नेपालमा मासु निर्यातको सम्भावना लामो समयदेखि चर्चा हुँदै आएको छ । सरकारले विभिन्न समयमा नीति तथा कार्ययोजना ल्याए पनि व्यवहारमा भने खासै प्रगति भएको देखिँदैन ।
हुन त नेपालबाट मासु निर्यातै नहुने भने होइन । भैँसी र राँगाको मासु अहिले पनि हङकङ, भियतनाम, अमेरिकालगायत देशमा निर्यात हुँदै आएको छ । तर, त्यो एकदमै न्यून छ ।
गत वर्ष १ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबर १ लाख ४४ हजार किलो राँगा र भैँसीको मासु निर्यात भएको थियो । यस्तै, २०७८/०७९ मा १ करोड ३२ लाख ९ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार किलो मासु निर्यात भएको थियो ।
सरकारको सबैभन्दा ठूलो महत्वकांक्षी लक्ष्य भनेको चीनमा मासु निर्यात गर्नु हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २०८० असोजको पहिलो साता भएको चीन भ्रमणका क्रममा नेपाल र चीनले सार्वजनिक गरेको संयुक्त वक्तव्यमा भैँसीको मासु निर्यातको बुँदा समेटिएको थियो ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा राँगाभैँसीको मासु चीन निर्यात गर्न सहमति भएको थियो । सोही अनुसार गत वर्षको पुस महिनामा नै नेपालले वार्षिक साढे एक अर्ब अमेरिकी डलर बराबरको मासु निर्यातका लागि चीनसँग समझदारी गरिसकेको छ ।
नेपालबाट हिमालयन फुड इन्टरनेशनल र चीनको साङ्घाई जी याङ फुड कम्पनीबीच राँगा भैँसीको मासु निर्यातसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भएको ६ महिना भएपनि हालसम्म मासु निर्यात गर्न सकिएको छैन । नेपाललाई चीनको प्रोटोकल पूरा गर्न कठिन भइरहेको छ । निर्यात हुने मासु सुरक्षित र गुणस्तरीय हुनुपर्नेमा चीनको जोड छ । संक्रमणमुक्त र स्वस्थ मासु पाउनुपर्ने चीनको माग छ ।
मासु निर्यात गर्ने भनिए पनि किसानले पालेका भैँसीमा बढी मात्रामा देखिएको खोरेत रोग चुनौतीका रूपमा देखिएको छ । निश्चित रोगमुक्त क्षेत्रहरूमा राँगाभैँसी पालन हुनुपर्ने, तीन वर्षभन्दा मुनिको राँगाभैँसीको मासु हुनुपर्ने, मापदण्ड पुगेको वधशालामा उत्पादन भएको हुनुपर्ने, तातोमा राखेर प्रशोधन गरिएको अनि उपयुक्त किसिमले प्याकेजिङ गरिएको हुनुपर्ने लगायत सर्त चीनको छ ।
चीनले नेपालबाट सङ्क्रमणमुक्त मासु चाहन्छ तर नेपालले तत्कालै चीनमा रोगरहित मासु दिनसक्ने अवस्थामा भने छैन । जसले गर्दा मासु निर्यात तत्काल सम्भव नभएको तर्क गर्छन्, पसु सेवा विभागका पशु चिकित्सक डा. चिरञ्जीवी पन्थ ।

‘मासु निर्यातका लागि चीनको र्पोटोकल मिट गर्न हामीलाई अलि समस्या भइरहेको छ,’ उनी भन्छन्, ‘मासुका लागि राँगा भैँसी रोग मुक्त क्षेत्रमा पालिएको र प्रशोधन गर्ने उद्योग पनि रोग मुक्त क्षेत्रमा स्थापना भएको हुनुपर्ने सर्त छ ।’
तर नेपालले तत्कालै चीनमा रोगरहित मासु दिनसक्ने अवस्थामा भने छैन । नेपालबाट मासु निर्यातका लागि सीमित क्षेत्र निर्धारण गरी खोरेत रोगमुक्त घोषणा गरिएको उनी बताउँछन् ।
‘चीनको चासो खोरेत रोग मुक्त क्षेत्र घोषणा हुनुपर्छ भन्ने छ । सोही अनुसार इलाम जिल्लामा ३ वटा जोन, सिन्धुली, मकवानपुरका केही पालिकालाई खोरेत मुक्त क्षेत्र घोषणा गरिएको छ । अब प्रशोधन उद्योगहरू खोल्न खोज्दै छौं । मासु नै निर्यात हुन त अझै केही वर्ष लाग्छ ।’
पछिल्लो समय खोरेत रोगका कारण नेपालमा उत्पादन पनि घट्दै गएको छ । पशुमा लाग्ने खोरेत रोग निकै संक्रामक हुन्छ । यो एक सरुवा रोग हो । खोरेत रोगका कारण मासु निर्यात सुरु हुन भने अझै लामो समय लाग्ने देखिएको छ । मासु निर्यातका लागि रोग नियन्त्रणसँगै उत्पादन पनि बढाउनुपर्ने देखिन्छ । चीनले काँचो मासु, आलो मासु, जिउँदो मासु र पकाएका मासु खोजेको छ । तर अहिलेलाई नेपालले चीनमा निर्यात गर्ने मासु कुक मासु हो । थर्मल मासु ७० डिग्रीभन्दा बढी तापक्रममा सुकाएर पकाइन्छ ।
हुन त कार्यान्वयन पक्ष कछुवा गतिमा भएपनि सरकारले हरेक वर्षको बजेटमा मासु निर्यात प्रवद्र्धनको कुरालाई छुटाउँदैन । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मासु निर्यात प्रवर्द्धन गरिने कार्यक्रमलाई सरकारले बजेटबाट अघि बढाउने प्रतिवद्धता जानाए ।
‘मासु निर्यातको सम्भावनालाई प्रवर्द्धन गर्न ठूला फार्ममा पशुपालन र गुणस्तरीय मासु उत्पादनमा जोड दिइनेछ । नस्ल सुधारका कार्यक्रम मार्फत ८ लाख ५० हजार कृत्रिम गर्भाधान गराई पशुपालनको उत्पादकत्व वृद्धि गरिनेछ । पशुपन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा ५ करोड ५० लाख डोज खोप उत्पादन गरिनेछ । यसका लागि रु. ८५ करोड विनियोजन गरेको छु,’ उनले भनेका छन् ।
पशुपालन क्षेत्रमा ठूलो जनसंख्या आबद्ध भए पनि मासु निर्यातमा नेपालले अझै पनि छलाङ मार्न सकेको देखिँदैन । नेपालमा उत्पादन हुने मासु मुख्यतः घरेलु उपभोगमै खपत हुन्छ । नेपालमा वार्षिक आन्तरिक मासु उत्पादन करिब साढे सात लाख टन हुने गरेको छ । जसमा एक लाख ४० हजार बराबरको राँगाभैँसीको मासु उत्पादन हुन्छ । नेपालमा उत्पादित राँगाभैँसीको ९० प्रतिशत मासु आन्तरिक बजारमा खपत हुन्छ ।
१० प्रतिशत मासु र सुकुटी बनाएर विदेशी बजारमा निर्यात गरिँदै आएको छ । भारत, चीन, अमेरिकाजस्ता देशमा मासु निर्यातको सम्भावना अथाहा भएपनि प्रस्ट योजना, पूर्वाधार र गुणस्तर मापदण्डको अभावले व्यावसायिक निर्यात सम्भव भएको छैन । त्यसले नीतिगत स्पष्टता, पूर्वाधारको विकास, पशुपालन प्रवर्द्धन, गुणस्तरीय परीक्षण प्रणालीको विकास गर्न आवश्यक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।