सोलुखुम्बु प्रहरी चौकीमा विप्लव नेतृत्वको आक्रमण प्रयास असफल

काठमाडौं– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा रहेको प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । तर, यो आक्रमणबारे पहिले आशङ्का गरिसकेकाले त्यहाँ रहेका प्रहरी चौकी छोडेर पहिले नै सुरक्षित स्थानमा गइसकेको थियो । 

काठमाडौंमा एक प्रहरी अधिकारीका अनुसार विप्लवका २५÷३० जना कार्यकर्ता भाला र खुकुरी लिएर चौकीमा पुगेका थिए । तर, चौकीमा कोही नभेटेपछि उनीहरु फर्किए । आइतबार राती १२ बजेतिर प्रहरी चौकीमा पुगेका विप्लवका कार्यकर्ता झन्डै चार घन्टा त्यहाँ नै बसेका थिए । 

तर, हातहतियार र प्रहरी नभएको चौकी भएकाले उनीहरु त्यहाँबाट फर्किए । 

केही दिनअघि छेस्कामा विप्लवका कार्यकर्ताको गतिविधि बढेपछि जिल्ला प्रशासन कार्यालयको एउटा टोली त्यहाँ पुगेको थियो । तर, उनीहरु केही दिनमा नै फर्किए । ‘विप्लव कार्यकर्ताले एक महिना यता उक्त स्थानमा आफ्नो गतिविधि बढाएको रिपोर्ट काठमाडौंसम्म पनि आएको थियो,’ एक प्रहरी अधिकारीले भने, ‘त्यहाँ थप सुरक्षाका लागि जिल्लाबाट सुरक्षाकर्मी पठाइसकिएको छ । काठमाडौंबाट पनि एउटा टोली त्यहाँ गएको छ ।’

छेस्कामा प्रहरी सहायक निरीक्षक हिराप्रसाद देवकोटाको नेतृत्वमा ६ प्रहरी कार्यरत थिए । त्यहाँ विद्युत् तथा टेलिकम सेवा अवरुद्ध छ ।





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १४:१०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया