी कक्षा आ–आफ्नो ढंगबाट लागत र सेवा सुविधालाई आधार बनाएर शुल्क निर्धारण गरे पनि परीक्षा शुल्कमा भने एकरूपता हुनुपर्ने बताउँछन् ।

हरेक वर्ष पाँचदेखि १० हजार रुपैयाँसम्म शुल्क बढाएर विद्यार्थीमाथि आर्थिक भार थप्न नहुने बरालको भनाइ छ । ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियाले आइएलटिएस परीक्षा शुल्कमा एकरूपता ल्याउन नसक्दा विद्यार्थी र अभिभावकमा अन्योलता सिर्जना भएको उनले बताए । शुल्क बढाएर छुट दिएको जस्तो गर्नुभन्दा कुनै पनि विद्यार्थीलाई मर्का नपर्ने गरी समान शुल्क निर्धारण गरेर अघि बढे शैक्षिक परामर्श व्यवसायीसँगै विद्यार्थीलाई पनि सहज हुने उनको तर्क छ ।
शैक्षिक परामर्श व्यवसायीलाई भर्याङ बनाएर आइएलटिएस परीक्षाको शुल्कमा छुट दिएको विज्ञापन गराउने र परामर्श व्यवसायमाथि नै अविश्वासको वातावरण सिर्जना गराउने काम भइरहेको बरालको बुझाइ छ । एउटै परीक्षाको शुल्क कुनै विद्यार्थीबाट २५ हजार र कुनै विद्यार्थीबाट ३६ हजार रूपैयाँ उठाउन नपाइने उनको भनाइ छ ।
परीक्षा शुल्कलाई एकरूपता दिन र शैक्षिक परामर्श व्यवसायलाई अविश्वासको पात्र नबनाउन माग गर्दै ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियालियाको ध्यानाकर्षण गराइसकेको जानकारी दिँदै अध्यक्ष बरालले भने, ‘यदि हामीले दिएको ज्ञापनपत्रलाई ध्यान दिइएन भने राज्यका सम्बन्धित निकायसँग, अभिभावक महासंघ र उपभोक्ता हित संरक्षण मञ्चलगायतका संघ संठनहरूसँग समन्वयमा विद्यार्थी, अभिभावक र व्यवसायीको हक हितका लागि अघि बढ्छौँ र आवाज उठाउँछौँ ।’
शिक्षा मन्त्रालयले हस्तक्षेप गर्नुपर्छ : अध्यक्ष भण्डारी
आइएलटिएस परीक्षा र त्यसबापत लिइने शुल्क विद्यार्थीसँग जोडिएको संवेदनशील विषय भएका कारण शैक्षिक परामर्श क्षेत्रको सञ्चालन, व्यवस्थापन र नियमन गर्ने अधिकार प्राप्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट कतिसम्म शुल्क लिन पाइन्छ भन्ने विषय निर्धारण गर्नुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् ।

उनका अनुसार आइएलटिएस, पिटिई, टोफेललगायतका परीक्षा शुल्कमा एकरूपता ल्याउन शिक्षा मन्त्रालयलगायतका निकायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ । परामर्श क्षेत्रमा देखिएको मूल्य अन्तरलाई एकरूपता ल्याउने प्रणाली बनाएर त्यसैअनुसार मन्त्रालयले आवश्यक अनुगमन तथा नियन्त्रण गर्नुपर्ने अध्यक्ष भण्डारी बताउँछन् ।
एउटै परीक्षाको शुल्कमा कन्सल्टेन्सीपिच्छे ठूलो अन्तर देखिँदा आइएलटिएस परीक्षाको शुल्क अनुचित ठहर हुन्छ : महासचिव तिमल्सिना
उपभोक्ता अधिकार संरक्षण मञ्च नेपालका महासचिव एवं वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमल्सिना सरकारले आइएलटिएस परीक्षाको शुल्क निर्धारण गर्न नसकेका कारण मनपरी बढेको बताउँछन् ।
कन्सल्टेन्सीलगायत ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियाका एजेन्टहरूले आधिकारीक संस्थाले ‘तोकेभन्दा कम शुल्कमा आइएलटिएस परीक्षा गराइदिन्छौँ’ भनिरहँदा विद्यार्थीबाट आइएलटिएस परीक्षाबापत ती संस्थाले लिने शुल्क अनुचित छ भन्ने ठहर हुने तिमल्सिनाको भनाइ छ ।

अनुचित मूल्यलाई एकरूपता दिन सरकारका सम्बन्धित निकायले आवश्यक अनुगमन तथा अध्ययन अनुसन्धान गरेर मूल्य निर्धारण नगरेसम्म विद्यार्थी ठगिने अवस्था रहिरहने उनले बताए । नेपालमा कुनै पनि काम गर्दा दर्ता हुनुपर्ने, मापदण्ड राख्नुपर्ने, संस्थाले दिने सेवा स्पष्ट हुनुपर्ने, संस्थाले लिने शुल्क संरचनाबारे स्पष्ट हुनुपर्ने कानुनी व्यवस्था हुनुपर्नेमा त्यो नभएका कारण मनपरी रूपमा सेवा सुविधा लिने काम भइरहेको तिमल्सिनाको बुझाइ छ ।
कसरी आयो आइएलटिएस परीक्षाको शुल्कमा असमानता ?
ब्रिटिस काउन्सिलले करिब ६ दशकदेखि नेपाली शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ भने आइडिपी अष्ट्रेलिया नेपाल आएको करिब एक दशक हुन लाग्यो । आइडिपी अष्ट्रेलियामा नेपालमा आइएलटिएस परीक्षा केन्द्र सञ्चालन गर्ने अनुमति पाउनुअघि आइएलटिएस परीक्षा शुल्कमा अहिलेजस्तो त्यति धेरै असमानता नरहेको परामर्श व्यवसायीहरू बताउँछन् । तर, आइडिपी अष्ट्रेलिया सञ्चालनमा आएदेखि भने यी दुई संस्थाबीच व्यापारिक प्रतिस्पर्धा बढ्दै गएको र परीक्षा शुल्कमा पनि असमानता बढ्दै गएको जानकार बताउँछन् ।
अहिले ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियाले आ–आफ्ना एजेन्ट (कन्सल्टेन्सी) मार्फत काम गरिरहेका छन् । ती एजेन्टहरूलाई ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियाले (जतिसक्दो धेरै विद्यार्थी परीक्षामा सहभागी गराउने) लक्ष्य दिन्छन् । लक्ष्य पूरा गरेवापत एजेन्टहरूले कमिसन प्राप्त गर्छन् । त्यही कमिसनको जालमा परेर आफूलाई दिएको लक्ष्य पूरा गर्न कन्सल्टेन्सी तथा एजेन्टहरूले विद्यार्थीलाई विभिन्न छुटको प्रलोभन देखाउँछन् ।
यी दुई संस्थाले जसले आइएलटिएस परीक्षा दिने जति धेरै विद्यार्थी ल्याउँछ, उसलाई त्यति नै धेरै कमिशन दिन्छन् । त्यसरी आइएलटिएस परीक्षा दिने जति धेरै विद्यार्थीलाई बटुल्न सक्यो त्यति धेरै कमिशन पाइने भएपछि एजेन्ट तथा कन्सल्टेन्सीले विद्यार्थीलाई आफूतिर आकर्षित गर्ने ढंगले विभिन्न छुटसहितका प्रचार सामग्री बनाएर सामाजिक सञ्जालमार्फत विज्ञापन गर्ने गरेका छन् । यसरी एजेन्ट र कन्सल्टेन्सीले आफूखुसी ढंगले विभिन्न छुटको प्रचारप्रचार गर्दा आइएलटिएस परीक्षाको शुल्कमा भारी अन्तर देखिएको हो ।
अहिले ब्रिटिस काउन्सिलले पेपरबेस आइएलटिएस परीक्षाको शुल्क ३६ हजार २०० रुपैयाँ तोके पनि विभिन्न कन्सल्टेन्सी तथा एजेन्टहरूले २४ हजार रुपैयाँमै परीक्षा दिन पाइने भन्दै सामाजिक सञ्जालमा विभिन्न विज्ञापन गरिरहेका छन् । ब्रिटिस काउन्सिलले ३६ हजार २०० रुपैयाँ निर्धारण गरेको शुल्कलाई कुनै कन्सल्टेन्सी वा एजेन्टले २४ हजार रुपैयाँमै कसरी दिलाउँछ ? एउटा परीक्षा शुल्कमा करिब १२ हजार रुपैयाँको भिन्नता कसरी आयो वा २४ हजार रुपैयाँमै आइएलटिस परीक्षा दिन सकिन्छ भने ब्रिटिस काउन्सिल र आइडिपी अष्ट्रेलियाले किन त्यति धेरै शुल्क नेपाली विद्यार्थीबाट उठाइरहेका छन् ? उक्त सेवाको वास्तविक मूल्य कति हो ? यी दुई संस्थाले कुन आधारमा विद्यार्थीबाट त्यति धेरै शुल्क लिइरहेका छन् ? आइएलटिएस परीक्षा दिन वास्तवमा कति शुल्क लाग्छ ? त्यसको मापन कसले गर्छ ? आइएलटिएस परीक्षा शुल्क निर्धारण गर्ने विषयमा राज्यको भूमिका के ? जस्ता प्रश्नहरू उब्जिएका छन् ।
कुनै विद्यार्थीले २४ हजार रुपैयाँमै परीक्षा दिन पाउने र कुनै विद्यार्थीले ३६ हजार २०० रुपैयाँ नै तिर्नुपर्दा यो विद्यार्थीमाथिको ठगी हो कि होइन ?
आइएलटिएस परीक्षा शुल्क निर्धारणमा राज्यको भूमिका शून्य
प्रत्येक वर्ष लाखौँको संख्यामा नेपाली विद्यार्थीले आइएलटिएस परीक्षा दिने गरेका छन् । अध्ययनका लागि बर्सेनि करिब एक लाख विद्यार्थीले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन्छन् ।
एनओसी लिने अधिकांश विद्यार्थीले आइएलटिएस परीक्षा दिने गरेका छन् । यसलाई आधार मान्दा पनि आइएलटिएस परीक्षा शुल्कबाट बर्सेनि अर्बौँ रुपैयाँको कारोबार हुन्छ । त्यसमध्येको केही प्रतिशत हिस्सा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले पनि प्राप्त गर्छ । यसको अर्थ आइएलटिएस परीक्षाको नाममा बर्सेनि ठूलै रकम विदेश पलायन भइरहेको छ । अर्बाै रुपैयाँको कारोबार हुने परीक्षा शुल्कमा राज्यसत्ताले ध्यान पुर्याउन नसक्नु वा शुल्क निर्धारणमा भूमिका नदेखिनु आफैँमा दुःखद विषय हो । आइएलटिएस परीक्षाको शुल्क बर्सेनि बढ्दै जाँदा राज्यले त्यसमा पनि चासो देखाउन सकिरहेको छैन ।
शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा प्रमुख सेमन्तराज कोइरालाले क्याम्ब्रिज विश्वविद्यालयले नै आइएलटिएस परीक्षाको शुल्क तोक्ने भएका कारण शुल्क तोक्ने विषयमा मन्त्रालयको भूमिका नरहने जानकारी दिए । यी संस्थाले शुल्कबाहेक कति कमिशन लिन्छन् भन्ने कुरा अध्ययनको विषय बनेको र पछिल्लो केही समयदेखि विद्यार्थीबाट अगल–अलग शुल्क लिएको भन्ने गुनासो आइरहेका कारण उक्त विषयलाई मन्त्रालयले छलफलको विषय बनाउने तयारी गरिरहेको उनको भनाइ छ ।
कुनै पनि कूटनीतिक संस्थाले आफ्नो शुल्क आफैंले निर्धारण सक्ने भएका कारण त्यसमा मन्त्रालयको खासै भूमिका नरहने कोइरालाले बताए । तर, विद्यार्थीपिच्छे फरक–फरक शुल्क लिने विषयलाई मन्त्रालयले खोजीको विषय बनाउने र आवश्यक प्रक्रिया थाल्ने उनको भनाइ छ ।
ब्रिटिस काउन्सिल भन्छ- चाँडै जवाफ दिने छौँ
फरकधारले आइएलटिएस परीक्षाको शुल्कबारे उठेका प्रश्नहरूका सम्बन्धमा ब्रिटिस काउन्सिलसँग औपचारिक प्रतिक्रिया लिन खोजेको थियो । परीक्षाको नाममा विभिन्न कन्सल्टेन्सीहरूले छुट दिएको भन्दै प्रचार गरिरहेका बेला ब्रिटिस काउन्सिलले निर्धारण गरेको शुल्क र बजारमा देखिएको मूल्य अन्तरबारे प्रष्टता ल्याउन असार १० गते दिउँसो १ः३४ बजे ब्रिटिस काउन्सिलकी नेपाल प्रतिनिधि तथा कम्युनिकेशन म्यानेजर सुचिता श्रेष्ठलाई इमेलमार्फत ६ वटा स्पष्ट जिज्ञासा पठाइएको थियो ।
इमेल प्राप्त भएको पुष्टि गर्दै श्रेष्ठले बुधबार दिउँसो १२ः५७ बजे जवाफ दिने प्रतिबद्धता जनाएकी थिइन् । तर, त्यसपछि भने उनी सम्पर्कमा आइनन् । ब्रिटिस काउन्सिलबाट औपचारिक प्रतिक्रिया प्राप्त हुनेबित्तिकै त्यसलाई समाचारमा संलग्न गरिनेछ । पाठकलाई विषयको सम्पूर्णता बुझ्न सहयोग होस् भन्ने उद्देश्यले फरकधारले जवाफको प्रतीक्षा जारी राख्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।