२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपाली सेना : बन्यो विपद्को सहारा

नेपाल–चीन सीमाना हुँदै बग्ने लेन्दे खोलाले २४ असार राती ३ बजे अध्यारोमा उग्ररूप लियो । उर्लिएर आएको खोलासँगै भोटेकोशी नदीले बितण्डा नै मच्चायो । हाइड्रो पावरको हब मानिने रसुवा तहसनहस हुनपुग्यो । बाढीले कैयौँ भौतिक संरचना बगाएर लग्यो । मितेरी पुल भत्किँदा चीनसँगको सडक सम्बन्ध टुट्यो । स्याफ्रुबेसी–टिमुरे सडक खण्डको पनि बेहाल उस्तै छ । कैयौँ ठाउँमा बाटोघाटो अवरुद्ध हुन पुगेको हो । 


तर, एकदिन अघि केरुङको रुप अर्कै थियो । नाकामा चहलपहल थियो । अहिले बाढीको वितण्डाले भोटेकोशीले किनारलाई बगरमात्रै बनाएन, ठूलै मानविय क्षति पनि गरेको छ । यो सामाग्री तयार गर्दासम्म ५ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने २० जना अझै बेपत्ता छन् । 



तर, यही बाढीको चपेटामा परेर ‘झण्डै ज्यान गुमाएका’ पाल्देन तामाङ र मंगली तामाङको जोडीले भने नयाँ जीवन पाएका छन् । अहिले उनीहरू भनिरहेका छन्, धन्यवाद नेपाली सेना !

सेनाको हेलिकोप्टर अचानक आकाशमा ‘भगवान’को अवतारको रुपमा आयो । सेनाको हेलिकोप्टर पाइलट सहित आएका साहसी सिपाहीहरूको संयुक्त र सुझबुझपूर्ण प्रयासले  ६७ वर्षका पाल्देन र ६२ वर्षकी उनकी पत्नी मंगलीको ज्यान जोगियो । 



नुवाकोट विदुरका बासिन्दा यो जोडी भान्साको मेलोमेसो मिलाउन बिहान झिसमिसेमै ओछ्यान छाडे । दाउराको जोहो गर्न बिहान साढे ५ बजे घरनजिकै रहेको त्रिशुली नदीतिर डोको बोकेर लागिन, मंगली । उनलाई पछ्याउदै गए, श्रीमान पाल्देन । दुवैजना नदीमा पुगेर दाउरा खोज्दै गर्दा अकस्मात बाढीको भेल आयो । 

बाढी बेजोडले बढ्दै गयो । स्वभाविक थियो, यो दम्पतीलाई के गरौं, कसो गरौं भइ त गयो । 

ओरिपरि बाढी सुसाएर बगिरहँदा छेउमै थियो, सिसौको रूख । ‘डुब्नेलाई परालको त्यान्द्रो सहारा’ भनेजस्तै बडेमाको यो रुख जीवन बाँच्ने अन्तिम आधार थियो ।

दुवै जना रुखमा चढे । सकि नसकि आड लिइरहे । केही बेरको भरोसा बन्यो रुख । 



यो जोडी बाढीको चपेटामा परेको परिवारले थाहा पाइसकेको थियो । नदी वारी परिवारजन हार–गुहार गरिरहेका थिए । रुवाबासी हुने भइनै हाल्यो । 

पाल्देन दम्पत्तिले के गर्ने, कसो गर्ने कसैले मेसो पाउनै सकेन । रुखमा बसेको पनि झण्डै तीन घण्टा हुन थालिसकेको थियो । 

बाढीले बिचल्लीमा परेकाहरुलाई उद्घार गर्न काठमाडौंबाट रसुवा–नुवाकोट उडिरहेको सेनाको हेलिकप्टर त्रिशुली नदीमाथि देखियो, जहाँ तामाङ दम्पती  रुख चढेर ज्यान जोडाइदिन आफ्नो ईश्वरसँग प्रार्थना गरिरहेका थिए । 

हेलिकोप्टरमा रहेको सेनाको टिमले तामाङ दम्पतीको सकुशल उद्धार गर्यो । उनीहरूलाई अलि माथि ओभानो ठाउँमा ओराल्यो । लगत्तै सेनाको अर्को टिमले सेनाको गणमा लगेर केही बेर आराम गरायो । उनीहरुलाई सामान्य स्थितीमा ल्याएपछि अस्पताल पुर्याइयो । 

अस्पतालबाट सामान्य परिक्षणपछि यो दम्पती आफ्नो घर पुग्यो ।  

अनि पाल्देनले जीवन र मुत्युबीच झुलेको त्यो तीन घण्टाको सकसको सार सुनाए ‘बाँचिएला भन्ने लागेको थिएन, नयाँ जीवन पाइयो ।’

संयोग पनि कस्तो भने, त्यही दिन मंगलीको ६२ औं जन्मदिन थियो ।

यस्तै अर्को कथा हो–रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा रहेको रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुको । जसलाई सेनाको हेलिकप्टर टिमले बाढीको वितण्डाबाट जोगाएर सकुशल उद्घार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्यो । यहाँ यदि सेनाको हेलिकप्टर टिम समयमै नपुगेको भए, जे पनि हुनसक्थ्यो । तर त्यसो हुन पाएन । 

बाढी आएको खबर पाउनासाथ मंगलबार बिहानदेखि तिरन्तर बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा सेना उद्धार कार्यमा खटिएको छ । ‘रसुवा जिल्लास्थित नेपाल–चीन सिमानामा बग्ने लेन्दे खोलामा असार २४ गते आएको बाढीको कारण सम्पर्क विहीन रहेका व्यक्तिहरूको खोज तथा उद्धार जारी छ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,‘स्याफ्रुबेसी–टिमुरे सडक खण्डको विभिन्न स्थानहरूमा गएको पहिरो हटाउने कार्यको लागि नेपाली सेनाको टोली रसुवा र नुवाकोटका विभिन्न इलाकामा खट्टिएको छ ।’

रसुवामा नेपाली सेना, श्रीनाथ गणबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहभागितामा टिमुरेमा फसेका ब्यक्तिहरुको सकुशल उद्धार गर्यो । सेनाको दुईवटा हेलिकप्टर रुसमा बनेको एनए–०३८ एमआइ र  फ्रान्समा बनेको इक्वेरल हेलिकप्टर बिहानदेखि साँझसम्म निरन्तर खटेको छ । 

अर्कोतिर  सेनाको धादिङ्ग स्थित ६ नम्बर बाहिनी अड्डाबाट गल्छी हुँदै त्रिशुलीतर्फ र रसुवास्थित श्रीनाथ गणबाट स्याफ्रुवेशीतर्फ बाढीका कारण सम्पर्कविहिन भएका व्यक्तिहरुको खोज तथा उद्धार कार्यको लागि थप फौज खटिएको छ ।
हालसम्म उक्त बाढीबाट २० जना (नेपाल प्रहरी–३ जना, नेपाली कामदार–६ जना, ड्राईभर–५ जना र चिनियाँ नागरिकहरू ६ जना) बेपत्ता र सम्पर्क विहीन भएका छन् भने परिचय नखुलेका ५ वटा शव तथा शरीरका भागहरू फेला परेको छ ।

रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली तथा नारायणी नदीसम्म सेनाले अन्य सुरक्षा निकाय तथा स्थानीयसंगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ चितवन तथा नवलपरासीसम्मका नदी किनार क्षेत्रमा खोजी थालेको छ ।

बाढीले ६४ वटा सवारीसाधन, मितेरी पुल र कतैकतै सडकनै बगाएको छ । जलविद्युत आयोजनामा ठुलो भौतिक क्षति भएको छ । रसुवागढी चीनसंग जोडिएको सिमा नाका र ब्यापारिक मार्ग पनि हो । यसको प्रभाव नेपाली तथा चिनिया बजारमा पनि पर्ने छ । यातायात सहज हुन नपाउँदा आयात–निर्यात प्रभावित हुने छ ।

बाढीका कारण यकीन भइसकेको छैन । तर मौसमविद्हरुले चीनको तिब्बतमा रहेको हिम ताल फुटेर बाढी आएको हुनसक्ने अनुमान गरेका छन् । यसको अनुसन्धान भइरहेको छ । मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले बाढीका कारण पत्ता लगाउन अध्ययन भइरहेको बताउँछन । भन्छन्,‘ठुलो पानी नपर्दा पनि यसरी बाढी आएकाले हामी अनुसन्धानमा जुटेका छौं ।’

  • प्रकाशित मिति : २५ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया