प्यालेस्टिनी समूह हमासले इजरायली सेनाले गाजाबाट फौज फिर्ता नगरेसम्म कुनै पनि युद्धविराम सम्भव नहुने स्पष्ट पारेको छ । हमासले गाजामा इजरायली सेना उपस्थित रहेको अवस्थामा स्थायी वा अस्थायी युद्धविराम सम्झौता स्वीकार्य नहुने जनाएको हो ।
कतारको राजधानी दोहामा आइतबारदेखि हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता जारी छ । वार्तामा कतार र संयुक्त राज्य अमेरिका मध्यस्थकर्ता रहेका छन् । अमेरिकाले पछिल्लो समय युद्धविरामका लागि सकारात्मक संकेत देखिएको र आगामी दिनमा कम्तीमा ६० दिन लामो युद्धविराम सम्भव हुने विश्वास व्यक्त गरेको छ । तर, हमासले इजरायली सेना गाजाबाट पूर्णरूपमा नफर्केसम्म वार्ता कुनै निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पारेको हो ।
हमासका वरिष्ठ नेताहरूले इजरायली फौजले गाजाको राफा, खान युनिस र मोराग करिडोर क्षेत्रमाथि नियन्त्रण जमाइरहेको र यस्ता गतिविधि शान्ति प्रयाससँग प्रतिकूल भएको बताएका छन् ।
हमासका वरिष्ठ अधिकारी बासेम नइमले अन्तर्राष्ट्रिय सञ्चार संस्था एएफपीसँगको कुराकानीमा भने, ‘हामी हाम्रो भूमिमा कब्जा स्वीकार गर्दैनौँ । गाजामा इजरायली सेना रहँदैमा युद्धविरामको कुनै औचित्य रहँदैन ।’
उनका अनुसार दोहामा जारी वार्तामा हमासले यही प्रस्ताव र अडान राख्दै आएको छ । नइमले इजरायली सैन्य गतिविधि बन्द नगरी कुनै पनि सम्झौता सम्भव नहुने स्पष्ट पारेका छन् ।
‘हामी इजरायली नियन्त्रणमा गएका गाजाका इलाकाहरूमा आत्मसमर्पण गर्न सक्दैनौँ,’ उनले भने, ‘वास्तविक युद्धविराम भनेको गाजाबाट इजरायली फौजको पूर्ण फिर्ता र प्यालेस्टिनी भूमिमा स्वतन्त्र सहायता आपूर्तिको सुनिश्चितता हो ।’
हमासले ७ अक्टोबर सन् २०२३ मा इजरायली भूमिमा गरेको आक्रमणमा संलग्न भन्दै पक्राउ परेका आफ्ना १० जना सदस्यको सट्टा बन्दी बनाएका इजरायलीलाई रिहा गर्न सहमत भएको जनाएको छ । यद्यपि यसलाई स्थायी समाधानका लागि सकारात्मक प्रारम्भ मानिए पनि हमासको अडान गम्भीर रहेको विश्लेषकले जनाएका छन् ।
यसैबीच, बिहीबार इजरायली आक्रमणमा फेरि पनि गाजा रक्तरञ्जित भएको छ । मध्य गाजाको देइर अल–बलाहस्थित एक मेडिकल प्वाइन्टमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन् । तीमध्ये आठ जना बालबालिका रहेको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।
मानवीय सहायता खुम्चिँदै
हमासले अमेरिका र इजरायलको समर्थनमा सञ्चालित केही अन्तर्राष्ट्रिय सहायता संयन्त्रले हाल गाजामा पुर्याइरहेको सीमित राहतलाई पनि अन्त्य गर्न खोजिएको आरोप लगाएको छ । ‘सहायताको स्वतन्त्र प्रवाह रोकिँदै छ, जुन युद्धविरामका लागि बाधक हो’, हमासले भनेको छ ।
इजरायली पक्ष भने गाजाबाट हमासको ‘पूर्ण उन्मूलन’ नभएसम्म सैनिक कार्य सञ्चालन जारी राखिने अडानमा उभिएको छ । यस युद्धमा हजारौं नागरिकको ज्यान गइसकेको छ, लाखौँ विस्थापित छन् । गाजा मानवीय सङ्कटको चरम अवस्थामा पुगेको छ ।
अन्तर्राष्ट्रिय समुदायको दबाब
संयुक्त राष्ट्रसंघ, युरोपेली संघ लगायतका अन्तर्राष्ट्रिय निकायले हाल गाजामा युद्धविरामको आवश्यकता अत्यावश्यक भइसकेको बताउँदै वार्तालाई सकारात्मक रूपमा अघि बढाउन आग्रह गर्दै आएका छन् । तर, हमासको अडानले इजरायली सैन्य फिर्ता नभएसम्म सम्झौता टुंगिने देखिन्न । इजरायल पनि हमासमाथिको ‘दबाब रणनीति’लाई नै वार्ताको मूल सर्त बनाइरहेको छ ।
गाजामा शान्तिको सम्भावना अझै टाढा देखिन्छ । तथापि कूटनीतिक वार्ता, अन्तर्राष्ट्रिय दबाबले दुवै पक्षलाई सम्झौताको दिशातर्फ अघि बढ्न बाध्य पार्न सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।