नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट आधिकारिक मान्यता प्राप्त प्रतियोगितामा भाग लिन थालेको लामो समय भएको छैन । नेपालले आइसिसीको आधिकारिक प्रतियोगिता खेल्न थालेको डेढ दशक पुगेको छ ।
यो अवधिमा खेलाडीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन् । नेपालले सन् २०१४ मा टी–२० आई तथा सन् २०१८ मा ओडिआईमा डेब्यू गर्दै विश्व क्रिकेट मञ्चमा आफ्नो पहिचान बनाउन थाल्यो । यस अवधिमा नेपाली टिमले केही स्मरणीय सफलता हासिल गर्यो । सफलतासँगै नेपाली टोलीले केही महत्वपूर्ण अवसर पनि गुमायो ।
अन्तर्राष्ट्रिय मान्यता पाएपछि अहिलेसम्म नेपाली टिमले चार खेलाडीलाई कप्तानको रूपमा पाएको छ । उनीहरूले टिमलाई विभिन्न परिस्थितिमा अगाडि बढाउने काम गरेका छन्, जसले नेपालको क्रिकेट यात्रालाई विशेष बनाएको छ ।
कप्तानको भूमिका क्रिकेट टिममा विशेष महत्व राख्छ । कप्तानले मैदानमै रणनीति मात्र निर्धारण गर्दैनन्, उनीहरूले टोलीको मनोबल कायम राख्ने, खेलाडीको क्षमताको सदुपयोग गर्ने र दबाबपूर्ण परिस्थितिमा सही निर्णय लिनुपर्ने चुनौती सामना गर्नुपर्छ । यो जिम्मेवारी सबै खेलाडीले कुशलतापूर्वक निर्वाह गर्न सक्दैनन् ।
कप्तानको नेतृत्व क्षमताले टिमको प्रदर्शनमा ठूलो प्रभाव पार्छ । यहीबीच आजको यस सामग्रीमा नेपाली टिमका चार कप्तानको चर्चा गरिएको छ, जसले नेपालले अन्तर्राष्ट्रिय मान्यता पाएपछि टोलीको नेतृत्व गरे :

पारस खड्का
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मान्यता हासिल गर्ने बेलामा टोलीको कप्तानी पारस खड्काले सम्हालिरहेका थिए । नेपाली क्रिकेटलाई यो उचाइमा पुर्याउन उनको योगदान अतुलनीय छ । पारसको नेतृत्वमा नेपालले विश्वकपमा पहिलोपटक सहभागिता जनाउनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको इतिहास छ ।
सन् २०१४ देखि २०१९ सम्म उनले नेपाली टोलीलाई नेतृत्व दिए, जसअन्तर्गत पारसले २७ वटा टी–२० अन्तर्राष्ट्रिय र ६ ओडिआई खेलमा कप्तानी गरे । ओडिआईमा उनको नेतृत्वमा नेपालले तीनमा जित्दा र तीन म्याचमा हार बेहोर्यो । यस्तै, टी–२० अन्तर्राष्ट्रियमा पारसको नेतृत्वमा नेपालले २७ खेलमध्ये ११ मा जित र १५ खेलमा हारको सामना गरेको छ ।

उनको कप्तानीले नेपाली टिमलाई नयाँ उचाइमा मात्र पुर्याइएन, युवा खेलाडीलाई क्रिकेटमा जोडिने प्रेरणासमेत प्रदान गर्यो । पारसलाई आदर्श ठानेर अनगिन्ती युवा खेलाडीले क्रिकेटमा कदम राखेका छन् ।
ज्ञानेन्द्र मल्ल
पारसपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाले । सन् २०१९ देखि २०२१ सम्म उनले टिमलाई नेतृत्व दिँदै महत्वपूर्ण भूमिका निभाए । यो अवधिमा ज्ञानेन्द्रले १२ वटा टी–२० अन्तर्राष्ट्रिय र १० ओडिआई खेलमा कप्तानी गरे ।

उनको नेतृत्वमा नेपालले १२ मध्ये ९ खेलमा सफलता हासिल गर्यो भने केवल तीन खेलमा पराजय भोग्नुपर्यो । यसले उनको नेतृत्व क्षमताको परिचय मात्र दिएन, टिमको मनोबल र खेल प्रदर्शनमा पनि सकारात्मक प्रभाव पारेको देखायो ।
ओडिआईमा पनि उनको कप्तानीले प्रभाव देखायो । ज्ञानेन्द्रको कप्तानीमा नेपालले १० ओडिआईममध्ये ६ मा जित र चार खेलमा हार बेहोर्यो ।
सन्दीप लामिछाने
ज्ञानेन्द्र बर्खास्त भएपछि नेपाली टोलीको कप्तानको जिम्मेवारी स्पिनर सन्दीप लामिछानेले पाए । उनको नेतृत्वमा नेपालले एक वर्षको अवधिमा १८ वटा टी–२० अन्तर्राष्ट्रिय र १४ ओडिआई खेल्यो ।

सन्दीपले कप्तानको भूमिकामा ओडिआईभन्दा टी–२० अन्तर्राष्ट्रिय खेलमा बढी सफलता हासिल गरे । उनको कप्तानीमा नेपालले १८ टी–२० आईमध्ये १३ मा जित र पाँच खेलमा पराजय बेहोर्यो । ओडिआईमा भने सन्दीपको कप्तानीमा टिमले अपेक्षाअनुसार परिणाम दिन सकेन ।
उनको नेतृत्वमा खेलिएको १४ ओडिआईमध्ये नेपालले ९ मा हार तथा चार खेलमा मात्र जित निकाल्यो । यस्तै, सन्दीपको कप्तानीमा नेपालको एक खेल नतिजाविहीन बन्यो ।
रोहितकुमार पौडेल
सन्दीपपछि नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले सम्हालिरहेका छन् । तथ्यांकले देखाउँछ, उनी हालसम्म नेपालको सबैभन्दा सफल कप्तान हुन् । रोहितको नेतृत्वमा नेपालले टी–२० विश्वकप, एकदिवसीय विश्वकप छनोट, एसिया कपलगायत प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गरिसकेको छ ।

उनको कप्तानीमा नेपालले हालसम्म सबैभन्दा धेरै ४७ ओडिआई खेलेको छ । तीमध्ये नेपालले २५ मा जित र २० खेलमा पराजय बेहोरेको छ । साथै, रोहितको कप्तानीमा खेलिएका दुई ओडिआईमा नेपालले अंक बाँडेको इतिहास छ ।
टी–२० आईमा पनि रोहितको नेतृत्व प्रभावशाली देखिएको छ । उनले अहिलेसम्म ४६ खेलमा नेपाली टोलीलाई कप्तानी गरेका छन् । तीमध्ये नेपालले २४ मा जित र १७ खेलमा हारको सामना गरेको छ । रोहितको कप्तानीमा तीन टी–२०आई बराबरीमा टुंगिँदा दुई खेलमा अंक बाँडिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।