२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

मापदण्डविपरीत काठमाडौंका अधिकांश निजी विद्यालय : शुल्क असुलीमा मनपरी
कागजमा मापदण्ड, व्यवहारमा मनोमानी

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ ले शुल्कसम्बन्धी व्यवस्था गरेको छ । निर्देशिकाले शुल्क दर निर्धारण गर्ने, शुल्क दर अनुमोदन तथा स्वीकृत गरेर अभिभावक शिक्षक सभाबाट अनुमोदित शुल्क जिल्ला शिक्षा कार्यालयमा (अहिले शिक्षा विकास तथा समन्वय इकाई) पेस गर्नुपर्ने र शिक्षा कार्यालयले मापदण्ड बमोजिम प्रस्ताव गरेको शुल्क यकिन गरी स्वीकृत गर्ने व्यवस्था छ रहेको छ । तर, काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डभन्दा बाहिर गएर सञ्चालन गरिएको पाइएको छ । 


संस्थागत विद्यालयले आफूलाई महंगा, सुविधायुक्त र गुणस्तर शिक्षायुक्त विद्यालयको रूपमा खडा गरेको कारणले पनि शुल्क असुलीमा न अभिभावकले प्रश्न उठाउने आँट गर्न सकेका छन् नत विद्यार्थीले नै । 



निजी विद्यालयले विभिन्न बहानामा तोकिएभन्दा बढी शुल्क असुली गर्ने गरेका पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पहिलोपटक काठमाडौंकेन्द्रित भएर निजी विद्यालयमा अनुगमन गरिरहेको छ ।  

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले  विद्यालयले विभिन्न बहानामा महँगो शुल्क असुलिरहेको विभागमा उजुरी परेपछि विद्यालयमा अनुगमन सुरु गरिएको जानकारी दिए । 



उनका अनुसार ३० वैशाखदेखि अनुगमन सुरु गरेको विभागले हालसम्म २८ वटा निजी विद्यालयको अनुगमन गरिसकेको छ । ‘सेवा क्षेत्र, त्यसमा पनि शिक्षा क्षेत्रको विशेषगरी अनुगमन गरिरहेको छौँ । २८ वटा विद्यालयहरूमा अनुगमन गरेका छौँ । अनुगमन गरेर आएका विद्यालयको पनि तीन/चार दिनमा नै अन्तिम रूप दिँदैछौँ । प्रायः निजी क्षेत्रका सबै विद्यालयमा समस्या नै छ । तोकेको भन्दा बढी शुल्क लिने सबैले गरेको पाइएको छ । मापदण्ड जुन छ, त्यो पनि पूरा गरेको देखिँदैन । २५ प्रतिशतले चाहिँ मापदण्ड पूरा गरेको छन्,’ दाहालले भने ।

विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ । तर, त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।

‘२८ वटाको अनुगमन गरेकोमा ५–७ वटाले मापदण्ड पालना गरेको देखिन्छ । बाँकीले पूरा गरेको छैनन् । विद्यालयले यो विषयमा भनेर शुल्क लिएको छैन, फिकैरूपमा बढी रकम लिएको पाइएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजारदेखि १७ हजारसम्म शुल्क लिएको देखियो । तर, त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएन,’ विभागका महानिर्देशक दाहालले भने ।

कडाइका साथ कानुनलाई लागू गराएर जान सकिएमा मात्र नियन्त्रण गर्न सकिने भन्दै उनले विभागको अनुगमनले मात्र केही पार नलाग्ने धारणा राखे । संस्थागत शिक्षा क्षेत्रको सुधारको विषय सरकारको चुनौतीको विषय बनेको भन्दै उनले निजी विद्यालयको कारण बजारमा मूल्य बढ्ने लगायत विभिन्न खालको विकृति निम्त्याएको समेत आरोप लगाए ।   
 
उपभोक्ता ऐन २०७५ अनुसार विभागले विद्यालयको अनुगमन गरेको जानकारी गराउँदै उनले शिक्षाको मापदण्डको बारेमा विज्ञ नै हुँदा पनि विद्यालयले लापरबाही गरेको दाबी गरे ।



दाहालले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नहुनुमा स्थानीय सरकारको पनि कमजोरी औंल्याए । स्थानीय तहले अनुगमन र कारवाही गर्न नसक्दा मापदण्ड लागू नभएको उनको ठहर छ ।

‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिकाविपरित जाने कुरै छैन । उहाँहरूले हेर्नुभएको पनि छैन । त्यही मापदण्डले पनि कारबाही गर्ने ठाउँ छ नि त । त्यो स्थानीय तहले गर्नुपर्ने हो । तर, स्थानीय सरकारले यत्रो स्कुलमा एउटालाई पनि फर्ममा ल्याउनु भएको छैन,’ उनले भने ।

अहिले काठमाडौं उपत्यकाकेन्द्रित भएर विभागले अनुगमन गरिरहेको भएता पनि आगामी दिनमा उपत्यका बाहिर पनि अनुगमन गर्ने तयारी रहेको विभागका महानिर्देशक दाहाल बताउँछन् ।

दाहालका अनुसार विभागले उपत्यकाका तीन जिल्लाका सात पालिकाभित्रका अनुगमन गरिएका २८ निजी विद्यालयलाई १० बुँदे विवरण उपलब्ध गराउन सम्बन्धित पालिकालाई पत्राचार समेत गरिसकेको छ ।

पालिकालाई विद्यालय दर्ता, व्यवसाय दर्ता, नवीकरण र सञ्चालन अनुमति, विद्यालयको अहिलेसम्म तिरेको करको विवरण, विद्यालयको सम्बन्धन प्राप्त गरेको विवरण, विद्यालयले पठाएको मासिक प्रगति विवरण, शुल्क निर्धारणसम्बन्धी मापदण्ड र निर्णय उपलब्ध गराउन, छात्रवृत्ति वितरणको प्रमाणित विवरण, अन्तर्राष्ट्रिय पाठ्यक्रमको अनुमति लिए वा नलिएको, स्थानीय तहबाट विद्यालयमा भए गरेको अनुगमन तथा कारबाहीको विवरण, विद्यालयको वर्गीकरण र विद्यालयको आयव्ययको विस्तृत विवरणसहितको वार्षिक प्रतिवेदन उपलब्ध गराउन वाणिज्य विभागले पत्राचार गरेको हो ।

यी हुन्, विभागले हालसालै अनुगमन गरेका विद्यालय 

१. भक्तपुर मोडर्न इङ्ग्लिस स्कुल, सिर्जनानगर

२. गणपति प्रतिष्ठान स्कुल, ललितपुर 

३. प्रिमियर इन्टरनेशनल स्कुल, खुमलटार

४. मिल्सवेरी इन्टरनेशनल स्कुल 

५. युरो स्कुल,काठमाडौं हात्तीगौडा

६. राय स्कुल काठमाडौं 

७  वृहस्पति विद्यालय व्यवस्थापन,नक्साल

८. पाठशाला नेपाल फाउण्डेशन 

९. रोजबड बोर्डिङ स्कुल, थापागाउँ

१०. सिफल स्कुल

११. ग्यालेक्सी पब्लिक स्कुल

१२. आलोक विद्याश्रम स्कुल

१३. निसर्ग बाटिका स्कुल

१४. काठमाडौं युरो स्कुल

१५. काव्य स्कुल, रातोपुल रविभवन बानियाटार

१६. के एम सी स्कुल

१७. भ्याली भ्यु स्कुल

१८. नोबेल एकाडेमी

१९ युनाइटेड स्कुल, ललितपुर 

२०. सृजनशील प्रतिभा शिक्षा 

२१. माछापुच्छ्रे वर्ल्ड स्कुल, ललितपुर

२२. रातो बंगला स्कुल, पाटन ढोका

२३. डि ए भी सुशील केडिया विश्व भारती

२४. स्वस्तीश्री गुरुकुल स्कुल,जावलाखेल काठमाडौं

२५. जिनियस स्कुल, ललितपुर 

२६. युलेन्स एजुकेशन फाउन्डेसन

२७. लिटिल एन्जेल्स स्कुल 

२८. नाइटिङ्गेल स्कुल 

  • प्रकाशित मिति : २० असार, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया