राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियान कै रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले पहिलो चरणमा ज्ञापन पत्र बुझाउने र विस्तृत कार्य योजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । केही समयभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरू सबैमा पहिलो चरणमा ज्ञापन पत्र बुझाउने र विस्तृत कार्य योजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेका छौँ ।’
राप्रपासमेत सहभागी राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन शिथिल भइसकेका बेला पार्टीले भ्रष्टाचारविरुद्ध अभियान चलाउने निर्णय गरेको हो । गत चैतमा तीनकुने क्षेत्रमा राजावादीहरू ताण्डव नै मच्चाएका थिए । पछि १५ जेठमा राजतन्त्र समर्थक शक्तिहरूले आन्दोलनमा नै होमिएको उद्घोष गरे । तर, केही दिनमै उक्त आन्दोलनमा सहभागीहरू तितरबितर भइसकेका छन् । अहिले राप्रपाले भ्रष्टाचारविरुद्धको गतिविधिलाई अभियान कै रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै, राप्रपाको आजको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अगामी भदौ दोस्रो हप्ता काठमाडौंमा बस्ने भनेर पनि निर्णय गरेको छ । बैठकले रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन प्रभावकारी रूपमा अगाडि बढाउन उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।
उनी भन्छन्, ‘आजको बैठकमा विशेष गरी दीपक बोहराको निधन पश्चात् उनको ठाउँमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचनको सन्दर्भमा आज छलफल भएको छ । उम्मेदवारको प्रारम्भिक सूची तयार पारि यो असार मसान्तसम्म केन्द्रमा पठाउनको लागि हामीले जिल्ला कार्य समितिलाई निर्देश गरेका छौ । र उपनिर्वाचनको लागि तयारी थाल्न सबै कमिटीलाई अनुरोध गरेका छौ । यसलाई प्रभावकारी रूपमा अगाडि बढाउनको लागि उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन गर्न समिति गठन गरेका छौ ।’
यो वर्षको पार्टी महाधिवेशनको वर्ष भएको हुनाले असोजको मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा रुपन्देही क्षेत्र नं ३ मा प्राइमरी निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेको बताए । उनले भने, ‘प्राइमरी निर्वाचन गरेर त्यहाँ जसले जित्छ उसलाई नै उम्मेदवार बनाउने किनभने राप्रपाले प्राइमरी निर्वाचनलाई अगाडि लिएर जानुपर्छ । प्रजातन्त्रको पूर्ण रूपमा अभ्यास गर्नुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।