राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।
एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।
बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । गत ७ चैतदेखि सञ्चालन भएको एसइई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ जना परीक्षार्थी सहभागी भएका थिए । यो वर्ष कुल ४ लाख ९९ हजार १८३ विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षार्थीले एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट www.neb.gov.np मार्फत हेर्न सक्ने छन् ।
यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट ‘१६००’ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर टाइप गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।