आइतबार उज्जेकिस्तानको बुनयोदकोर रंगशालाको अधिकांश सिट खाली थिए । उज्वेकिस्तानको राजधानीमा विदेशी टिमको भिडन्त भइरहँदा दर्शकको संख्या कम हुन स्वाभाविक हो ।
यद्यपि रंगशालाको एउटा कुनामा नेपाली झण्डा हल्लिरहेको थियो, जहाँ केही नेपाली दर्शकले ‘नेपाल नेपाल’ भन्दै हुटिङ गरिरहेका थिए । त्योबेला मैदानभित्र अर्कै हुटिङ गुञ्जिरहेको थियो, नेपालको महिला फुटबल टिमको एकतर्फी गोल उत्सव ।

लाओसविरुद्धको एएफसी महिला एसियन कप छनोटको खेल नेपाली टिमको १००औँ अन्तर्राष्ट्रिय म्याच थियो । र, यो खेल इतिहासको नयाँ अध्याय बन्यो । कप्तान सावित्रा भण्डारी ‘साम्बा’को नेतृत्वमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले हराउँदै १००औँ म्याचलाई स्मरणीय बनायो ।
योसँगै उनी नेपाली महिला टिमको नेतृत्व गर्ने ११औँ कप्तान बनिन् । साम्बा पहिले पनि स्टार थिइन् । तर, यसपटक उनी कप्तानको भूमिकामा समेत थिइन् । यो उनको पहिलो कप्तानी थियो, जुन सपना मात्र पूरा भएन, कार्यदक्ष नेतृत्वको प्रतीक बन्यो । साम्बाले आफ्नो जिम्मेवारीलाई उत्कृष्ट तरिकाले निभाइन् । र, उनी एक्लैले पाँच गोल गरिन् ।
खेलको १२औँ मिनेटमा अनिता बस्नेतले खाता खोलेपछि नेपाली टिमले खेलको नियन्त्रण आफ्नो पोल्टामा पारिसकेको थियो । साम्बाले पहिलो हाफको अन्त्यमा गोल थपिन् । दोस्रो हाफ सुरु भएपछि सरू लिम्बूले थप गोल गरिन् । त्यसपछि साम्बाले आफ्नो गोल संख्या बढाइन् । रश्मी घिसिङ र अनिता केसीले पनि गोल गरेपछि खेलमा नेपाल ९–० ले विजयी भयो ।

लाओसविरुद्ध नेपालको यो पहिलो खेल थियो । पहिलो भेटमै एकतर्फी जित निकालेपछि नेपालले प्रतियोगितामा आफ्नो उपस्थितिलाई मात्र होइन, सम्भावनालाई पनि प्रमाणित गर्यो ।
यो जित नेपाली टिमका लागि मात्र नभइ नयाँ मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डका लागि पनि अत्यन्त विशेष र उत्साहजनक रह्यो । बेल्जियमका अनुभवी र रणनीतिक सोच भएका प्रशिक्षकले कप्तानीमा गरेको साहसी परिवर्तनदेखि खेलको सम्पूर्ण संरचनामा ल्याएको नयाँ योजनाले उत्कृष्ट परिणाम दियो ।
प्रशिक्षक प्याट्रिकले नेपाली टिमलाई नयाँ उचाइमा पुर्याउने स्पष्ट संकेत दिएका छन्, जुन नेपालको फुटबल इतिहासमा नयाँ अध्यायको सुरुवात हुनसक्छ । जारी एसियन कप छनोट प्रतियोगितामा नेपालले अझै दुई महत्वपूर्ण खेल खेल्न बाँकी छ । नेपालले अब श्रीलंका र उज्बेकिस्तानसँग खेल्न बाँकी रहेको हो । खेल बुधबार र शनिबार हुने तालिका छ ।
फिफा वरियतामा १५९औँ स्थानमा रहेको श्रीलंकाविरुद्धको खेल सहज देखिए पनि ५१औँ स्थानमा रहेको उज्बेकिस्तानसँगको भिडन्त नेपालका लागि निर्णायक हुने निश्चित छ । यस खेलले समूह विजेताको टुंगो लगाउने भएकाले नेपालका लागि रणनीतिक र मानसिकरूपमा त्यो म्याच अत्यन्त महत्वपूर्ण हुनेछ ।

समूह विजेता टिमले मात्र आउँदो वर्ष अष्ट्रेलियामा आयोजना हुने एसियन कपमा स्थान बनाउनेछ, सोही कारण यो प्रतियोगिता नेपालको लागि अत्यन्तै महत्वपूर्ण छ । नेपाली टोलीका लागि यो केवल एउटा खेल मात्र होइन, विगत दशकदेखि लगाउँदै आएको मिहिनेत, संघर्ष र सपना साकार पार्ने मञ्चसमेत हो ।
मुख्य प्रशिक्षक वाइल्डले नयाँ रणनीति र कप्तानीको निर्णयमार्फत टिममा नयाँ ऊर्जा भर्न खोजेका छन् । र, यसले सुरुआती खेलमा सकारात्मक परिणाम पनि दिएको छ । तर, अबको चुनौती अझ गहिरो र गम्भीर छ ।
नेपालको असली परीक्षा उज्बेकिस्तानविरुद्धको खेलमा हुनेछ । यही खेलले नेपाललाई एसियाकै ठूला राष्ट्रसँग एकै स्तरमा प्रतिस्पर्धा गर्ने बाटो खोल्नेछ वा फेरि केही वर्ष पर्खनुपर्ने बनाउनेछ ।
त्यसैले यो खेलमा नेपाली खेलाडीले प्राविधिक कौसल मात्र होइन, आत्मबल र एकता पनि मैदानमा देखाउनु पर्नेछ । प्रतिस्पर्धा गर्ने ढोका खोल्ने कि फेरि अवसरका लागि प्रतीक्षारत बस्नुपर्ने तय गर्नेछ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।