१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

शेख हसिनाको त्यो आदेश र डेढ हजार प्रदर्शनकारीको चिहान

बंगलादेशको राजनीति पुनः एक पटक चर्चामा आएको छ । अघिल्लो वर्षमा राज्यद्वारा भएको दमन र सत्ता मात्रै होइन देश नै छाड्नु परेकी शेख हसिनाबारे त्यो बेला खेलेको भूमिकामाथि कयौँ प्रश्न उठिरहेका छन् । 


बिबिसीको आई इन्भेस्टिगेसन टोलीले विश्लेषण गरेको एउटा अडियो रेकर्डिङले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दिएको घातक निर्देशनकै कारण सन् २०२४ जुलाई र अगस्टको बीचमा झण्डै डेढ हजार अर्थात् एक हजार ४०० मानिस मारिएका दाबी गरिएको छ । 



मार्च महिनामा अनलाइनमा सार्वजनिक भएको फोन संवादको अडिओ रेकर्डिङमा हसिनाको आवाज स्पष्ट सुनिएको दाबी गरिएको छ । उक्त अडिओमा हसिनाले सुरक्षाकर्मीहरूलाई हसिनाले ‘घातक हतियार प्रयोग गर्न’ र ‘प्रदर्शनकारीहरू जहाँ देखिए पनि गोली हान्ने’ निर्देशन दिएको सुनिएको भनिएको छ । जसले सत्ता जोगाउन गरिएको सम्भावित युद्ध अपराध भएको टिप्पणी भइरहेको हो । 

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार, २०२४ जुलाई र अगस्टको बीचमा सबैभन्दा बढी प्रदर्शनकारीको हत्या भएको थियो । तीमध्ये धेरैजसो विद्यार्थी थिए, जसले सरकारी सार्वजनिक क्षेत्रको जागिरमा विद्यमान कोटा प्रणालीको विरोधमा आन्दोलन चर्काएका थिए। आन्दोलनको स्वरूप शान्तिपूर्णबाट उग्र बन्दै जाँदा, राज्यले त्यसलाई दबाउने बाटो रोज्यो । बिबिसीको अनुसन्धान अनुसार, त्यसको आदेश देशकै शीर्ष नेतृत्वबाट अर्थात् हसिनाबाटै आएको थियो।



यो अडियो अहिले अन्तर्राष्ट्रिय अभियोजन पक्षको मुख्य प्रमाण बनेको छ। अडियोको भाषा, आवाज र सन्देशबारे अडियो फरेन्सिक विशेषज्ञहरूले गहिरो परीक्षण गर्दा निष्कर्ष निकाले कि, न त यो कृत्रिम रूपमा बनाइएको देखिन्छ, न सम्पादित । यसरी, प्रमाणको प्रामाणिकता अझ बलियो देखिन्छ । खासमा हसिना र नाम नखुलाइएका एक वरिष्ठ सरकारी अधिकारीबीच भएको उक्त फोन संवादको अडिओ नै हसिनाले सरकार विरोधी प्रदर्शनकारीलाई गोली हान्न आदेश दिएको देखिने अहिलेसम्म प्राप्त सबैभन्दा महत्त्वपूर्ण प्रमाण हो।

हसिना त्यस बेलाको विद्रोहको चरम अवस्थामा छिमेकी भारत भागेकी गरेकी थिइन् । ढाका फर्कन उच्च अदालतले दिएको आदेशको अवज्ञा गर्दै उनी देश बाहिरै लुकिरहेकी छन् । उनी अनुपस्थित रहँदा, जुन १ बाट ढाकामा मानवीय अपराधसम्बन्धी मुद्दा सुरु भएको हो ।  सत्ता जोगाउन हसिनाले हत्या हिंसा र बन्दुकको सहारा खोज्नु नै उनको राजनीतिक र नैतिक आधार ध्वस्त हुने प्रमाण हो । 

हसिनाको नेतृत्वमा रहेको अवामी लिग पार्टी, जुन अहिले प्रतिबन्धित छ, उसले त्यो दोष बोक्न चाहिरहेको छैन। पार्टीको भनाइ अनुसार, केही सुरक्षाकर्मीबीचको असन्तुलनका कारण ठूलो मात्रामा जनधनको क्षति भएको हो । तर यो दाबी अब कमजोर बन्न पुगेको छ, किनकि प्रमाण स्वरूप सार्वजनिक भएको अडियोमा, नेतृकै आवाजमा हिंसाको निर्देशन सुनिएको भनिएको छ ।  

हसिना पहिले नै २ जुलाईमा छुट्टै मुद्दामा अदालतको अवहेलनामा दोषी ठहर भइसकेकी छन् । त्यसबेला उनलाई ६ महिनाको सजाय सुनाइएको थियो । अडियो विश्लेषणपछि सवाल केवल एउटी नेतृमाथि होइन, राज्यको चरित्रमाथि उठिरहेको छ । जहाँ मुलुकको नेतृत्वकर्ता नै शान्तिपूर्ण आन्दोलनलाई सुरक्षा बलले ‘शत्रु’ ठानेर दमन गर्छ, अनि देश छाडेर विदेशमा लुक्छ । 



हसिनाले सरकार विरोधी विद्यार्थी आन्दोलनमाथि घातक बल प्रयोग गर्न स्वयम् आदेश दिएको पुष्टि हुने बिबिसीले विश्लेषण गरेको अडिओ सार्वजनिक भएपछि बङ्गलादेशको सत्ता/शासकमाथि विश्वसनीयता र शासकीय नैतिकतामाथि नै गम्भीर प्रश्नमा उठेको छ । 

उक्त अडिओ अब मानवताविरुद्धको अपराध मुद्दाको प्रमुख प्रमाण बन्नेछ, जसले हसिनाको लामो सत्ता यात्राको अन्त्य त भइसकेको छ, दक्षिण एसियामा सत्ताको नाममा गरिएको राज्य दमनको झन् गहिरो उदाहरण बन्नेछ । यस घटनाले शासकहरूको जबाफदेहिता, सुरक्षा संयन्त्रको राजनीतिक उपयोग र जनताको अधिकारमाथिको हस्तक्षेपबारे अन्तर्राष्ट्रिय स्तरमै चासो बढाएको छ ।  

  • प्रकाशित मिति : २५ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया