वासिंगटन– सामाजिक सञ्जालमा अहिले खबरहरुको बाढी आएको छ । यो बाढीमा फर्जी समाचार (फेक न्युजको) मात्रा उल्लेख्य छ । सामाजिक सञ्जालको व्यापकतासँगै मौलाएको फेक न्युज सेन्सेसनबाट दुनियाँ आजित छ । उता, सामाजिक सञ्जालको विकाससँगै सोसल स्ट्रिमिङ सर्भिस (युट्युब, नेटफ्लिक्स) ले त दुनियाँको रङ नै बदलिदिएको छ ।
यी परिवर्तन अकल्पनीय भने थिएनन् । २४ वर्षअघि सामाजिक सञ्जालको युग सुरु नहुँदै माइक्रोसफ्टका संस्थापक बिल गेट्सले फेक न्युज र सोसल स्ट्रिमिङबारे भविष्यवाणी गरेका थिए ।
सन् १९९५ मा बिल गेट्सले जिक्यु म्यागजिनका लागि अन्तरवार्ता दिएका थिए । त्यतिखेर गेट्सलाई फोर्ब्सले १२.९ मिलियन डलर नेटवर्थसहित विश्वको सबैभन्दा धनी ठहर्याएको थियो ।
जिक्यु म्यागजिन छापिएको बिल गेट्सको त्यो अन्तरवार्ता केही दिनअघि बेलायती लेखक तथा संगीतकार मार्क बरोसले ट्विटरमा पोस्ट गरे । ट्विटरमा यो भाइरल भयो ।
अन्तरवार्तामा बिल गेट्सले भनेका छन्, ‘इन्टरनेटले सधैँका लागि हाम्रो मनोरन्जनको तरिका बदलिदिनेछ । आज (१९९० को दशकमा) धेरैजसो मानिससँग फिल्म हेर्नका लागि भिसिआर या डिभिडी प्लेयर छ । आउने १० वर्षमा यी सब गायब हुनेछन् ।’
Although Gates wins points later by predicting DVDs and Netflix pic.twitter.com/mAtRxFzAsK
— Marc Burrows⚡️ (@20thcenturymarc) May 28, 2019
अन्तरवार्ता लिइरहेका पत्रकार टेरी प्रेसो सोध्छन्, ‘आज घर–घरको अहम् हिस्सा बनिसकेको भिसिआर साँच्चै पूरै लोप होला र ?’
जवाफमा गेट्स भन्छन्, ‘चार–पाँच वर्षमा अर्को डिस्क प्लेयरले यसको ठाउँ लिनेछ । त्यसपछि, स्ट्रिमिङ भिडियोको समय आउनेछ । यसका प्रयोगकर्ता भिसिआरलाई बकवास करार गरिदिनेछन् ।’
यो अन्तरवार्ताको १० वर्षपछि (सन् २००५ मा) युट्युबको स्थापना भयो । २००७ मा नेटफ्लिक्सले घोषणा गर्यो कि ऊ फिल्म तथा कार्यक्रमहरुलाई अनलाइन देखाउनेछ । आज नेटफ्लिक्सका १५ करोड सब्सक्राइबर छन् । हरमहिना २ अरबभन्दा बढीले युट्युब हेर्छन् ।
अन्तरवार्तामा टेरी प्रेसले सोधेका छन्, ‘के आउने समयमा मानिसहरु इन्टरनेटको प्रयोग गलत समाचार फैलाउन पनि गर्लान् ?’
जवाफमा गेट्सले भनेका छन्, ‘इन्टरनेटमा भारी मात्रामा फेक न्युज आउनेछन्, तर तपाईंसँग तिनको वैधानिकता जाँच्ने माध्यम पनि रहनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।