२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मलेसियामा नेपाली युवा टिमको एकतर्फी दबदबा, चौथोपटक च्याम्पियन बन्ने माैका
सेमिफाइनलमा मलेसियासँग भिडन्त

नेपाली टिम फेरि एकपटक एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधितर्फ अग्रसर भइरहेको छ । मलेसियामा जारी यस प्रतियोगिताको समूह चरणको खेल सकिँदा नेपालले उपाधि जित्ने संकेत देखाएको हो । 




नेपालले सतप्रतिशत जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा मंगलबार भुटानलाई २ सय ९८ रनको विशाल अन्तरले हराउँदै नेपाल लगातार चार खेलमा जित निकाल्दै समूह विजेताको हैसियतमा सेमिफाइनल पुगेको हो । 

समूह चरणमा नेपालको प्रदर्शन 



समूह चरणमा नेपालले एकतर्फी प्रदर्शन गर्‍यो । सुरुवातमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले त्यसपछि जापानलाई ९ विकेटले पाखा लगायो । 

इन्डोनेसियाविरुद्ध ३ सय ७० रनको ऐतिहासिक जित निकाल्दै नेपालले प्रतियोगितामा आफ्नो दबदबा कायम राख्यो । अन्तिम खेलमा भुटानलाई २ सय ९८ रनले हराउँदै नेपाल समूह ‘ए’ मा चारै खेल जित्ने एक मात्र टोली बन्यो । 

यो प्रदर्शन हेर्दा नेपालले यसपालि पनि सहजै उपाधि जित्ने संकेत देखाएको छ । 



उच्च लयमा तीन खेलाडी

नेपालको सफलता पछाडि केही खेलाडीको व्यक्तिगत प्रदर्शन अत्यन्तै उल्लेखनीय रह्यो । ब्याटिङमा सबैभन्दा अगाडि छन्, मध्यक्रमका ब्याटर रौनक श्रीवास्तव । 

उनले चार खेलमा एक शतक र एक अर्धशतकको मद्दतमा सर्वाधिक २ सय ९६ रन बनाएका छन् । रौनकले मंगलबारको खेलमा भुटानविरुद्ध १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको ऐतिहासिक पारी खेले । जुन प्रतियोगिताको सबैभन्दा उच्च व्यक्तिगत स्कोर हो ।

यसअघिको सबैभन्दा उच्च व्यक्तिगत स्कोर अर्जुन कुमालको नाममा थियो । उनले सन् २०२३ मा एसिसी यू–१९ प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १४३ रनको पारी खेलेका थिए ।

रौनकसँगै ओपनर प्रसिद्ध जैसीले पनि जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले चार खेलमा एक शतक र एक अर्धशतकसहित २ सय २७ रन बनाएका छन् । 

यस प्रतियोगितामा प्रसिद्धको उच्च स्कोर १३२ रन हो । यी दुई ब्याटरको निरन्तर योगदानले नेपालको टप अर्डर र मध्यक्रम दुवै मजबुत देखिएको छ । बलिङतर्फ कप्तान विपिनप्रसाद शर्माले सशक्त प्रभाव छाडिरहेका छन् । 

उनले चार खेलमा १.९४ को सानदार इकोनमी रेटमा सर्वाधिक १५ विकेट लिएका छन् । विपिनले दुई खेलमा चार/चार र एक खेलमा ५ विकेट लिँदै विपक्षी टिमको ब्याटिङ धराशायी बनाइरहेका छन् । उनको बलिङले सुरुआती ब्रेक थ्रु मात्र होइन, खेलको लय नै नेपालको पक्षमा फर्काइदिएको छ ।

रौनक, प्रसिद्ध र विपिनको उत्कृष्ट प्रदर्शनले नेपाललाई सेमिफाइनलसम्म सहज यात्रा गराएको छ । अब उनीहरू निर्णायक खेलमा पनि यही लयलाई कायम राख्ने योजनामा छन् । 

चौथोपटक उपाधि जित्ने मौका

नेपालले यसअघि लगातार तीनपटक एसिसी यू–१६ इस्ट जोन कपको उपाधि जितिसकेको छ । पछिल्लोपटक सन् २०२३ मा नेपालले मलेसियालाई हराउँदै तेस्रोपटक उपाधि जितेको थियो । यसपालिको संस्करणमा पनि नेपाल उपाधि दाबेदार टिमको अग्रपङ्क्तिमा छ । 

टोलीको समग्र प्रदर्शन, ब्याटिङ र बलिङको गहिरो सन्तुलन, खेलाडीबीचको समझदारी र रणनीतिक स्पष्टताले नेपाललाई उपाधितर्फ बलियो रूपमा उभ्याएको छ । 

अब नेपालले बिहीबार सेमिफाइनलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । घरेलु मैदानमा खेल्ने भएकाले मलेसियाका लागि यो खेल जित्ने राम्रो अवसर छ ।

ऊ दर्शकको साथ, परिचित पिच र वातावरणको फाइदा उठाउने प्रयासमा हुनेछ । तर, यता अपराजित रहँदै सेमिफाइनल पुगेको नेपाली टोली मलेसियाको उपाधि सपना फेरि एकपटक तोड्ने योजनामा छ । 

नेपालको लक्ष्य सेमिफाइनलमा सशक्त जित निकाल्दै फाइनलको टिकट पक्का गर्नु र लगातार चौथोपटक उपाधि जित्ने सम्भावनालाई अझ मजबुत बनाउनु हो । जारी प्रतियोगिताको अर्को सेमिफाइनलमा हङकङ र सिंगापुर आमनेसामने हुने छन् ।

  • प्रकाशित मिति : १७ असार, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया