एएफसी महिला एसियन कप छनोटमा नेपाली टिम अहिले निर्णायक मोडमा छ । उज्बेकिस्तानमा जारी यस प्रतियोगिताअन्तर्गतको तेस्रो खेल जिते नेपालले एसियन कपमा स्थान बनाउने छ । त्यो उपलब्धि हासिल गर्न नेपालले शनिबार आयोजक उज्बेकिस्तानलाई हराउनुपर्नेछ ।
रोचक कुरा अहिले समूह ‘एफ’ मा यी दुवै टिमसँग दुई खेलबाट समान ६ अंक रहेको छ । अब नेपाल र उज्बेकिस्तान समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुने योजनामा छन् ।

नेपालले लाओसविरुद्ध ९–० को कीर्तिमानी जित निकाल्दै जारी प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पाखा लगाउँदै अपराजित यात्रा जारी राख्यो । त्यस्तै, समूहकै अर्को दाबेदार उज्बेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० तथा दोस्रो प्रतिस्पर्धामा लाओसलाई ७–० ले हरायो ।
नेपाल र उज्बेकिस्तान दुवै ह्याट्रिक जित निकाल्दै एसियन कपको टिकट काट्ने सोचमा छन् । नवनियुक्त कप्तान सावित्रा भण्डारी र प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा नेपाली टोलीले सुरुवाती दुई खेलमा उच्चस्तरको प्रदर्शन गर्दै उत्कृष्ट फर्म देखाएको छ । र, त्यो फर्म नेपाल निर्णायक खेलमा पनि जारी राख्ने योजनामा छ ।
बुधबारको खेल सम्पन्नसँगै समूह ‘एफ’ को समीकरण झन् रोमाञ्चक बनेको छ । यस प्रतियोगितामा नेपाल र उज्बेकिस्तानले १७/१७ गोल गरेका छन् । साथै दुवै टिमले कुनै पनि गोलको सामना गरेका छैनन् ।

नतिजा, अंक, गोल अन्तर र क्लिनसिट सबै सूचकमा दुवै टोली बराबरीमा उभिएका छन् । यदि उज्बेकिस्तानले लाओसविरुद्ध कम गोल गरेको भए, नेपाल अन्तिम म्याचमा बराबरी खेले पनि समूह विजेता बन्न सक्थ्यो । तर, अहिले दुवै टिमको स्थितिमा कुनै फरक छैन ।
सोही कारण नेपाल र उज्बेकिस्तानबीचको भिडन्त ‘अघोषित फाइनल’ जस्तै बनेको छ । यदि अन्तिम खेल बराबरीमा टुंगिएमा समूहको अन्य सबै मापदण्ड बराबरी हुने भएकाले प्रतियोगिताको नियमअनुसार खेल सिधै पेनाल्टी सुटआउटमा पुग्नेछ ।
उच्च लयमा रहेकाले नेपाललाई पनि जारी प्रतियोगितामा समूह विजेताको रूपमा हेरिएको छ । यद्यपि फिफा वरीयताको ५१औँ स्थानमा रहेको उज्बेकिस्तानलाई हराउन नेपाललाई सहज भने हुने छैन ।
नेपालले हालसम्म उज्बेकिस्तानविरुद्ध जित निकालेको इतिहास छैन । अहिलेसम्मको तीन भेटमा उज्बेकिस्तानसँग नेपाल पराजित छ, जसले नेपाली टिमलाई मानसिक दबाब सिर्जना गर्न सक्छ । सन् १९९९ मा फिलिपिन्समा आयोजित महिला एसियन कपमा नेपालले पहिलोपटक उज्बेकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।
उक्त खेलमा नेपाल ६–१ ले पराजित भयो । त्यसपछि यी दुई टिमबीचको भेट सन् २०१९ मा आयोजित नादेज्दा कपमा भयो । त्यस प्रतियोगिताको समूह चरणमा उज्बेकिस्तानसँग नेपाल २–० तथा फाइनलमा २–३ ले स्तब्ध भयो । उक्त फाइनलमा सावित्राले दुई गोल गरेकी थिइन् ।

हालसम्म उज्बेकिस्तानविरुद्ध नेपालले जम्मा तीन गोल गर्दा ११ गोल खाएको छ । नेपालले सन् १९९९ मा महिला एसियन कपमा भाग लिँदै उज्बेकिस्तानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोल गरेको थियो ।
अब २६ वर्षपछि नेपाल पुनः त्यही मञ्चमा पुग्ने संघारमा उभिएको छ । र, फेरि पनि चुनौतीको रूपमा उभिएको छ, त्यही पुरानो प्रतिद्वन्द्वी उज्बेकिस्तान ।
उज्बेकिस्तानले १९९९ को सहभागितापछि सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो । त्यसयता उसले पनि एसियन कपमा स्थान बनाउन सकेको छैन । उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यमा छ ।
ऊ घरेलु मैदानमा खेलिरहेको छ, जसले उज्बेकिस्तानलाई मैदानको वातावरण, समर्थकको साथ र स्थानीय अवस्थाको लाभ मिल्न सक्छ । यता नेपाल टिम उज्बेकिस्तानविरुद्धको इतिहासलाई उल्ट्याउँदै तेस्रोपटक एसियन कपमा स्थान बनाउने दाउमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।