अहिले नेकपा एमालेभित्र अघोषितरूपमा दुई धार छ, केपी ओली र विद्यादेवी भण्डारी गुट । पार्टी अध्यक्ष नै रहेका कारण सिंगो एमाले ओलीकै लाइनमा छ जस्तो देखिन्छ । तर, एमालेभित्र धाँजा फाट्न थालेको केही समय भयो, जतिबेला विद्यादेवी भण्डारी राष्ट्रपतिबाट बिदा भएर राजनीतिक सक्रियता देखाउन थालिन् ।
राष्ट्रपतिकालमै समेत एमाले नेताहरूका लागि सहजता प्रदान गरेपछि आलोचना खेपेकी भण्डारीका लागि अहिले राजनीतिमा रोक्ने र छेक्ने केही छैन । गत १४ असारमा आफू नेकपा एमालेको सदस्यता ‘रिन्यू’ गरेर पुनः सक्रिय हुन लागेको घोषणा गरिन् ।
भण्डारीको घोषणाले एमाले राजनीतिमा नै उलटफेर त्यही दिनबाटै आउने जसरी चर्चा बाहिर गरियो । बाहिर त्यति हलचल त आएन तर एमालेभित्रको संस्थापनको जगलाई भने नराम्ररी हल्लाइदिएको छ ।
पार्टीभित्र अध्यक्ष ओलीको हैकम, अभिव्यक्तिमा अंकुश, त्यही अंकुशले जन्माएको उकुसमुकुस । पार्टीलाई पार्टी भन्दा निजी कम्पनी जसरी चलाएको भन्दै भित्रभित्रै मुरमुरिएका केही नेताहरु भण्डारीलाई सक्रिय बनाउन लागिपरेको चर्चा केही पहिल्यैबाट थियो । तर जो जो नेताहरु भण्डारीलाई सक्रिय बनाउन लागे न उनीहरुले ओलीको साथ छोडेको भन्न सके, न त विद्या लाइन क्लियर खुलाउन सके ।
पार्टीभित्र अध्यक्ष ओलीको हैकम, अभिव्यक्तिमा अंकुश, त्यही अंकुशले जन्माएको उकुसमुकुस । पार्टीलाई पार्टी भन्दा निजी कम्पनी जसरी चलाएको भन्दै भित्रभित्रै मुरमुरिएका केही नेताहरु भण्डारीलाई सक्रिय बनाउन लागिपरेको चर्चा केही पहिल्यैबाट थियो । तर जो जो नेताहरु भण्डारीलाई सक्रिय बनाउन लागे न उनीहरुले ओलीको साथ छोडेको भन्न सके, न त विद्या लाइन क्लियर खुलाउन सके । असार १४ भण्डारीले प्रष्टैसँग मुख खोलेपछि भने भित्रीरूपमा गुटको खेतिपातीमा लागेका नेताहरुका लागि केही सहज भयो, तर अझै मुख खोल्न भने कठिन परिरहेको देखिन्छ ।
भण्डारी राजनीतिमा आउनुलाई केवल एमालेको भावी नेतृत्वको रूपमा मात्रै हेरिएको छैन । वामपन्थी एकतादेखि पहिलो महिला प्रधानमन्त्री बन्ने महत्वकांक्षा समेत मिसिएको चर्चा छ । एकपटक एक भएर भत्किएको वामपन्थीहरूको एकताका लागि एमाले वर्तमान नेतृत्वसँग कुरा नमिल्ने तर नयाँ पात्र भएमा सहज हुने अन्य वामपन्थी दलहरूले संकेत दिएका थिए । नयाँ पात्रका रूपमा भण्डारीलाई हेरिएको कतिपय वामपन्थी नेताहरु बताउने गर्दछन् ।
त्यसो त सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि भण्डारी अहिले राजनीतिक भेटघाटमा व्यस्त छिन् । उनले गोप्य रुपमा एमाले नेताहरु, माओवादीका नेताहरुसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ लाई समेत भेटिसकेकी छन् ।
यसको मतलब राजनीतिमा नयाँ केही खिचडी पकाउने तयारीमा भण्डारी रहेको बुझ्न सकिन्छ । एमाले राजनीतिमा भण्डारीको सक्रियता भए पनि एमालेभित्र ओली गुट पनि त्यति कमजोर भने बनिसकेको छैन । कतिपय एमाले नेताहरूलाई अझै पनि भण्डारीको राजनीतिक सक्रियता र भावी नेतृत्वका लागि समेत ओलीकै हात र साथ चाहिने प्रचार गरिरहेका छन् ।
भण्डारी राष्ट्रपतिबाट बिदा भएपछि ओलीसँग आगामी राजनीतिका विषयमा छलफल नभएका होइनन् । तर, एमालेमा ओली शैलीबाट रुष्ट बनेकाहरूले राजनीतिक सन्तुलनका लागि भन्दै भण्डारीलाई नजानिँदो पाराले आफूहरूले नै सक्रिय गराएको दाबी गरिरहेका छन् । तर, अर्को पक्ष भने त्यसलाई मान्न तयार छैन ।
अर्को पक्ष ओलीकै डिजाइन अनुसार नै भण्डारी सक्रिय राजनीतिमा फर्किएको चर्चा गराइरहेका छन् । केही वर्षमा थाहा होला, भण्डारीको राजनीतिक पुनरागमन र सक्रियता आफ्नै वा ओलीको डिजाइन अनुसार हो भन्ने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।