छिमेकी राष्ट्र चीनमा अविरल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति भएको छ । जहाँ ३ प्रहरीसहित १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
छिमेकी देश चीनमा अविरल वर्षाका कारण आएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म ३ जना प्रहरी, ९ जना नेपाली नागरिक, ६ जना चिनियाँ नागरिक गरी १८ जना बेपत्ता रहेका छन् ।
बेपत्ता हुने प्रहरीहरुमा प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र प्रहरी जवान लोकेन्द्र बोहरा रहेका छन् । उनीहरु इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्दारका लागि खटिने क्रममा बेपत्ता भएका हुन् ।
त्यस्तै बाढीमा परेका ९ जनाको सकुशल उद्धार गरिएको समेत रसुवा प्रहरीले जनाएको छ । जसमा १ जना नेपाली प्रहरी, एक जना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको हो ।
बिहान ४ बजेको समयमा गोसाइकुण्ड गाउँपालिका–२ स्थित ईभी चार्जिङ स्टेशनमा क्षति हुनुका साथै ७–८ वटा ईभी गाडी समेत बगाएको थियो ।
हाल बेपत्ताहरुको उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हाल उद्धारका लागि ७४ जनाको टोली परिचालन गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।