२१औँ संस्करणको फिफा क्लब विश्वकप फुटबल हाल अमेरिकामा जारी छ । र, प्रतियोगिता अब रोमाञ्चक मोडमा प्रवेश गरेको छ । समूह चरणको प्रतिस्पर्धा सकिएपछि अन्तिम १६ मा स्थान बनाउने टिमहरूको टुंगो लागिसकेको छ ।
योसँगै अब क्लबहरूबीचको प्रतिस्पर्धा थप बढ्ने देखिन्छ । समूह चरणमा केही खेलमा दर्शकको उपस्थिति न्यून देखिए पनि नकआउट चरणले भने त्यस अभावलाई हटाउने सम्भावना बलियो बनेको छ ।

कारण प्रस्ट छ, अब मैदानमा उत्रने प्रतिस्पर्धी केवल आफ्नो महादेशकै होइन, विश्वकै प्रतिष्ठित क्लबहरू हुन् । ती क्लबसँगै मैदानमा देखिने छन् स्टार खेलाडी, जसको एक झल्को हेर्न समर्थक व्यग्र प्रतीक्षामा छन् ।
यसपटकको संस्करणमा पनि विश्व फुटबलका चर्चित क्लब सहभागी छन् । क्लबहरूको पुरानो प्रतिस्पर्धा, स्टार खेलाडीको उपस्थितिले हरेक खेललाई विशेष बनाउने लक्षण देखिँदैछ ।
यही पृष्ठभूमिमा आजको यस सामग्रीमा हालसम्म क्लब विश्वकपमा उपाधि जितेका टिमहरूको चर्चा गरिएको छ ।
अहिलेसम्मको क्लब विश्वकप फुटबलको इतिहासमा सर्वाधिक सफल टिम हो, स्पेनको रियल मड्रिड । उसले पाँचपटक फाइनल पुग्दा पाँचैंपल्ट उपाधि जितेको गर्विलो इतिहास बनाएको छ ।
पहिलोपटक सन् २०१४ मा विश्वकप उपाधि जितेको मड्रिडले त्यो उपलब्धि सन् २०१६, २०१७, २०१८ र २०२२ मा पनि दोहोर्यायो । उसले अर्जेन्टिनाको सान लोरेन्जलाई २–० ले हराउँदै क्लब विश्वकपमा उपाधि जित्ने खाता खोलेको थियो । यस्तै, उसले सन् २०१६ मा जापानको काशिमा एन्टलर्सलाई ४–२ ले हराउँदै दोस्रोपटक उपाधि जित्यो ।
मड्रिडले तेस्रोपटक उपाधि जित्नेक्रममा सन् २०१७ मा ब्राजिलियन क्लब ग्रेमियोलाई १–० ले हरायो । ऊ सन् २०१८ मा यूएईको अल ऐनलाई ४–१ ले हराउँदै चौथोपटक विश्वकप च्याम्पियन बन्यो ।

मड्रिडले पाँचौंपटक उपाधि जित्नेक्रममा सन् २०२२ मा साउदी अरेबियाको हल हिलाललाई ५–३ ले हरायो । गत संस्करणमा भने उसले फाइनलमा स्थान बनाउन सकेन ।
मड्रिड यसपालि छैटौँपटक फिफा क्लब विश्वकपको उपाधि जित्ने योजनासहित मैदानमा उत्रिएको छ । विश्व फुटबलमा कीर्तिमान र गौरवको पर्याय बनेको ऊ सशक्त टिम संयोजन, अनुभवसहितको प्रशिक्षक टोली र उच्च मनोबलका साथ अघि बढिरहेको छ ।
क्लब विश्वकपमा मड्रिडपछि सर्वाधिक सफल टिम हो, स्पेनको बार्सिलोना । ऊ तीनपटक च्याम्पियन बन्दा एकचोटि उपविजेता बनेको छ । बार्सिलोनाले पहिलोपटक सन् २००९ मा अर्जेन्टिनाको क्लबलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । उसले दोस्रोपटक उपाधि जित्नेक्रममा सन् २०११ को फाइनलमा ब्राजिलको सान्तोसलाई ४–० ले हरायो ।
बार्सिलोना सन् २०१५ मा तेस्रोपटक क्लब विश्वकप च्याम्पियन बन्यो । उक्त संस्करणको फाइनलमा उसले अर्जेन्टिनाको रिभर प्लेटलाई ३–० ले हरायो । त्यसयता भने बार्सिलोना क्लब विश्वकप च्याम्पियन बनेको छ ।

यसपालि त झन् ऊ विश्वकपमा छनोटसमेत हुन सकेन । बार्सिलोना नहुँदा रियल मड्रिड, बार्यन म्युनिख, पिएसजी, म्यानचेस्टर सिटी, इन्टर मिलानलगायत प्रतिष्ठित क्लबलाई उपाधि जित्न सहज भएको छ ।
यस्तै, हालसम्म जर्मनीको बार्यन म्युनिख र ब्राजिलको कोरिन्थीयसले दुई/दुईपटक क्लब विश्वकप जितेका छन् । उनीहरूमध्ये बार्यनले यसपालि पनि प्रतियोगिता खेलिरहेको छ ।
यस्तै, इंग्ल्याण्डको लिभरपुल, चेल्सी, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी तथा ब्राजिलको साओ पाउलो र इन्टरनाक्नल तथा इटालीको इन्टर मिलान एक/एकपटकका क्लब विश्वकप च्याम्पियन टोली हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।