२९ कात्तिक, २०८२ शनिबार
Nov. 15, 2025

साफ यू-२० च्याम्पियनसिप : नेपाललाई उपाधि खडेरी तोड्ने मौका

साफ यू–२० महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता यही सातादेखि बंगलादेशमा आयोजना हुँदैछ । २७ असारदेखि ५ साउनसम्म ढाकामा आयोजना हुने यस प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ ।   


चार राष्ट्र सहभागी प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान र श्रीलंका दोहोरो राउन्ड रोबिन प्रणालीमा आपसमा दुई/दुईपटक भिड्ने छन् । सर्वाधिक अंक बटुल्ने टोली च्याम्पियन बन्नेछ ।



बंगलादेश र नेपाललाई उपाधिको प्रबल दाबेदारको रूपमा हेरिएको छ । साबिक विजेता बंगलादेश घरेलु मैदानको फाइदा उठाउँदै उपाधि रक्षा गर्ने रणनीतिमा रहनेछ । 



यता नेपाल पहिलो उपाधिको खोजीमा छ । हालसम्म नेपालको सिनियर महिला टोली अन्तर्राष्ट्रिय उपाधिविहीन छ । यही अभावलाई भरपर्दो प्रदर्शनमार्फत पूरा गर्ने जिम्मा अहिले उमेर समूहको टोलीले पाएको छ ।

भारत र पाकिस्तानजस्ता परम्परागत प्रतिस्पर्धी टिमको अनुपस्थितिमा यसपटक नेपालले ट्रफी उचाल्ने सुनौलो मौका पाएको छ । नेपाल साफ यू–२० मा यसअघि दुईपटक उपविजेता बनेको छ ।

नेपाल सन् २०१८ र २०२३ को उपविजेता टिम हो । पाँचपटक प्रतियोगितामा सहभागिता जनाइसकेको नेपालले उपाधि खडेरी भने तोड्न सकेको छैन । उता बंगलादेश चार पटकको च्याम्पियन टोली हो । उसले सन् २०१८, २०२१, २०२३ र २०२४ को उपाधि जितेको थियो ।



पछिल्लो समय बंगलादेशले महिला फुटबलमा लगानी बढाइरहेको छ । र, उसले महिला फुटबलको आधार निर्माणमा गरेको दीर्घकालीन लगानीको प्रतिफल पनि पाइरहेको छ । 

गत वर्ष काठमाडौंमा सिनियर महिला साफ च्याम्पियनसिपमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि उचालेको थियो । साथै, हालै ऊ ऐतिहासिक प्रदर्शन गर्दै पहिलोपटक एसियन कपमा छनोट भयो ।

बंगलादेशको उमेर समूहको टिमहरूले पनि पछिल्लो समय लगातार प्रभावशाली प्रदर्शन गर्दै उपाधि जितिरहेका छन् । यता उमेर समूहको प्रतियोगितामा नेपालको प्रगति भने ठिकविपरीत छ । 

विगतमा बंगलादेश, भुटान, माल्दिभ्सलाई सहजै हराउने नेपाललाई हाल यी टिमविरुद्ध जित निकाल्न ठूलो संघर्ष गर्नु परेको छ । नेपालसामु आसन्न प्रतियोगितामा आफ्नो विगतको शाख फर्काउने मौका छ । नेपाली टिम करिब ४५ दिनको तयारीमा साफ खेल्न लागेको हो ।

सुर्खेत, झापा र काठमाडौंमा चरणबद्धरूपमा खेलाडी छनोट गरी पहिलो चरणमा ६० खेलाडीको क्लोज क्याम्प राखिएको थियो । उत्कृष्ट प्रदर्शन गरेको आधारमा २३ खेलाडी छनोट गरेर टिम बनाइएको छ ।  

‘खेलाडी छनोटदेखि टोली निर्माणसम्म निरन्तर अभ्यासमा राख्यौँ । डेढ महिनाभित्र हामीले एउटा प्रतिस्पर्धात्मक टोली तयार गरेका छौँ,’ मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले भनेका छन् ।

टिममा विगतको यू–१९ साफ च्याम्पियनसिप खेलेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ । तीनजना नयाँ अनुहार र यू–१५ तथा यू–१७ का उत्कृष्ट खेलाडीलाई पनि समावेश गरिएको छ । टिमको नेतृत्व बिर्सना चौधरीले गर्ने छिन् ।  

आसन्न साफ च्याम्पियनसिप नेपालका लागि केवल क्षेत्रीय उपाधि जित्ने अवसर मात्र होइन, आगामी एएफसी यू–२० महिला एसियन कप छनोटका लागि तयारीको महत्त्वपूर्ण चरण पनि हो ।

अगस्टमा आयोजना हुन लागेको उक्त छनोट प्रतियोगितामा नेपालले उत्तर कोरिया, मंगोलिया, साउदी अरेबिया र आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सोही कारण साफ च्याम्पियनसिपलाई नेपाली टोलीले एक अभ्यास मैदानको रूपमा मात्र नभइ मनोबल बढाउने र टोलीमा सामूहिक तालमेल स्थापित गर्ने महत्वपूर्ण मौका मानेको छ । 

यो प्रतियोगिता नेपाली महिला फुटबलको भविष्य निर्माणतर्फ एउटा महत्वपूर्ण मोड बन्ने अपेक्षा पनि गरिएको छ ।   

  • प्रकाशित मिति : २५ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया