२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

लाओसविरुद्धको खेल नेपालका लागि किन विशेष ?

नेपाली महिला फुटबल टोली एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्न हाल उज्बेकिस्तानमा छ । नेपालले पहिलो खेलमा आइतबार बेलुका सवा ६ बजे लाओसको सामना गर्दै छ । यो खेल नेपाली टोलीका लागि अनेक अर्थमा विशेष छ । 


लाओसविरुद्धको प्रतिस्पर्धा नेपालको १००औँ अन्तर्राष्ट्रिय म्याच हो । यति मात्र होइन नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको पनि यो औपचारिक डेब्यू खेल हुनेछ । साथै, लाओसविरुद्ध नेपाली महिला टिमको यो पहिलो प्रतिस्पर्धासमेत हो । सबै दृष्टिले हेर्दा यो खेल नेपाली टोलीको पुनर्संरचना, आकाङ्क्षा र ऐतिहासिक मोडको सङ्केत बनेको छ ।
 
समूह ‘एफ’ मा रहेको नेपालले लाओससँगै घरेलु टोली उज्बेकिस्तान र श्रीलंकासँग पनि खेल्ने तालिका छ । समूह विजेता मात्र एसियन कपको मुख्य चरणमा स्थान बनाउन सक्ने भएकाले प्रत्येक खेलको महत्त्व छ । आइतबार नै समूहको अर्को खेलमा उज्बेकिस्तान र श्रीलंका भिड्ने छन् । उज्बेकिस्तान घरेलु टोली र समूहको सर्वाधिक बलियो टिम हो । 



नेपाललाई पनि समूह विजेताको रूपमा हेरिएको छ । नेपाल र उज्बेकिस्तानबीचको खेल समूह चरणको अन्तिम दिन हुनेछ । त्यसअघि नेपाली टिम लाओस र श्रीलंकासँग अंक बटुल्दै अग्रता लिन चाहन्छ । गोलअन्तरसमेत निर्णायक हुने भएकाले प्रत्येक खेलको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । खेलअघि शनिबार आयोजित प्रि–म्याच प्रेस कन्फरेन्समा मुख्यप्रशिक्षक डे वाइल्डले नेपाली टोली शारीरिक र मानसिकरूपमा पूर्णरूपमा तयार रहेको बताए । ‘फुटबलको सौन्दर्य नै उच्च स्तरमा प्रतिस्पर्धा गर्नु हो,’ उनले भने, ‘हामी मानसिकरूपमा तयार छौँ र पहिलो खेलमा उत्कृष्ट प्रदर्शन दिनेछौँ ।’ 

महिला फुटबलमा नेपाल र लाओसबीचको यो पहिलो औपचारिक प्रतिस्पर्धा हो । नेपाल आइतबार पहिलो भेटमै लाओसलाई हराउँदै इतिहास रच्ने योजनामा हुनेछ । पछिल्लो समय नेपालले लगातार अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । करिब एक महिनाअघि नेपालले बलियो टोली थाइल्याण्डसँग दुई मैत्रीपूर्ण म्याच खेलेको थियो, जसमा दुवै खेलमा नेपाल पराजित भयो । त्यसअघि गत फेब्रुअरीमा नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारसँग बराबरी खेलेको थियो । फाइनलमा भने नेपाल म्यानमारसँग नै २–० ले स्तब्ध भयो ।  



पछिल्ला चार खेलमा नेपालले एक बराबरी र तीन म्याचमा हार बेहोरेको छ । यता लाओसले लामो समययता अन्तर्राष्ट्रिय म्याच खेल्न पाएको छैन । उसले सन् २०२४ मा चार मैत्रीपूर्ण म्याच खेलेकोमा मलेसिया, साउदी अरेबिया र सिंगापुरसँग हार बेहोर्दा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेल्यो । अनुभव र खेल संख्याको हिसाबले नेपाल लाओसभन्दा अगाडि देखिन्छ । फिफा वरियतामा पनि नेपाल लाओसभन्दा माथि छ । पछिल्लो वरियतामा नेपाल १००औं र लाओस १०७औँ स्थानमा छ । 

खेलपूर्वको आकलन नेपालको पक्षमा देखिन्छ । तर, अन्तर्राष्ट्रिय फुटबलमा परिणाम सधैँ अनुमानअनुसार आउँदैन । प्रतिस्पर्धामा कुनै पनि कमजोरीले खेलको मोड बदल्न सक्छ । यही कारण लाओसविरुद्धको पहिलो प्रतिस्पर्धा नेपालका लागि रणनीतिक र मानसिक दृष्टिले पनि अत्यन्तै संवेदनशील खेल हो । यदि नेपाली टोलीले अपेक्षित प्रदर्शन गर्दै सकारात्मक नतिजा निकाल्न सक्यो भने एसियन कप प्रवेशको दिशामा त्यो पहिलो ठोस कदम हुनेछ, जसले इतिहास रच्ने ढोका खोल्न सक्छ ।



  • प्रकाशित मिति : १५ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया