२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

दशकौँको सपना, अब वास्तविकता : हुम्लामा पनि गुड्नेछ गाडी
सेनाको कठोर श्रम र इच्छाशक्तिको परिणाम

‘रेलको बाटो पुग्दै छ रे, तिमी बस्ने सहरैमा
हुम्ला कहिले मोटर आउला, बस्याको छु रहरैमा‍...’ 


सुरज पण्डितको स्वरमा गुञ्जिएको यो गीतले कर्णालीको सपना बोल्छ र दुर्गम जीवनशैलीको पीडा भन्छ । कयौँ दशकसम्म ‘हुम्लामा कहिले मोटर पुग्ला ?’ भन्ने प्रश्नले सडकदेखि संसदमा स्थान पायो । तर, त्यो प्रश्नमै सीमित थियो ।



अब भने सडक सञ्जालबाट टाढा रहेको सिमकोटमा गाडी पुग्ने आशा यथार्थमा बदलिँदैछ । यसले केवल यातायातको सुविधा ल्याउने होइन, एउटा सिङ्गो जनजीवनमा विकासको उज्यालो छर्नेछ । यो उपलब्धिको मूल चरणमा रहेको छ- नेपाली सेनाको समर्पण, कठोर श्रम र अदम्य इच्छाशक्ति ।

अत्यन्तै जोखिमपूर्ण, अप्ठ्यारो र चट्टानी भूगोलमा सेनाले जसरी सडक निर्माणको काम अघि बढायो, त्यो आफैंमा उदाहरणीय छ । सीमित स्रोतसाधन, प्रतिकूल मौसम र भौगोलिक जटिलताबीच पनि सेनाले कर्णाली करिडोरअन्तर्गतको सडक निर्माण कार्यलाई निरन्तरता मात्र दिएन, परिणामसम्म पुर्‍यायो ।



बाँकेको जमुनादेखि हुम्लाको हिल्सासम्मको ६८२ किलोमिटर लामो यो करिडोर २५ वर्षअघिदेखि सपना मात्रै थियो । विभिन्न खण्डमा काम सकिए पनि सिमकोट जोड्न आवश्यक चुवाखोला खण्डमा पुल निर्माण बाँकी थियो ।

१६ पुस २०८१ को मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माणको जिम्मेवारी दिएपछि सेनाले गत २५ चैतेदेखि तीव्र गतिमा काम अघि बढायो ।

अहिले ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यही पुल बनेपछि सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । यो बेलिब्रिजले सिमकोटलाई बाह्रै महिना राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बताउँछन्, नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत । उनी भन्छन्- ‘यो बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा छ । अबको केही दिनमै सवारी गुड्न थाल्नेछ ।’



यसअघि २०८० पुसमा सलीसल्लामा बेलिब्रिज जडान भएसँगै हुम्लाको दक्षिणी भेग पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको थियो । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए । 

हिजोसम्म हुम्लाका नागरिक हवाई मार्गमै निर्भर रहनुपर्ने बाध्यता थियो । चामलदेखि औषधिसम्म जहाजबाटै ल्याउनु पर्थ्यो । त्यसले जनजीवन महँगो र कठिन बनाएको थियो । तर, अब सडक सञ्जालको पहुँचसँगै जीवन सरल हुने आशा पलाएको छ । यस्तै, सिमकोट खण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिनु नेपालका लागि भूराजनीतिक सन्तुलन र व्यापारिक सम्भावनाको हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो ।

नेपाल–चीन सीमासम्म पुग्ने यो करिडोरले उत्तरतर्फको व्यापारिक ढोका खोल्ने मात्र होइन, रणनीतिक हिसाबले पनि नेपालको सुदूरपश्चिम र हिमाली भेगलाई राष्ट्रिय विकासको मूल प्रवाहमा जोड्ने काम गर्नेछ । 

केहिदिन अघि मात्रै हुम्ला सदरमुकाम सडक सञ्जालसँग जोडिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खुसी व्यक्त गरेका थिए । ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ । यो सडक सञ्चालनमा आएपछि नेपाल–हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिनेछ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका थिए । 

वर्षौंसम्म सडक विभागमार्फत करोडौं रुपैयाँ खर्चिए पनि अपेक्षित प्रगति हुन नसकेपछि ५ चैत २०७१ मा सरकारले यो सडकको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले त्यसको केही दिनमै ९ चैतबाट काम सुरु गर्‍यो । अपार चुनौतीका बीच पनि सेनाले छोटो समयमा दशकौँदेखि हुम्लावासीले बोकेको सपना साकार बनाइदियो । 

यो केवल गाडी गुड्ने सडक मात्र होइन, हुम्लाको भविष्यतर्फ खुल्ने ढोका पनि हो । हिल्सा नाका हुँदै सिधै तिब्बतको पुराङ नाकासम्म पहुँच बनाउने यस सडकले नेपाललाई चीनसँगको वैकल्पिक व्यापारिक मार्ग प्रदान गर्नेछ । कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो ।

भारतसँगको सीमा जोडिएको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म जोड्छ । सेनाको योजनाबद्ध कार्यशैली, अपार धैर्यता र राष्ट्रिय दायित्वप्रतिको निष्ठाले देखाएको छ, सस्तो लोकप्रियता होइन, गहिरो प्रतिबद्धताले मात्र दूरगामी परिवर्तन सम्भव हुन्छ ।

हुम्लाको यो सडक अब भौगोलिक मात्र नभइ आर्थिक, राजनीतिक र सामाजिक परिवर्तनको मुख्य आधार बन्ने आशा गरिएको छ ।  

  • प्रकाशित मिति : १५ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया