अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल अब निर्णायक मोडमा प्रवेश गरेको छ । बुधबार सम्पन्न अन्तिम १६ को खेल नतिजा आएसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण स्पष्ट भएको हो ।
अब विश्व फुटबलका शीर्ष ८ क्लबबीच सेमिफाइनल पुग्न प्रतिस्पर्धा अझ तीव्र, गहन र रोमाञ्चक हुने देखिन्छ । शक्ति र इतिहास बोकेका यी क्लबहरूबीचको आगामी भिडन्तका कारण प्रतियोगिताले नयाँ उचाइ लिने पनि अपेक्षा गरिएको छ ।
राउन्ड अफ सिक्सिटनको अन्तिम खेलमा बुधबार बिहान जर्मन क्लब बोरुसिया डर्टमन्डले मेक्सिकन क्लब सिएफ मोन्टेरेलाई २–१ ले हरायो । अब उसले क्वाटरफाइनलमा स्पेनिस जायन्ट रियल मड्रिडको सामना गर्नेछ ।

यो भिडन्त युरोपेली च्याम्पियन्स लिगको झल्को दिनेछ, जहाँ दुवै क्लबका समर्थकले आ–आफ्नो टोलीको साख जोगाउने आशा राखेका छन् ।
यता अर्को क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रेन्च क्लब पीएसजी आमनेसामने हुनेछन् । यो भिडन्तमा ह्यारी केन, उसमान डेम्बेले, अच्राफ हाकिमीजस्ता स्टार खेलाडीबीचको जम्काभेटले फुटबल फ्यानलाई झन् उत्साहित बनाउने छ ।
पहिलो क्वाटरफाइनलमा साउदी अरबको अल हिलाल र ब्राजिलको फ्लुमिनेस भिड्ने छन्, जसलाई एसिया र दक्षिण अमेरिकाबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ । त्यस्तै, तेस्रो क्वाटरफाइनलमा इंग्लिश क्लब चेल्सी र ब्राजिलको अर्को बलियो टोली पाल्मेइरास आमनेसामने हुनेछन् ।
योपटकको क्लब विश्वकपले प्रारम्भिक चरणमै केही विशाल नामहरूको अप्रत्याशित बिदाइ गराएको छ । इन्टर मिलान, म्यानचेस्टर सिटी र युभेन्ट्सजस्ता युरोपेली पावरहाउस क्लब अन्तिम १६ बाटै घर फर्किएका छन् ।

इन्टर मिलान ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी, म्यानचेस्टर सिटी साउदी अरबको अल हिलाल र युभेन्ट्स स्पेनिस जायन्ट रियल मड्रिडसँग स्तब्ध भयो । क्वार्टरफाइनलको खेल आउँदो शनिबारदेखि सुरु हुने छन् । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा हुनेछ । फिफाले यसपटक विश्वकपलाई थप अन्तर्राष्ट्रिय बनाउने रणनीति लिएको छ ।
क्लब संख्यामा वृद्धि, प्रतियोगिताको व्यावसायिक अपिलमा विस्तार र विभिन्न महादेशका प्रशंसकलाई थप सक्रिय बनाउने योजनाअनुसार फिफा अगाडि बढेको छ । विशेषगरी युरोप, दक्षिण अमेरिका र एसियाका चर्चित क्लबहरूबीचको भिडन्तमार्फत फिफाले जारी विश्वकपको प्रतिष्ठा बढाउन खोजेको छ । तर, यति महत्वाकांक्षी रणनीतिसँगै केही चुनौती पनि सतहमा देखिएका छन् ।
प्रतियोगिताका अधिकांश खेलमा न्यून दर्शक उपस्थितिका कारण यसले विश्वभरिका फुटबल समर्थकमा आकर्षण पैदा गर्न सकेको छैन । यद्यपि प्रतियोगिता अब निर्णायक चरणमा प्रवेश गरिसकेको छ, जसकारण दर्शक संलग्नता बढ्ने अपेक्षा गरिएको छ ।
क्वाटरफाइनल, सेमिफाइनल र फाइनलजस्ता महत्त्वपूर्ण खेलले समर्थकमा उत्साह बढाउने र प्रतियोगितामा रोचकता थप्ने अपेक्षा गरिएको छ । जारी क्लब विश्वकपमा रियल मड्रिड छैटौँपटक उपाधिको खोजीमा छ । ऊ क्लब विश्वकपमा सर्वाधिक उपाधि जित्ने टिम हो ।

यस्तै, क्वाटरफाइनल पुगेको चेल्सी एकपटकको क्लब विश्वकप च्याम्पियन हो, जसले दोस्रो उपाधिका लागि चुनौती पेश गर्दैछ । तर, बोरुसिया डर्टमुन्ड, बार्यन म्युनिख, पिएसजी, अल–हिलाल, फ्लुमिनेस र पाल्मेइरासजस्ता ६ क्लब भने अझैसम्म विश्वकप ट्रफीको स्वाद चाख्न सकेका छैनन् ।
उनीहरू यसपटक उपाधि खडेरी तोड्ने योजनामा छन् । प्रतियोगितामा इतिहास दोहोर्याउने सपना बोकेका मड्रिड र चेल्सीको अनुभवको सामना अब नयाँ च्याम्पियन बन्न चाहने आकांक्षी क्लबहरूसँग हुनेछ, जसले क्लब विश्वकपलाई झन् प्रतिस्पर्धात्मक बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।