आइसिसी क्रिकेट विश्वकप लिग–२ एसोसिएट टिमहरूका लागि ५० ओभरको प्रारूपमा खेलिने सबैभन्दा ठूलो र निर्णायक प्रतियोगिता मानिन्छ ।
यही प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा टिमहरूले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने कि गुमाउने भन्ने निर्णय हुन्छ । त्यति मात्र होइन, विश्वकपजस्तो उच्चस्तरीय प्रतियोगितामा प्रवेश गर्न यो लिग महत्त्वपूर्ण खुड्किलोका रूपमा उभिएको छ ।

नेपालजस्ता देशका लागि लिग–२ मा खेल्नु आफैंमा ठूलो गौरव हो । र, त्यहाँ उत्कृष्ट प्रदर्शन गर्नसक्नु खेलाडीलाई लागि पनि महत्वपूर्ण महत्वपूर्ण उपलब्धि हो । लिग–२ एसोसियट क्रिकेट विकासको आधारशिला बनेको छ, जहाँ हरेक खेल नतिजाभन्दा धेरै अवसर, प्रेरणा र राष्ट्रिय गौरवसँग गाँसिएको हुन्छ ।
लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेका ५ नेपाली खेलाडी
१. आसिफ शेख
हालसम्म लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली ब्याटरको उपलब्धि ओपनर आसिफ शेखको नाममा छ । उनले लिग–२ को दुई संस्करणमा ४४ खेलमा १ हजार २३५ रन बनाएका छन्, त्यसक्रममा आसिफले १० अर्धशतक र एक शतकीय पारी खेलेका छन् ।

लिग–२ मा उनको उच्च स्कोर ११० रन हो । आसिफले पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१९ देखि २०२३ सम्म चलेको उक्त सिजनमा उनले ३० खेलमा ९३४ रन बनाए ।
जारी संस्करणमा भने आसिफको प्रदर्शन अपेक्षाकृत रहन सकेको छैन । उनले यसपटक १४ म्याच खेल्दा ३०१ रन मात्र बनाएका छन् ।
२. रोहितकुमार पौडेल
लिग–२ मा उत्कृष्ट ब्याटिङ रेकर्ड बनाएका अर्का नेपाली खेलाडी हुन्, कप्तान रोहितकुमार पौडेल । उनले हालसम्म यस प्रतियोगितामा कुल ४८ म्याच खेलेका छन्, जसमा रोहितले १ हजार १९१ रन बनाएका छन् ।

उनले लिग–२ मा ८ अर्धशतक र एक शतकीय पारी खेलेका छन् । यस प्रतियोगितामा रोहितको उच्च स्कोर अविजित ९५ रन हो । यद्यपि उनी जारी संस्करणको लिग–२ मा लयमा देखिएका छैनन् ।
यसपटक रोहितले १५ खेलमा दुई अर्धशतकसहित २८२ रन मात्र बनाएका छन् ।
३. आरिफ शेख
लिग–२ मा नेपालका लागि सर्वाधिक रनकर्ताको सूचीको तेस्रो स्थानमा छन्, मध्यक्रमका ब्याटर आरिफ शेख । उनले दुवै संस्करणमा टिमलाई महत्वपूर्ण योगदान दिएका छन् ।

आरिफले हालसम्म ४० खेलमा ९७९ रन बनाएका छन्, त्यसक्रममा उनले ८ अर्धशतकीय पारी खेलेका छन् । लिग–२ करियरमा आरिफको उच्च स्कोर ८४ रन हो । गत संस्करणमा ५९५ रन बनाएका उनले यसपटक ११ खेलमा ३८४ रन बनाइसकेका छन् ।
४. सन्दीप लामिछाने
बलिङतर्फ लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने उपलब्धि लेगस्पिनर सन्दीप लामिछानेको नाममा छ । उनले हालसम्म लिग–२ इतिहासमा ४२ म्याच खेलेका छन्, जसमा सन्दीपले सर्वाधिक ८७ विकेट लिएका छन् ।

लिग–२ मा उनको उत्कृष्ट बलिङ प्रदर्शन १६ रन दिएर ६ विकेट लिनु हो । सन्दीपले पहिलो सिजनको लिग–२ मै जादुमयी प्रदर्शन गरेका थिए । उनले उक्त संस्करणमा ७२ विकेट लिए ।
यस्तै, जारी लिग–२ सिजनमा पनि सन्दीप लयमा देखिएका छन् । उनले यसपटक १० इनिङ्समा १५ विकेट लिएका छन् ।
५. करण केसी
लिग–२ मा सर्वाधिक सफल नेपाली बलरको सूचीको दोस्रो नम्बरमा छन्, करण केसी । उनले हालसम्म ४३ म्याच खेलेका छन्, त्यसमा करणले ६२ विकेट लिइसकेका छन् ।

उनले पहिलो सिजनमा ५० तथा जारी लिग–२ मा १२ विकेट लिएका छन् । यस प्रतियोगितामा करणको उत्कृष्ट बलिङ प्रदर्शन ३३ रन दिएर ५ विकेट लिनु हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।