सुविधायुक्त भवन, दरबन्दी अनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका म्याग्दी सदरमुकाम बेनी बजार आसपासकै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बर्सेनि घट्दो छ । बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन् । शैक्षिक अभिलेख प्रणालीको तथ्याङ्क अनुसार बेनीका विद्यालयमा पछिल्लो तीन वर्षयता भर्ना हुने विद्यार्थीको सङ्ख्या घट्दो छ ।
जन्मदर घट्नु, बसाइसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँ गाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थी विहीन हुने अवस्था आएको हो ।
शैक्षिक सत्र २०८० मा १० हजार ८२५ जना विद्यार्थी रहेकोमा शैक्षिक सत्र २०८१ मा यो सङ्ख्या घटेर १० हजार पाँच सय ५० मा झर्यो । शैक्षिक सत्र सुरु भएको करिब तीन महिनाको अवधिमा बेनीका विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या सात हजार ८२८ जना रहेको छ ।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने, विद्यार्थी मैत्री शिक्षण विधि अपनाउने, अभिभावकसँग निरन्तर अन्तरक्रिया गर्ने, पोसाक, सरकारले दिने बाहेक पनि विभिन्न विधामा छात्रवृत्ति, पोसाक उपलब्ध गराएर आकर्षित गर्ने प्रयास गरेका सामुदायिक विद्यालयहरूले अभिभावकको विश्वास जित्न र निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकेका छैनन् ।
सामुदायिक विद्यालयका सुविधायुक्त कक्षा कोठा खाली छन् । खेलमैदान सुनसान छन् । शिक्षकहरूले रित्ता कक्षाकोठा रुघेर बसेका छन् । समुदाय, अभिभावक र विद्यालयबीचको बढ्दो दुरी सामुदायिक विद्यालयको शैक्षिक सुधारको चुनौती बनेको छ । सामुदायिक विद्यालयको तह समायोजन, शिक्षक व्यवस्थापनको काम थालिएको बेनी नगरपालिकाले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।