२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

निर्णायक खेलमा नेपालको पुरानै नियति, किन दोहोरिँदै छ उही नतिजा ?
पेनाल्टीमा चुक्दा बढ्यो फेरि पर्खाइ

निर्णायक खेलमा मन जिते पनि खेल जित्न फेरि असमर्थ रहँदै नेपाली महिला फुटबल टिमले आफ्नो पुरानो विडम्बनाको कथा फेरि दोहोर्याएको छ । यसपटक नेपाल एएफसी एसियन कप छनोटमा चुकेको हो । 


शनिबार राति उज्बेकिस्तानविरुद्धको निर्णायक भिडन्तमा साहसिक पुनरागमन गर्दै ३–३ को रोमाञ्चक बराबरीमा खेल फर्काउन सफल भए पनि नेपाल अन्त्यमा पेनाल्टी सुटआउटमा स्तब्ध भयो । यो हारपछि नेपालको एसियन कप यात्रामा पूर्णविराम लागेको छ । 



उज्बेकिस्तानसँगको फाइनल सरह खेलमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को प्रेरणादायी प्रदर्शन, ह्याट्रिक गोल र टिमको समर्पित प्रयासले दर्शकको मन जित्यो । तर, खेलको अन्तिम परिणाम भने फेरि पनि निराशाजनक रह्यो । 



पेनाल्टी सुटआउटमा सावित्रा र अञ्जना राना मगरको प्रहार गोलमा परिणत हुन नसक्दा नेपाल निराश  बन्यो । यदि यस खेलमा जित निकालेको भए नेपाल २६ वर्षपछि एसियन कपमा छनोट हुन्थ्यो । उता उज्बेकिस्तानले भने २२ वर्षदेखिको प्रतीक्षा पूरा गर्‍यो ।  

निर्णायक खेलमा उज्बेकिस्तानले दोस्रो मिनेटमै गोल गर्दै नेपालमाथि दबाब सिर्जना गर्‍यो । ११औँ मिनेटमा उज्बेकी कप्तानले प्रहार गरेको बल समीक्षा घिमिरेको खुट्टामा लागेर जाली चुम्यो । योसँगै नेपाल २–० ले पछि पर्‍यो । तर, नेपालले सानदार पुनरागमन गर्दै घरेलु टिममाथि दबाब बढायो । 

कप्तान साम्बाले २४औँ मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । तर, ३९औँ मिनेटमा उज्बेकिस्तानले पेनाल्टी पायो, जहाँ ऊ चुकेन । खेलको पहिलो हाफको अन्त्यतिर अनौठो मोड आयो, एन एर्गासेभा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि उज्बेकिस्तान १० खेलाडीमा सीमित भयो । दोस्रो हाफ पूरै ११ भर्सेस १० को स्थितिमा खेलियो । 

केही हदसम्म नेपालले त्यसको फाइदा पनि उठायो ।  सावित्राले दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन् । र, उनले कप्तानी भूमिकामा उत्रिएर खेललाई टाइब्रेकरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिइन् । यद्यपि उनी पेनाल्टी सुटआउटमा भने चुकिन् । 



हुन त नेपाली टोलीका लागि उज्बेकिस्तानको यात्रा सहज थिएन । नेपालको समूहमा फिफा वरीयताको ५१औँ स्थानमा रहेको घरेलु टिम उज्बेकिस्तान थियो । साथै, छनोट प्रतियोगिताको सुरुवातदेखि नै नेपाली टोलीमा कप्तानको विषयमा विवाद देखियो । त्यसका बाबजुद लक्ष्य हासिलमा चुके पनि समग्रमा टिमको प्रदर्शन सन्तोषजनक नै रह्यो । 

समूह चरणमा लाओस र श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेपछि नेपाली टोली निर्णायक खेलमा पनि अन्तिमसम्म लड्यो । टिमको प्रदर्शनबारे नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले भनेका छन्, ‘हाम्रो टोली अहिले पहिलेभन्दा धेरै सुसंगठित र बलियो छ । र, आगामी दिनमा नेपालले अझ प्रभावशाली प्रदर्शन गर्नेछ ।’

आन्तरिक विवाद र चुनौतीका बाबजुद महिला टिमले सकारात्मक पहिचान बनाउँदै भविष्यका लागि उज्जवल सम्भावना प्रस्तुत गरेको छ  । अब निर्णायक प्रतिस्पर्धामा आफू अनुकूल नतिजा हासिल गर्न निरन्तर अभ्यास, उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता र अत्याधुनिक खेलकुद पूर्वाधारको विकासमा पनि विशेष ध्यान दिन आवश्यक छ ।

यी सबै पक्षमा समग्र सुधार र व्यवस्थित प्रयासबिना नेपाली टोलीले दीर्घकालीन सफलताको सपना पूरा गर्न सक्दैन ।  

निर्णायक खेलमा सधैं किन चुक ? 

नेपाली महिला फुटबल टोली निर्णायक क्षणहरूमा बारम्बार चुकिरहेको छ । प्रश्न उठ्छ, नेपाल किन चुक्छ यस्ता अवसरमा ?

पहिलो कारण मानसिक दबाब हो । ठूलो खेलमा आत्मविश्वास र स्थिरता निकै महत्वपूर्ण हुन्छ । तर, नेपालले खासगरी पेनाल्टीजस्तो उच्च तनावपूर्ण क्षणमा आत्मबल गुमाउने क्रम दोहोरिएको छ । जितको नजिक पुगेर पनि त्यो सम्हालिन नसक्ने स्थिति बारम्बार देखिँदै आएको छ ।

दोस्रो कारण तयारी र अनुभवको कमी हो । उज्बेकिस्तानजस्तो अनुभवी टोलीविरुद्ध मैदानमा उत्रन पर्याप्त तयारी र नियमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा आवश्यक पर्छ । नेपालले समूह चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि निर्णायक खेलमा अनुभवको खाँचो प्रष्ट देखियो ।

तेस्रो संरचनागत कमजोरी पनि छ । नेपालमा महिला फुटबल अझै पनि गम्भीर दीर्घकालीन योजना, खेल विज्ञान, प्रशिक्षक र पूर्वाधारको अभावमा छ । खेलाडीको मिहिनेत प्रशंसनीय छ । तर, प्रणालीको साथबिना त्यो प्रयासमा निरन्तरता आउँदैन ।

नेपाली टिमको हारमा खेल मैदान मात्रै दोषी छैन । वरिपरिका व्यवस्थापन पक्ष पनि जिम्मेवार छन् । कप्तान चयनमा देखिएको विवाददेखि लिएर समग्र टिम व्यवस्थापनमा देखिएको असंगठितपनले खेलाडीको आत्मबलमा असर पारेको छ । 

फुटबल केवल ९० मिनेटको खेल मात्र होइन, त्यो खेलको पछाडि काम गर्ने संरचना, रणनीति र नेतृत्व पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छन् र हुनुपर्छ । 

  • प्रकाशित मिति : २२ असार, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया