२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

एनपिएल रिटेन्सन सूची : को टिके, को छुटे ?
मिनी अक्सनले तय गर्नेछ एनपिएलको शक्ति सन्तुलन

नेपाल क्रिकेट संघ (क्यान) दोस्रो संस्करणको एनपिएलका लागि आन्तरिक तयारीमा व्यस्त हुन थालेको छ । आगामी नोभेम्बरमा आयोजना हुने लिगको दोस्रो सिजनका लागि आठवटै टोली पनि गृहकार्यमा जुटेका छन् ।


यहीक्रममा सबै टोलीले रिटेन र रिलिज हुने खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् । आठमध्ये पाँच टोलीले ६/६ र तीन टिमले समान सात खेलाडी रिटेन गरेका छन् । यसरी ५१ खेलाडीलाई टोलीहरूले पुनः विश्वास गरेका हुन् ।



अघिल्लो संस्करणमा टिममा रहेका ४५ खेलाडी भने रिलिज भएका छन् । रिलिज खेलाडी अब मिनी अक्सनमा सहभागी हुने छन्, जहाँबाट उनीहरूलाई दोस्रो संस्करणमा पुनः स्थान सुरक्षित गर्ने अवसर खुला हुनेछ ।



नेपाल प्रिमियर लिगको यसपटकको सिजनका लागि टोली संरचना स्पष्ट पारिएको छ, एक टिममा कम्तीमा १२ नेपाली खेलाडी हुनैपर्छ, जसमा केही रिटेन भइसकेका छन् र बाँकी खेलाडी मिनी अक्सनबाट भित्र्याइने छन् ।

यस आधारमा तीन टोलीले अझै कम्तीमा पाँच/पाँच र पाँच टोलीले समान ६ नेपाली खेलाडी अनुबन्ध गर्न पाउने छन् । विदेशी खेलाडीको सन्दर्भमा टोलीहरूले चारदेखि ६ जनासम्म भित्र्याउन पाउने छन् । तर, टिमहरूले प्लेइङ–११ मा भने चार विदेशी खेलाडीलाई मात्र समावेश गर्न पाउने नियम छ ।

आसन्न संस्करणको एनपिएलका डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले सातजना खेलाडी रिटेन गरेको छ । उसले आसिफ शेख, अनिलकुमार साह, ललितनारायण राजवंशी, रुपेश सिंह, किशोर महतो, शुभ कंसाकार र तुलबहादुर थापालाई रिटेन गरेको हो । जनकपुरले हेमन्त धामी, मयन यादव, विशाल सुस्लिङ, आकाश त्रिपाठी, अरनिको यादव र शेर मल्ललाई भने रिलिज गरेको छ ।

यस्तै, गत उपविजेता सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ । उसले कप्तान दीपेन्द्र सिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको हो । सुदूरपश्चिमले अर्जुन कुमाल, नरेश बुढाऐर, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र बसन्त खत्रीलाई भने रिलिज गरेको छ । 



यस्तै, चितवन राइनोजले कुशल मल्ल, रिजन ढकाल, दीपक बोहरा, अमरसिंह रटेउला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गर्दा विपिन रावल, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेषवाकरलाई रिलिज गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कर्णाली याक्सले सोमपाल कामी, गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई रिटेन गरेको छ ।

मौसम ढकाल, देव खनाल, रित गौतम, भुवन कार्की र दीपक डुम्रे भने रिलिज भएका छन् । 

यस्तै, काठमाडौं गुर्खाजले करण केसी, भीम सार्की, शाहब अलाम, दीपेश कँडेल, राशिद खान र प्रतीक श्रेष्ठलाई टिममै राख्ने निर्णायक गर्दा शंकर राना, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, राजु रिजाल र कृश कार्कीलाई रिलिज गरेको छ । 

यस्तै, विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई रिटेन गरेको छ । राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल, दीपक बोहरा, मृनाल गुरुङ, सुजन थपलिया भने रिलिज भएका छन् ।

त्यस्तै, पोखरा एभचेन्जर्सले सात खेलाडी रिटेन गर्दा पाँच खेलाडी रिलिज गरेको छ । उसले कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपिन खत्री, आकाश चन्द र त्रृतराज दासलाई रिटेन गर्दा नारायण जोशी, दिलीप नाथ, सुनम गौतम, अमृत गुरुङ र सुदीप अर्याललाई रिलिज गरेको हो ।

त्यस्तै, लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलसहित विवेककुमार यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिशेष गौतमलाई रिटेन गरेको छ । लुम्बिनीको टिमबाट सूर्य तामाङ, अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैया, बिकाश आग्री र आरिफ खान भने रिलिज भएका छन् ।

रिलिज भएका खेलाडी मिनी अक्सन समावेश हुने छन् । त्यहाँ उनीहरूलाई फेरि पुरानै टिममा फर्किने मौका हुनेछ । क्यानले मिनी अक्सन आगामी अगस्टमा गर्ने जनाएको छ, त्यसपछि विदेशी खेलाडी अनुबन्ध प्रक्रिया औपचारिकरूपमा सुरु हुनेछ ।

  • प्रकाशित मिति : २३ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया