म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केरा खेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । वैदेशिक रोजगारका सिलसिलामा दुवैमा तीन वर्ष काम गरेर फर्किएका खत्री गाउँमै रहेको खेतबारी र पाखा पखेरामा केरा खेती गरेर आकर्षक आम्दानी गर्न सफल भएका हुन् । सुरुमा तीन रोपनीमा केरा खेती गरेका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लागे ।
अहिले खत्रीको सबै जग्गा जमिनमा केरा खेती छ । करिब २५ रोपनीमा केरा खेती विस्तार गर्नुभएका खत्रीले वार्षिक रूपमा १० देखि १५ लाख केराबाट आम्दानी गर्छन् । नयाँ बोटले उत्पादन दिन थाल्यो भने आम्दानी पनि बढ्ने अनुमान गरिएको छ। परम्परागत रूपमा धान रोप्ने खेत र मकै, कोदोलगायतका अन्नबाली लगाउने बारीमा खत्रीको परिवारले व्यावसायिक केरा खेती लगाएका छन् ।
केरा खेतीको लागि आवश्यक पर्ने मलका लागि कुखुरा पालन समेत गर्नुभएका खत्रीले परम्परागत खेती बालीलाई व्यावसायिक बनाउने र परिश्रम गर्न सकेमा स्वदेशमै पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । उनको चार वटा केरा खेतीको बगान छन् । काउलेगौँडामा विगत १ दशकयता केरा खेतीको लहर चलेको हो । यहाँका करिब १५० घरधुरी सबैले केरा खेती गरेका छन् । काउलेगौँडाको थाकन, गौउथले, मुलवारी, पाटारुख, बराहथान तुसारे लगायतका क्षेत्रमा केरा खेतीको व्यावसायिकता बढेको छ ।
यस गाउँमा रुद्र चोखाल, दीपक खड्का, ओमकार पुरी, सोम केसी, भगवती बस्नेत, रुद्रबहादुर बस्नेत लगायतले केराको व्यावसायिक खेती गरेका छन् । काउलेगौँडाका विभिन्न टोल बस्तीमा करिब चार सय रोपनीमा केरा खेती विस्तार भएको काउलेगौँडा कृषि समूहका अध्यक्ष पुन्य चोखालले जानकारी दिए । अध्यक्ष बस्नेतले समेत साढे ५ रोपनी बढी जग्गामा केरा खेती गरेका छन् । उनका अनुसार, चालु आर्थिक वर्ष २०८१/०८२ मा बेनी नगरपालिकाको केरा पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत काउलेगौँडामा १२० रोपनी जग्गामा तीन हजार पाँच सय हजारी जातको नयाँ बिरुवा लगाइएको छ ।
२५ जना कृषक आबद्ध काउलेगौँडा कृषक समूहले बेनी नगरपालिकाको १२ लाख रुपैयाँ अनुदान र कृषकको १२ लाख रुपैयाँ बराबरको साझेदारीमा १२० रोपनी जग्गामा केरा खेती विस्तार गरिएको छ । २ वटा माटे पोखरी र १ वटा ढलान गरेको पक्की सिँचाई पोखरी निर्माण गरी स्थानीय स्तरमा रहेका मूलको पानीलाई जम्मा गरेर ३ हजार पाँच सय मिटर पाईपलाइन विस्तार गरेर केरा खेती भएको ठाउँमा सिँचाइको समेत बन्दोबस्त मिलाइएको समूहका अध्यक्ष चोखालले बताए ।
पकेट क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत भर्याङ, सिकेचरलगायतका कृषि औजार र उपकरणहरू समेत खरिद गरी वितरण गरिएको छ । यहाँ हजारी, धुर्से र मुर्रे जातका केरा खेती हुँदै आएको छ । काउलेडौँडा क्षेत्रमा अहिले स्थानीय पानीका मूलहरूलाई जम्मा गरेर केरा खेतीमा सिँचाइको प्रबन्ध मिलाउँदै आइएको छ । व्यावसायिक रूपमा खेती विस्तार भइरहेकाले निकट भविष्यमा हिउँद याममा केरालाई सिँचाइको अभाव हुने भएकाले रघुगंगा र कालीगण्डकी नदीबाट लिफ्ट प्रविधिको सिँचाइ आयोजनाको लागि माग गरिएको कृषक समूहका अध्यक्ष चोखालले जानकारी दिए ।
युवायुवती वैदेशिक रोजगारको कारण विदेश जाने र गाउँघरमा अन्नबालीको खेती लगाउन काम गर्ने जनशक्ति पाइन छाडेपछि स्थानीयले केरा खेती सुरु गरेका थिए । खेत वारीलाई बाँझो रहन नदिनका लागि सुरु भएको केरा खेती अहिले गाउँको आम्दानीको प्रमुख स्रोत बनेको छ । गाउँमा अधिकांशले खेतीयोग्य जमिनका साथै पाखो बारीमा समेत केरा खेती लगाएको स्थानीय कुल बहादुर बस्नेतले बताए । करिब ८ रोपनी जग्गामा केरा विस्तार गर्नुभएका बस्नेतले विस्तारै केराले उत्पादन दिन थालेको र उत्पादन भएको केराको लागि बजारको अभाव नभएको बताए ।
यस गाउँमा अधिकांशले केरा खेतीबाट नगद आम्दानी गर्न थालिसकेका छन् । स्थानीय कृषक टेकबहादुर भण्डारीले अन्नबालीको तुलनामा केरा खेतीबाट तेब्बर बढी आम्दानी हुने गरेको अनुभव सुनाए । धान खेती हुने करिब ८ रोपनी खेतमा केरा खेती विस्तार गरेका भण्डारीले अन्नबाली लगाउनु भन्दा केरा खेतीबाट धेरै फाइदा हुने र बिरुवा लगाएपछि हिउँद याममा सिँचाइ पुर्याउन सकियो भने उत्पादन हुने भएकाले आफू केरा खेतीमा लागेको बताए ।
बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नम्बर ३ भकिम्लीलाई विकी र वडा नम्बर ९ घतानको काउलेगौँडालाई केरा पकेट विस्तार कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई प्रोत्साहन गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताए । उनका अनुसार, नगरपालिका र कृषक समूहको १२/१२ लाखको साझेदारीमा सञ्चालन गरिएको केरा पकेट क्षेत्र विस्तार कार्यक्रमबाट कम्तीमा ६० प्रतिशत रकम केराको क्षेत्र विस्तारमा लगानी भएको छ ।
बेनी नगरपालिका– ९ घतानका वडा अध्यक्ष चक्रबहादुर केसीले निर्वाहमुखी खेती किसानीबाट काउलेगौँडाका कृषकहरू केरा खेतीको व्यावसायिकतामा लागेको बताए । स्थानीयले खेतबारी बाँझो रहन नदिनका लागि सुरु गरेको केरा खेती सफल भएपछि अहिले अभियानकै रूपमा केरा खेती विस्तारले तीव्रता पाएको र यसले यहाँका स्थानीयको आर्थिक जीवनस्तर सुधारमा समेत सघाउन थालेको वडा अध्यक्ष केसीले जानकारी दिए । यहाँ उत्पादन भएको केरा अहिले गलेश्वर बजार र सदरमुकाम बेनीमा खपत हुँदै आएको छ ।
बजार खोज्न नपर्ने र व्यापारीहरू केरा खरिदका लागि गाउँमै पुग्ने भएकाले केरा खेतीमा आकर्षण बढेको छ । बोट लगाएको दुई वर्षभित्र नै उत्पादन दिन सुरु गर्ने र एउटा बोटबाट दर्जनौँ घारीको रूपमा विस्तार हुने तथा अन्य फलफूलको तुलनामा गोडमेल र मलजलमा समेत झण्झट कम हुने भएकाले केरा खेती कृषकहरूको रोजाइमा पर्न थालेको छ । म्याग्दीमा अहिले पनि बाहिरबाट केरा आयात हुने भएकाले केरा खेतीको पकेट विस्तारले जिल्लालाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।