१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

हरित कोइला : स्वदेशी ऊर्जाबाट समृद्ध भविष्यको सम्भावना

विदेशबाट आयातित इन्धन- डिजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा निर्भरता घटाउँदै नेपालको ऊर्जा परिदृश्यमा एक स्वदेशी, वातावरणमैत्री हरित कोइलाले नयाँ सम्भावनाको ढोका खोलेको छ । विभिन्न उद्योग तथा कलकारखानामा हरित कोइलाको प्रयोग बढाउन सकेमा आर्थिक र वातावरणीय हिसाबले मुलुक लाई नयाँ आयाम दिन सक्ने सम्बद्ध अधिकारीहरूले बताउँदै आएका छन् ।


हाम्रो वन जङ्गलमा पाइने झारपात, खेर गएको बनको झाडी, डस्ट (काठ मिल बाट निस्केको धुलो) प्लाइको भेनीएरको ह्स्टिहरु राखेर एउटा प्रोडक्ट बनाइएको छ जसलाई हरित कोइला भनिन्छ । साथै, बायोमास ब्रिकेटको नामबाट पनि यसलाई चिनिन्छ । यसलाई प्राकृतिक स्रोतहरूबाट नै निर्माण गर्ने भएको हुनाले यसको निर्माण र प्रयोगको लागत एकदमै कम हुने गर्दछ । यसको प्रयोग वातावरणको हिसाबले पनि राम्रो भएको हुनाले सरकारले हरित कोइलाको प्रयोगलाई बढाउने कुरामा जोड दिएको पाइन्छ ।



पेट्रोलियम तथा कोइलाको प्रयोगबाट उत्पादन गरिने ऊर्जाका कारण कार्बन उत्सर्जनमा वृद्धि हुँदा विश्वमा तापमानसमेत बढेको सन्दर्भमा पाखा पखेरामा खेर जाने घाँस तथा प्राकृतिक उपजलाई ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्ने प्रविधिको प्रयोगमा नेपालमा समेत चासो बढेको हो । 

हरित ऊर्जाको सन्दर्भमा जैविक ऊर्जा व्यवसायी सङ्घका उपाध्यक्ष कुबेरमणि नेपालले एलपि ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा हरित ऊर्जाको प्रयोग किफायती र फाईदजनक हुने भन्दै यसको बारे उपभोक्तालाई जानकारी गराउन आवश्यक रहेको बताए ।



उनले आफैले पनि हरित कोइलाको उत्पादन गर्ने भएको हुनाले बायोमासको माग बिस्तारै एकपछि अर्को गरी बढ्दै गएको र ठूला खालका उद्योगहरूमा यसले धेरै ठुलो बचत गरेको पनि बताउँछन् । 

उनले भने, ‘ग्राहकहरूलाई यो चुल्होको बारेमा पढाउँदै सिकाउँदै एलपी ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा यसको प्रयोग कति किफायती भयो त भन्ने कुरा देखाउँछौँ । एलपी जी ग्याँसको प्रयोगको सट्टा यसको प्रयोग गर्दा हुने फाइदाका बारेमा पनि सिकाउँछौँ । जसले यो प्रयोग गर्नु भएको छ उहाँहरूले बायोमासको माग बिस्तारै एकपछि अर्को गरी बढाउँदै जानु भएको छ । ठूला खालका उद्योगहरू जस्तै भुजिया, दालमोठ पकाइरहनु पर्नेहरूका लागि त यसले धेरै ठुलो बचत गरेको छ । जसले यो प्रविधि प्रयोग गर्नु भएको छ उहाँहरूले फेरी फर्किएर हेर्नु परेको छैन ।’

यसले कोइला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्न सक्ने पनि उनको बुझाई छ । उनले हरित ऊर्जामै गरिएको लगानी करिब ६ महिनामा उठाउन सकिने भए पनि यसको प्रचारको कमीका कारण मानिस यसमा लगानी गर्न हिचकिचाइरहेको पनि बताए । 
उनले भने, ‘औद्योगिक प्रयोजन कालागि चलाउँदा पनि ५/७ लाख देखि एक करोड रुपैयाँ सम्म पर्न आउँछ । त्यस कारण प्रविधि चाहिँ अलि महँगो नै छ । तर समग्रमा खपत हेर्ने हो भने चाहिँ करिब ६ महिनामा खर्च उठ्छ तर पनि एकै चोटि लगानी गर्न के भइरहेको छ भनेदेखि मान्छेहरू अलि हिचकिचाइरहेको अवस्था छ ।’

सामान्यतया भन्नु पर्दा एक केजी एलपिजीले ११ हजार किलो क्यालेरी इनर्जी दिन्छ, डिजेलले ११ हजार २ सय क्यालोरी इनर्जी दिन्छ, पेट्रोलले पनि सोही बराबरमा इनर्जी दिन्छ । यति इनर्जीका लागि डिजेल किन्न अहिलेको मूल्य अनुसार १ सय ५० रुपैयाँ सम्म तिर्नुपर्छ । एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ । 



३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उत्पादन गर्दछ । भाग गर्दा खेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । करिब ७५ रुपैयाँमा १ सय १३५ रुपैयाँको काम गर्दछ । त्यस कारण यसले एलपिजीमा करिब ४५÷५० प्रतिशत सम्म फाइदा गर्दछ । अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ । 

नेपाल सरकारले सन् २०४५ सम्म वातावरण प्रदूषणलाई नेट जिरो पार्ने उद्देश्य लिएको छ । त्यसको लागि पनि हरित ऊर्जाले ठुलो भूमिका निर्वाह गर्न सक्छ । कोइलाको तुलनामा हरित कोइलाले करिब एक टन कार्बन उत्सर्जन कम गर्दछ । त्यस कारण वातावरणीय हिसाबले पनि यो कार्बन न्युट्रल हो ।

एलपिजी ग्याँसले ६ प्रतिशत सल्फरडाइअक्साइड ग्याँस उत्पादन गर्दछ भने हरित कोइलाले ०.१ प्रतिशत मात्रै सल्फरडाइअक्साइड ग्याँस उत्पन्न हुन्छ । यो ग्याँस भनेको कासिनोजेनीक ग्याँस हो । यसले क्यान्स बनाउन सहयोग गर्ने हुन्छ । त्यस कारण मानव स्वास्थ्यका लागि पनि राम्रो छ ।

यस्तै सलम्बु चिप्स उद्योगका सिइओ हरि दुलालले आफ्नो उद्योगमा हरित ऊर्जाको प्रयोग गर्ने गरेका छन् । उनले पनि पहिला डिजेल नै प्रयोग गर्ने गरेका थिए त्यसबाट खर्च पनि बढी हुने र वातावरणलाई पनि प्रभाव पार्ने भएको हुनाले हरित ऊर्जाको प्रयोग गर्न थालेको उल्लेख गरेका छन् । 

उनले वायोमास प्रयोगले इन्धनमा भएको लगानी केही हदसम्म भए पनि कम भएको भन्दै यसले आर्थिक र वातावरणको रूपमा पनि नेपाललाई फाइदा पुर्याएको बताए ।

उनले भने, ‘जुन हरित कोइला छ यसलाई प्यालेट भनिन्छ । यो बायो ऊर्जा हो । यो हाम्रै जङ्गलहरूबाट निस्किने वनस्पति उपजहरू, काठको धूलोहरूबाट बनेको हुन्छ । यसको प्रयोग हामीले पनि भर्खरै सुरु गरेका हौँ । ४, ५ महिना मात्र भएको छ । हामीले पहिला डिजेलको प्रयोग गर्दै आएका थियौँ भने यो ऊर्जा सम्बन्धी ज्ञान पाएपछि बायो मास कै प्रयोग गर्दै आएका छौ । यो वायोमास प्रयोग गर्दा इन्धनमा भएको लगानी केही हदसम्म भए पनि कम गर्न सक्छौ । यसले आर्थिक र वातावरणको रूपमा पनि नेपाललाई फाइदा पुर्याउन सकिन्छ । यसको फाइदा भनेको एउटा वातावरणलाई स्वच्छ बनाउँछ ।’ 

डिजेल प्रयोग गर्दा धुवाहरू धेरै आउने हुन्छ भने यो ऊर्जाको प्रयोग गर्दा धुँवाहरू एकदमै न्यून नै हुन्छ, अर्को कुरा यो नेपालकै उत्पादन भएको हुनाले पनि यसले डिजेल, पेट्रोलको आयातलाई पनि विस्थापित गर्न सक्छ । यसको प्रयोग बढ्नु देशको लागि आवश्यक भएको हुनाले सरकारी तहबाट नै यसको प्रवर्धक आवश्यक छ । उद्योगको हिसाबले यसले सफाइमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ र नेपाल प्राकृतिक स्रोतहरूले धनी देश भएको हुनाले नेपालमा यसको सम्भावना उच्च रहेको छ । यसबाट देश भित्रको पैसा देशमै बस्छ । 

उद्योगमा बायोमासको प्रयोगले व्यवसायीहरूलाई पनि फाइदा हुन्छ र देशको लागि पनि राम्रो योगदान हुन्छ । ऊर्जाको प्रयोग बढाउनको लागि सरकारले उद्योग खोल्नेहरूको लागि सामानहरू खरिद गर्दा विभिन्न समयमा अनुदानहरू दिने योजनाहरू पनि ल्याइ रहेको छ । यसले व्यवसायीहरूलाई झन् प्रोत्साहन गरेको पाइन्छ । अहिलेको लागि सर्लाही, नारायणघाट र झापाबाट यो बायो मास उत्पादन हुने गरेको छ ।

भारतमा वार्षिक रूपमा ५०० मिलियन टन बायो मास उत्पादन हुने गरेको छ । इन्डिया रिन्युएबल इनर्जीका अनुसार बायोमासबाट छोटो समयमै १८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भारतले राखेको छ । चीन सरकारले पनि पछिल्ला दिनमा बायोमासबाट ऊर्जा उत्पादन गर्ने कार्यलाई दीर्घकालीन लक्ष्यका रूपमा अगाडि बढाएको छ । 

  • प्रकाशित मिति : २५ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया