१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

टी-२० विश्वकप छनोट : नेपालका प्रतिद्वन्द्वी कति बलियो ?

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ ।


सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुने टी–२० विश्वकपका लागि यो छनोट प्रतियोगिता महत्वपूर्ण मौका हो । अक्टोबर ८ देखि १७ सम्म चल्ने प्रतियोगितामा ९ टोली सहभागी हुनेछन्, जसमा तीन टिमले सिधा छनोटबाट र बाँकी छ टोलीले उप–क्षेत्रीय छनोट पार गर्दै स्थान बनाएका हुन् ।



ओमानको अल अमेरात क्रिकेट मैदान

प्रतियोगितामा आयोजक ओमानसहित नेपाल र पपुवा न्यू गिनी सिधै छनोट भएका टोली हुन् । कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआ गरी ६ टिमले यसअघि भएका उप–क्षेत्रीय छनोट प्रतियोगिता पार गरेर मुख्य चरण खेल्ने तयारीमा छन् ।



यी ९ टिममध्ये ओमान, नेपाल, पपुवा न्यू गिनी र यूएईले यसअघि नै टी–२० विश्वकप खेलिसकेका छन्, जसले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर उच्च रहने संकेत गर्छ ।

९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तुलनात्मकरूपमा नेपालले आफूभन्दा कमजोर प्रतिद्वन्द्वी पाएको छ । तर, टी–२० क्रिकेटमा पटकपटक अप्रत्यासित नतिजा देखिएको यथार्थलाई आत्मसाथ गर्दै नेपालले हरेक खेल सजग भएर खेल्नुपर्नेछ ।

नेपालले गत अप्रिलमा त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा कुवेतसँग तीन रनको हार बेहोरेको थियो । त्यो नतिजाले अब कुवेत पनि बलियो बनेको संकेत दियो । ताजा आइसिसी टी–२० वरीयतामा नेपाल १८औँ र कुवेत २३औँ स्थानमा छ । नेपालकै समूह रहेको जापान क्रिकेटमा माथि उठ्न संघर्ष गरिरहेको छ । ऊ हाल टी–२० वरीयताको ४३औँ स्थानमा छ । 



यस्तै, विश्वकप छनोटको समूह ‘ए’ मा यूएई, मलेसिया र कतार तथा समूह ‘सी’ मा आयोजक ओमान, पपुवा न्यू गिनी र सामोआ रहेका छन् । तीनवटै समूहबाट शीर्ष दुई टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्ने छन् ।

सुपर सिक्स चरण अक्टोबर १२ देखि १७ सम्म चल्नेछ । त्यहाँबाट उत्कृष्ट तीन टोलीले सन् २०२६ को टी–२० विश्वकपमा स्थान बनाउने छन् । यस अर्थमा सुपर सिक्स चरण नै विश्वकप प्रवेशको निर्णायक बन्नेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा ८ अक्टोबरमा कुवेतको सामना गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल १० अक्टोबरमा जापानसँग खेल्ने तालिका छ । दुवै खेल समूह चरणबाट अगाडि बढ्नका लागि निर्णायक हुनेछन् ।

पछिल्लो केही महिनायता नेपाली टिमले फेरि लयमा फर्किएको संकेत देखाएको छ । र, नेपाल सोही लय जारी राख्दै तेस्रोपटक विश्वकपमा स्थान बनाउने योजनामा छ ।

विशेषतः अगस्टमा अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता नेपाली टिमका लागि राम्रो अनुभव हुनेछ, जहाँ नेपाल प्रतिस्पर्धातमक टिमहरूसँग भिड्नेछ ।

नर्दन टेरिटोरी स्ट्राइकर्स, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबर्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान साहिन्सजस्ता उच्चस्तरीय टिमहरूसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीको मनोबल, रणनीति र अन्तर्राष्ट्रिय स्तरको दबाबमा प्रदर्शन गर्ने क्षमतालाई सुदृढ बनाउनेछ ।

यी अभ्यास खेल केवल ‘तयारी’ मात्र नभइ नेपालले विश्वकप छनोटका लागि आवश्यक लय निर्माण गर्ने आधार बन्न सक्छन् । नेपालले आफ्नो लय, संयोजन र मानसिक तयारी यिनै प्रतियोगिता र अभ्यासका माध्यमबाट सुनिश्चित गर्न सके विश्वकप छनोटमा सफलताको ढोका अझ फराकिलो हुनसक्छ । 

  • प्रकाशित मिति : २६ असार, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया