२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपाली टोलीलाई सधैँ पिरोलिरहने उज्वेकिस्तानविरुद्धको खेल
फाइल तस्बिर

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकान्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रूपमा लिएको छ । टोलीका सदस्यहरूलाई फुटबल खेलबाट सन्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को भनाइ एकदमै मार्मिक छ । फुटबल मैदानमा सधैँ दृढ देखिने साम्बालगायतका खेलाडीले उज्वेकिस्तानविरुद्धको खेल समाप्त भएपछि मैदानमै आँसु खसालेको देखेपछि नेपाली फुटबल प्रेमीहरूले नरमाइलो मानेका थिए । 


आज स्वदेश फर्कदासमेत महिला फुटबल टोलीका सदस्यहरूको अनुहारमा खुसी थिएन । सो टोलीका प्रशिक्षकहरुले पनि यो दुःखद क्षणलाई आगामी दिनमा पनि पक्कै बिर्सने छैनन् । नेपाली महिला फुटबल टोलीका लागि यो जत्तिको ठूलो प्रतियोगिता केही थिएन । यो अवसरलाई नेपाली टोलीले सही तरिकाले उपयोग गरेको थियो ।



सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला फुटबल टोलीले १००औँ प्रतियोगिताका सिलसिलामा सबैभन्दा आक्रामक खेल खेल्दै हालसम्मकै सर्वाधिक गोल गर्न सफल भएको थियो । नेपाली महिला फुटबल टोलीको फाइटिङ स्पिरिटको सकारात्मक सन्देश सबैतिर फैलिएको छ । अन्तिम खेलमा उज्वेकिस्तानलाई कडा चुनौती दिँदा नेपाली टोली पेनाल्टी सुटआउटमा चुकेको थियो । नेपाल सम्भावित विजेताको अवसरबाट वञ्चित हुन पुग्यो । यसले नेपालको महिला फुटबलको आगामी मार्ग समेत अवरोध हुन पुग्यो ।

क्षमायाचना



अखिल नेपाल फुटबल सङ्घले खेलको नतिजा चाहेको जस्तो नभएको जनाएको छ । सङ्घले सबैको सहयोगको कदर पनि गरेको छ । नेपाली टोलीकी स्ट्राइकर प्रीति राईले नेपालको पराजयपछि सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेकी छिन् । धेरै प्रयास गर्दासमेत खेलमा विजयी हुन नसकेको भन्दै उनले नेपाल पराजित भएकामा माफी मागेकी हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहको धारणा बेग्लै छ । उनले नेपाली महिला टोलीले खेल नहारेको धारणा व्यक्त गर्दै खेलको स्तर जितभन्दा माथि भएको बताइन् । 

प्रशिक्षकको भूमिका

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो नियुक्तिपछिको पहिलो जिम्मेवारीमै नेपाली महिला टोलीको खेलमा अत्यधिक सुधार गरेको स्पष्ट महसुस गराएका थिए । उनले खेलाडीहरूलाई किन सकिन्न र ? भन्दै उत्पेरित गर्ने गरेका थिए । नेपाली खेलाडीहरूले तीनवटा खेलमा क्रमशः सुधार गर्दै लगेको देखिएको थियो । यसमा मुख्य प्रशिक्षकको भूमिका महत्वपूर्ण मानिएको छ । मुख्य प्रशिक्षकले मैदानमा होस वा ड्रेसिङ रुममा  दिएको जिम्मेवारी र सिकाएको शैलीलाई खेलाडीहरूले पछ्याएका थिए ।

नेपाली राष्ट्रिय महिला टोलीको पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एसिया कपमा प्रवेश गराउन नसके पनि नेपाली टोलीलाई सशक्त टोलीका रूपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ । तासकान्दमा खेलेका तीनवटै खेलमा नेपालले विपक्षी टोलीहरूलाई कडा चुनौती दिएको थियो ।



उज्वेकिस्तानसँग ३ गोलले पछि पर्दा पनि नेपालले गोल फर्काउन सक्नु सानो उपलब्धि होइन । तर, पेनाल्टीमा चुक्नु नेपालका लागि दुर्भाग्य बन्न पुग्यो । गोल मेसिनका रुपमा सशक्त खेलाडी बनेर प्रशंसाको पात्र बनेकी कप्तान  साम्बाले प्रहार गरेको पेनाल्टी बल दुर्भाग्यबस गोल पोष्टको पोलमा लागेर फर्कनु, आफ्नो टोलीमा प्रीति राई र रेखा पौडेलजस्ता स्कोरर हुँदा हुँदै प्रशिक्षकले गोलकिपर अन्जना राना मगरलाई पेनाल्टी प्रहार गर्ने अवसर दिनु जस्ता कारणले नेपालको आगामी अष्ट्रेलियाको यात्रा टुङ्गिन पुगेको कुरालाई नकार्न सकिन्न ।

गोलकिपरलाई दबाब

मुख्य प्रशिक्षकले अन्जना रानामगरलाई लगातार तीन खेलमा खेलाउँदा उनलाई पक्कै दबाब परेको थियो । यस्तो अवस्थामा गोलकिपर नर्भस हुनु स्वाभाविक थियो । यस अघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्जिला तुम्बापो सुब्बाले गोलकिपरको रुपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै गोल बचाउने सन्दर्भमा पनि नाम कमाएकी थिइन । खेलको ख्यातीकै कारण उनको जीवनीमा आधारित ‘अन्जिला’ नामक चलचित्र निर्माण गरी उनलाई अभिनेत्रीका रुपमा ख्यातीप्राप्त सिनेमा निर्देशक निर्मल चाम्सले डेब्यु गराएका थिए ।

तासकान्दको प्रतियोगितामा मुख्य प्रशिक्षकले एन्जिलालाई कप्तानबाट हटाउनुका साथै लगातार तीन खेलमा जगेडा गोलकिपरका रुपमा बेन्चमा राखेका थिए । शनिबारको महत्वपूर्ण खेलमा प्रशिक्षकले नेपाली गोलकिपरका बारेमा ध्यान दिएको भए नतिजा सकारात्मक आउने थियो भन्नेहरू पनि छन । रक्षात्मक पक्षका खेलाडीहरूले गोल पोष्ट जोगाउन नसक्नु, गोलकिपर अन्जना रानामगरले सम्भावित गोलको आकलन गर्न नसक्नु, बल प्रहार हुँदा ढिलो ड्राइभ गर्नु जस्ता कारणले गोल भएका थिए । पेनाल्टी प्रदर्शन अति नै महत्वपूर्ण थियो । यस्तो निर्णायक पेनाल्टी सुटआउटमा नेपालले ४ मध्ये २ मात्र पेनाल्टी गोल गर्न सक्नु दुर्भाग्य हुन पुग्यो ।

साम्बाको सफलता 

साम्बालाई कप्तानको जिम्मेवारी दिँदा पहिले विवाद पनि भएको थियो । कप्तानको जिम्मेवारी पाएपछि आफू तीनवटै खेल खेल्नुअघिको राति सुत्न नसकेको स्वयम् साम्बाले स्विकारेकी छिन् । एघार वर्ष महिला फुटबलमा बिताएकी साम्बाले यति ठूलो दबाब कहिल्यै पनि बेहोरेकी थिइनन् । उनी टोलीका सबै खेलाडी कप्तान भएको मान्दछिन । सबैको सहयोगमा उनको नेतृत्वमा टोलीले नतिजा हासिल गर्न सफलता प्राप्त गरेको थियो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एसिया कपमा प्रवेश गराउन नसके पनि नेपाली टोलीलाई सशक्त टोलीका रूपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ । तासकान्दमा खेलेका तीनवटै खेलमा नेपालले विपक्षी टोलीहरूलाई कडा चुनौती दिएको थियो ।

विश्व वरियताका क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई १००औँ स्थानमा रहेको नेपालले रक्षात्मक वा आक्रामक दुवै पङ्तिका तर्फबाट यथोचित प्रतिस्पर्धा गरेको थियो । कप्तान साम्बाले यसपालि तीनवटै खेलमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेकी थिइन् । उनले  अन्तिम दिनको खेलमा २४औँ, ७१औँ र ७३औँ मिनेटमा लगातार तीन गोल गरेर प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेर आफूलाई विश्वकै अब्बल दर्जाको खेलाडीका रूपमा परिचित गरेकी छिन् ।

मौसमको चुनौती 

नेपाली खेलाडीका लागि उज्वेकिस्तानको मौसम पनि चुनौती बन्न पुगेको थियो । अत्यधिक गर्मीका कारण पहिलो खेलमा ज्यादै कठिन  महसुस गरेका नेपाली खेलाडीहरू दोस्रो तथा तेस्रो खेलसम्म आइपुग्दा विस्तारै अभ्यस्त हुँदै गएका थिए । खेल अवधिमा रेफ्रीले खेल बीचैमा रोकेर कुलिङ ब्रेक दिने गरेका थिए । तापक्रम बढी भएको अवस्थामा खेल्नु पक्कै पनि सहज हुँदैन । यस्तो अवस्थामा रेफ्रीले खेल बीचैमा केही बेर रोकेर खेलाडीलाई पानी खाने समय दिन कुलिङ ब्रेक दिने नियम छ । यसले खेलाडीहरूको शरीरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्दछ । तापक्रम बत्तीस डिग्री सेल्सियस पुगेपछि अत्यधिक तातो मानिन्छ ।

तापक्रम अत्यधिक बढेको अवस्थामा खेलाडीको सुरक्षाकाला गगि कुलिङ ब्रेक आवश्यक पर्दछ । उज्वेकिस्तानमा अहिले गर्मी मौसममा तापक्रम बढी भएकाले तातो र सुक्खा हुने गरेको छ । त्यो मुलुकमा सबैभन्दा बढी तापक्रम जुलाई महिनामा हुने गरेको छ । उज्वेकिस्तानका धेरै सहरमा यस महिनामा औसत दैनिक तापक्रम ३५ डिग्री सेल्सियस पुग्ने गरेको छ । तर जाडोयाममा भने अत्यधिक चिसो भइ तापक्रम माइनस एक डिग्री सेल्सियसदेखि माइनस ३ डिग्री सेल्सियसम्म झर्ने गर्दछ । एसियाली कपको छनोट चरणमा पराजित भएर प्रतियोगिताबाट बाहिरिए पनि नेपाली फुटबल टोलीले फुटबलप्रेमी दर्शकको मन जित्न सफल भएको छ । तर, नेपालको एसिया कपमा सहभागिता अवरुद्ध हुनुका साथै आगामी फिफा महिला विश्वकप र ओलम्पिकजस्ता सम्भावित प्रतियोगितामा नेपालको सहभागिता पनि टुङ्गिएकोलाई दुःखद पक्ष मान्न सकिन्छ ।  

उत्कृष्ट लयमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पनि रक्षात्मक हुन वा आक्रामक खेलको माध्यमबाट विपक्षीहरूलाई  कडा चुनौती दिँदै बलियो उपस्थिति जनाएको थियो । लगातार तीनवटै खेलमा नेपालले आफूलाई बलियो टोलीका रूपमा मैदानमा उतार्नु मुलुककै फुटबल इतिहासमा गौरवको विषय हो । यस अघि नेपालले लाओसलाई ९–० गोलअन्तरले तथा श्रीलङ्कालाई ८–० गोलअन्तरले पराजित गर्दै  आफ्नो टोली बलियो भएको प्रमाणित गरेको थियो । 

समग्रमा नेपालले आफूभन्दा माथिल्लो वरीयताको टोलीसँग खेल्ने अवसर पाउँदा पक्कै पनि धेरै कुरा सिकेको छ । नयाँ खेलाडी उत्पादन गर्ने, स्वदेश तथा विदेशका प्रतियोगिताहरुमा खेलाडीहरूलाई अत्यधिक प्रतियोगितामा सहभागी गराउने तथा खेलाडीलाई खेलेर बाँच्न सक्ने अवस्था सिर्जना गर्नका लागि आवश्यक उपायहरू अवलम्बन गर्नु जरुरी छ । नेपालले तासकान्दमा सिकेको पाठलाई आगामी दिनमा व्यवहारमा उतार्दै नेपाली महिला फुटबललाई प्राथमिकतामा राखेर उचित रणनीति तर्जुमा गर्न अखिल नेपाल फुटबल सङ्घले तदारुकता देखाउन ढिलो गर्न हुँदैन ।  

  • प्रकाशित मिति : २३ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया