विद्यालय शिक्षा विधेयकको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परिस्थितिलाई जटिल भन्दै विधेयक केही दिन रोकिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा उनले शिक्षक महासंघका प्रतिनिधिहरूले उठाएका केही असन्तुष्टिहरू र सत्ता गठबन्धनभित्रका छलफललाई संकेत गर्दै विधेयक तत्काल अघि नबढाउने प्रस्ताव राखे ।
‘सरकारको तर्फबाट मन्त्रीले ‘अहिलेलाई रोकौँ’ भनिसकेपछि त्यसलाई अघि बढाउने संसदीय अभ्यास हुँदैन,’ मन्त्री पन्तले बैठकमा भने, ‘सत्ता गठबन्धनको ठूलो दलका प्रमुख सचेतकले आफ्नो धारणा राखेपछि म मन्त्रीको हैसियतमा त्यसलाई ग्रहण गर्न बाध्य छु ।’
उनले संसदीय अभ्यासमा सरकार स्वयंले विधेयक रोकिनुपर्ने भनेपछि त्यसविपरीत जान मिल्दैन भन्दै प्रक्रिया स्थगनको पक्षमा आफू उभिनु परेको स्पष्ट पारे ।
मन्त्री पन्तको प्रस्तावपछि केही सांसदहरूले असन्तुष्टि जनाए पनि अन्ततः समिति सभापतिले बैठक अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको घोषणा गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।