पछिल्लो केही समययता दुई लोकप्रिय गायिका समीक्षा अधिकारी र एलिना चौहान सामाजिक सञ्जालमा कठोररूपमा प्रस्तुत भइरहेका छन् । नहुन् पनि कसरी ! व्यक्तिगत जीवन, विशेषतः सम्बन्धको विषयमा अनावश्यक चासो राख्ने नेपाली समाजले, यी दुई कलाकारका जीवनका प्रसंगहरूलाई अतिरञ्जित मात्र गरेन, चरित्र हत्या हुने गरी गालीगलौज र अमर्यादित टिप्पणीहरू गर्दै सामाजिक सञ्जालमा मानसिक यातनासम्म पुर्याएको उनीहरूले नै बताउने गरेका छन् ।
गायिका एलिना चौहान हालैको सम्बन्ध विच्छेदपछि निरन्तर ट्रोल र अमर्यादित प्रतिक्रियाको सिकार भइन् । त्यस्तै, समीक्षा अधिकारी अभिनेता पल शाह सँग नाम जोडिएपछि सो सम्बन्धलाई लिएर सार्वजनिक मञ्चमा व्यापक ट्रोल र साइबर हिंसाको सामना गर्न बाध्य भइन् ।
सार्वजनिक जीवन बाँचिरहेका महिला कलाकारहरूमाथि सामाजिक सञ्जालमा हुने दुव्र्यवहार नेपाली समाजका लागि नयाँ विषय होइन । यसअघि पनि अभिनेत्री ऋचा शर्मा, सुरक्षा पन्त लगायतका कलाकारहरू यस्ता साइबर आक्रमणको सिकार बनिसकेका छन्। तर यस पटक समीक्षा र एलिना भने त्यसका विरुद्ध खरोरूपमा उत्रिएका हुन् ।
उनीहरूले गाली गर्ने व्यक्तिहरूको फेसबुक प्रोफाइलसहित, कमेन्टको स्क्रिनसट तथा दुव्र्यवहारका प्रमाणहरू नै आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै त्यसको प्रतिवाद गर्नथालेपछि यो विषयमा नयाँ बहस सुरु भएको छ । उनीहरूको यो कदमले कलाकारहरूप्रतिको सम्मानको सवाल मात्र नभई—सार्वजनिक जीवनमा रहेका महिलाको साइबर मर्यादा, मानव अधिकार र डिजिटल सुरक्षाको सुनिश्चितताको सवालबारेको बहस सतहमा आएको हो ।
उनीहरूको यो कदमलाई धेरैले ‘आत्मसम्मानको आवाज’ भनेर प्रशंसा गरेका छन् । कलाकारमाथि हुने साइबर दुव्र्यवहार विरुद्ध कानुनी चेतना फैलाउने दृष्टिकोणले समेत यसको व्यापक स्वागत भइरहेको छ । अपाच्य शब्द प्रयोग गर्दै असहिष्णु व्यवहार देखाउने प्रयोगकर्ताहरूलाई एकपछि अर्को गर्दै सामाजिक सञ्जालमै सार्वजनिक गरिएपछि केही प्रयोगकर्ताले उनीहरूसँग माफीसमेत मागेका छन्।
उनीहरूको यो कदमबारे धेरैले समर्थन पनि गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली देखी फिल्मकर्मीलगायत कलाकारहरूले समेत उनीहरूलाई साथ दिइरहेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीलाई ‘साहसी छोरी’ को संज्ञा दिँदै उनीहरूले सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा अशिष्ट व्यवहार गर्नेहरू विरुद्ध देखाएको प्रतिवादको खुलेर प्रशंसा गरेका छन्।
प्रधानमन्त्रीको समर्थनपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ। विभिन्न कलाकार, सामाजिक अभियन्ता र दर्शकले एलिना र समीक्षाको आत्मबल र स्पष्टताको प्रशंसा गर्दै यस्ता गाली प्रवृत्तिको अन्त्यको पक्षमा सशक्त आवाज उठाइरहेका छन् । साथै उनीहरूले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।
एलिनाले आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी नै दर्ता गराइसकेकी छन् । प्रहरीका अनुसार यो घटनामा एकजना आरोपी पक्राउ समेत परिसकेका छन् । गत १३ असारमा पोस्ट गरेको भिडिओमा गाली खान आफू कलाकार नबनेको बरु दर्शक/श्रोताहरूलाई मनोरञ्जन दिन बनेको बताएकी एलिनाले आफ्ना सिर्जना मन नपरे नसुन्न पनि भनेकी थिइन् ।
‘घरको तनाव, रक्सी खाएपछिको तनाव पोख्ने ठाउँ हामी होइनौँ,’ उनले भनेकी थिइन्, ‘चित्त नबुझे हामीलाई ब्लक गर्न सक्नुहुन्छ । व्यक्तिगत कुरामा आएर गाली गर्नेहरू चाहिँदैन ।’
खासमा लाखौँ फलोअर्स भएका कलाकारहरूले प्रयोगकर्ताहरूको जानकारी सार्वजनिक गरिदिँदा उनीहरूलाई सामाजिक दबाब पर्न जान्छ । यस घटनाले नेपाली समाजमा सार्वजनिक व्यक्तित्व, विशेष गरी महिला कलाकारमाथि हुने दुव्र्यवहार र साइबर बुलिङका विषयमा गम्भीर बहसको ढोका खोलेको हो ।
यस्तो व्यवहारले व्यक्तिगत तथा व्यावसायिक जीवनमा मात्र होइन, मानसिक स्वास्थ्यमा समेत असर पुर्याइरहेको उनीहरूले नै बताउने गरेका छन् । तर, यिनै परिस्थितिका बीच यी दुई कलाकारले आफूमाथि आइपरेको मानसिक तनावसँग जुध्दै सामाजिक चेतना फैलाउने काम गरिरहेका हुन्।
समीक्षा र एलिनाको प्रयास अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्दै गएको छ। यो विषय केवल दुई गायिकाको आत्मसम्मानको रक्षा मात्र नभई सिङ्गो समाजमा महिलाविरुद्ध हुने अपमानजनक व्यवहार, अनावश्यक टिप्पणी र साइबर अपराधको विरुद्ध एउटा नयाँ चेतनाको आन्दोलन सुरु भएको बताउनेहरू पनि धेरै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।