२१ असार (भोलि) नेपाली खेलकुदका लागि निर्णायक र ऐतिहासिक दिन बन्नेछ । शनिबार नेपालले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताको निर्णायक खेल खेल्दैछ ।
एकतर्फ नेपाली महिला फुटबल टोली उज्बेकिस्तानसँग एएफसी एसियन कप छनोटको समूह विजेता बन्ने भिडन्त खेल्दैछ भने अर्कोतर्फ यू–१६ टोली इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग आमनेसामने हुँदैछ ।
विशेषगरी बढी समर्थकको ध्यान महिला फुटबल टोलीको प्रतिस्पर्धामा केन्द्रित हुनेछ । नेपाल र आयोजक उज्बेकिस्तान शनिबार राति सवा ९ बजे बुन्योदकोर रंगशालामा भिड्ने छन् ।

समूह चरणमा दुवै टिम अपराजित छन्, नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले हराएको थियो । उज्बेकिस्तानले पनि यी दुई टोलीविरुद्ध एकतर्फी जित निकालेको छ ।
समूह ‘एफ’ तालिकामा दुवै टिम समान ६ अंकसहित अग्रपंक्तिमा छन् । गोलअन्तर, क्लिनसिट र समग्र प्रदर्शनसमेत बराबर छ । त्यसैले शनिबारको भिडन्त बराबरी भएमा नतिजा पेनाल्टी सुटआउटबाट निर्धारण गरिनेछ । खेल जित्ने टिमले सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने एसियन कपको यात्रा तय गर्नेछ ।
नेपालले यसअघि सन् १९९९ मा मात्र एसियन कपमा स्थान बनाएको थियो । त्यसयता २६ वर्षमा नेपालले पटक–पटक प्रयास गरे पनि छनोट चरण पार गर्न सकेको छैन । नेपाल अहिले दोस्रोपटक एसियन कप पुग्ने ऐतिहासिक मोडमा उभिएको छ । उज्बेकिस्तान चौथोपटक एसियन कपमा स्थान बनाउने लक्ष्यमा छ ।
तीनपटक एसियन कप खेलिसकेको उज्बेकिस्तान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टिम हो । ऊ ताजा फिफा वरियतामा ५१औँ स्थानमा छ ।

हालसम्म नेपाल र उज्बेकिस्तान तीन खेलमा आमनेसामने भएका छन्, जसमा नेपालले उज्बेकिस्तानलाई हराएको इतिहास छैन । विगतमा नेपालविरुद्ध लगातार जित निकालेको तथ्यले उज्बेकिस्तानको टिममा आत्मविश्वास उच्च छ । तर, नेपाल त्यो कठिन अवस्थामा सुन्दर अवसरको खोजीमा छ ।
पछिल्ला दुई खेलमा देखिएको आत्मविश्वास, टिमवर्क र गोल गर्ने क्षमताले नेपाली टोलीलाई प्रतिस्पर्धात्मक बनाएको छ ।
यू–१६ टिम चौथोपटक उपाधिको खोजीमा
शनिबार नै नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा सिंगापुरको सामना गर्दैछ । यी दुई टिमबीचको बिहान ७ः४५ देखि मलेसियाको बांगीमा सुरु हुनेछ । नेपाल अपराजित रहँदै चौथोपटक च्याम्पियन बन्ने योजनामा छ ।

नेपालले पछिल्लोपटक सन् २०२३ मा मलेसियालाई हराउँदै उपाधि जितेको थियो । नेपाल यसपालि पनि त्यो उपलब्धि दोहोर्याउन चाहन्छ । नेपाली टिम सहजै जित निकालेर उपलब्धि जित्ने योजनामा छ ।
जारी प्रतियोगितामा नेपाललाई कुनै पनि टिमले टक्कर दिन सकेका छैनन् । सिंगापुरलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सुरुवात गरेको नेपालले दोस्रो खेलमा जापानविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्यो ।
यस्तै, नेपालले समूह चरणको तेस्रो र चौथो खेलमा क्रमशः इन्डोनेसियाविरुद्ध २७० तथा भुटानविरुद्ध २९८ रनको जित दर्ता गर्यो । यस्तै, नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हरायो ।

नेपाल अब शनिबार पनि सहज जितका निकालेर ट्रफी सुरक्षित गर्ने योजनामा छ । उता सिंगापुर पहिलो उपाधिको खोजीमा छ । ऊ समूह चरणको हारको बदला लिँदै उपाधि खडेरी तोड्ने योजनामा छ ।
यद्यपि सानदार लयमा रहेको नेपाललाई हराएर उपाधि जित्ने सिंगापुरको सपना फलामको चिउरा चपाउनुजत्तिकै असम्भव छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।