१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

ब्रिक्सविरुद्ध ट्रम्प : विश्व शक्ति सन्तुलनको नयाँ तनाव
नेटोलाई ब्रिक्सको झड्का

विश्व राजनीतिमा अमेरिकी हस्तक्षेप र सैन्य कारबाही द्रुत गतिमा बढेको छ । उत्तर एट्लान्टिक सैन्य संगठन (नेटो) माथि अमेरिकी लगानी पहिलेको तुलनामा घटेको छ । अमेरिकाको दबाबमा बेलायत, जर्मनीलगायत युरोपेली देशले नेटोलाई गर्दै आर्थिक लगानी बढाएका छन् । तर, नेटोमा ती देशले लगानी बढाए पनि इजरायलले गाजामा गरिरहेको हमलाप्रति उनीहरू मौनजस्तै छन्  ।


इजरायललाई अगाडि सारेर अमेरिकाले इरानको परमाणु केन्द्रमाथि गरिएको कारबाहीप्रति भने ती देशहरू खुसी देखिए । युक्रेनले नेटोको सदस्य बन्नका लागि प्रक्रिया अगाडि बढाएसँगै रुसले युक्रेनविरुद्ध गरेको आक्रमण युद्धमा परिणत भयो । अमेरिकाले सो युद्धमा युक्रेनलाई हर तहबाट सैन्य सहयोग उपलब्ध गराइरहेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै उनले युक्रेनलाई दिँदै आएको सहयोगलाई सौदाबाजीको आधार बनाइरहेका छन् । 



यसैबीच ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न ब्रिक्स देशका नेताहरूले गरेका निर्णयले ट्रम्प रुष्ट बनेका छन् । ब्रिक्स सम्मेलनले इजरायल र अमेरिकाको नाम नै उल्लेख नगरे पनि आणविक र अन्य लक्ष्यमा शृङ्खलाबद्ध सैन्य आक्रमण गरिएको भन्दै निन्दा गरेको छ । ती आक्रमणबाट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको र नागरिक पूर्वाधारमा जानाजानी आक्रमण गरिएको देखिएको उल्लेख गरेको छ  । 



ब्रिक्स सम्मेलनले सदस्य राष्ट्र इरान पक्षमा समर्थन प्रस्ताव पारित गरेको भन्दै ट्रम्प रुष्ट बनेका हुन् । उनले तत्कालै आफ्नो ट्रुथ सोसल साइटमा ब्रिक्सको अमेरिका विरोधी नीतिआबद्ध हुने कुनै पनि मुलुकलाई अतिरिक्त १० प्रतिशत शुल्क लगाइने घोषणा गरेका छन् । ​ब्रिक्स सम्मेलनद्वारा जारी विज्ञप्तिमा ट्रम्पले आयातमा मनपरी शुल्क बढाएको र इरानमाथि हालैका इजरायली–अमेरिकी आक्रमणको निन्दा गरिएको छ ।

अमेरिकी भन्सार शुल्कले विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्याउनेसमेत ब्रिक्स सम्मेलनको निष्कर्ष छ । सम्मेलनले मध्य पूर्वमा ‘हिंसाको चक्र’ चलाइएको भन्दै गाजाबाट इजरायली सेना तत्काल फिर्ता गर्न आह्वानसमेत गरेको छ । ​ब्रिक्स समूहमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इथियोपिया, इन्डोनेसिया र इरान सदस्य छन् ।

ब्रिक्स समूह स्वयंभित्र नेतृत्वको अस्पष्टता र सामूहिक निर्णय क्षमतामा कमजोरी देखिन थालेको छ । चीनका राष्ट्रपति सी जिनपिङको अनुपस्थितिले त्यसलाई झनै प्रस्ट पारेको छ । यस्तै, युद्ध अपराधको आरोप खेपिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भर्चुअल सहभागिता समूहको राजनैतिक हैसियतमा ह्रास भइरहेको संकेत हो ।

ब्राजिल, रुस, भारत र चीन र पछि थपिएको दक्षिण अफ्रिका समेतलाई बुझाउन ‘ब्रिक्स’नाम दिइएको हो । अहिले यसमा साझेदार मुलुक थपिने क्रम जारी छ  । सन् २०२४ मा दक्षिण अफ्रिकामा भएको १५औँ सम्मेलनले अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई सदस्यका रूपमा थपेको थियो । 



ब्रिक्स समूहमा आबद्ध साउदी अरब, अमेरिकी उच्च प्रविधियुक्त सैन्य हतियार निर्यात गर्नेमध्यको प्रमुख साझेदार रहँदै आएको छ । तर, इरानमाथि गरिएको आक्रमण र गाजामा इजरायलले जारी राखेको आक्रमणको निन्दा गर्नेमा साउदीसमेत रहेकोमा अमेरिका असमञ्जसमा परेको छ । त्यसो त नेटो आक्रामकरूपमा अगाडि बढिरहेका बेला ब्रिक्स समूहको संगठनात्मक कमजोर देखिँदैछ । चीन र रुस ब्रिक्सका मुख्य पिलर हुन् । तर, यसपटकको ब्रिक्स सम्मेलनले समूह कमजोर भएको संकेत गरेको छ । 

१२ वर्षयता लगातार  सम्मेलनमा निर्णायक भूमिका निर्वाह गर्दै आएको थियो । ब्रिक्सका सदस्य राष्ट्र अमेरिकी कोपभाजनको सिकार हुने सम्भावना त छँदैछ, समूह नै निस्तेज बन्ने खतरा पनि उत्तिकै छ । ट्रम्प नेतृत्वमा पुनः आक्रामक राष्ट्रियतावादी र संरक्षणवादी नीति लिँदै गरेको अमेरिका एकातिर ब्रिक्स राष्ट्रहरूप्रति चेतावनी जारी गरिरहेको छ भने अर्कातिर नेटोमा युरोपेली लगानी बढाउँदै आफ्नो रणनीतिक पकड बलियो बनाउन खोजिरहेको छ ।

यो परिदृश्यले इजरायलको पक्षमा खुला समर्थन जनाउने अमेरिकी नीतिको वैश्विक आलोचना बढ्दै गएको देखाउँछ, विशेषतः गाजा र इरानजस्ता क्षेत्रीय संकटको सन्दर्भमा । तर, ब्रिक्स समूह स्वयंभित्र नेतृत्वको अस्पष्टता र सामूहिक निर्णय क्षमतामा कमजोरी देखिन थालेको छ । चीनका राष्ट्रपति सी जिनपिङको अनुपस्थितिले त्यसलाई झनै प्रस्ट पारेको छ । यस्तै, युद्ध अपराधको आरोप खेपिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भर्चुअल सहभागिता समूहको राजनैतिक हैसियतमा ह्रास भइरहेको संकेत हो ।

यता साउदी अरबजस्ता अमेरिकी सैन्य साझेदार राष्ट्रसमेत ब्रिक्समा आबद्ध हुँदै अमेरिकी नीतिविरुद्ध बोल्न थालेपछि अमेरिकाको प्रभाव क्षेत्रभित्रै असमञ्जसको संकेत देखिएको छ । यति हुँदाहुँदै पनि ब्रिक्सले अझैसम्म ठोस वैकल्पिक सुरक्षा संरचना र आर्थिक एकीकृत रणनीति प्रस्तुत गर्न सकेको छैन, जसले गर्दा समूह शक्ति सन्तुलनमा निर्णायक बन्न सकिरहेको छैन ।

यस्तो परिप्रेक्ष्यमा आजको विश्व राजनीति बहुध्रुवीय बन्ने यात्रामा भए पनि त्यो यात्राको मार्ग असहज, अस्थिर र टकराबपूर्ण छ, जहाँ पुराना गठबन्धन पुनः परीक्षणमा छन् र नयाँ शक्तिकेन्द्र अझै स्थापित भइनसकेको अवस्था छ ।

  • प्रकाशित मिति : २३ असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया