आफूलाई लोकतान्त्रिक भन्ने दल नेपाली कांग्रेसले बेलाबेला अलोकतान्त्रिक काम गर्छ भनेर त्यही दलका नेताहरुले आलोचना गर्ने गर्छन् । लोकतान्त्रिक दलमा लोकतान्त्रिक चरित्र हुनुपर्छ, विधि र विधानलाई प्रमुख बनाइनुपर्छ । तर त्यही दलले विधि र विधान मिच्दै गयो भने के त्यो लोकतान्त्रिक दल बन्न सक्ला त ?
अहिले नेपाली कांग्रेसमा यी र यस्तै विषयको बहस सतहमा छ । बुधबार कांग्रेसको अनुशासन समितिले एकैपटक १८ जनाविरुद्ध कारबाहीको डण्डा चलायो । जसमा पूर्वमन्त्री, महाममिति सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति मात्रै छैनन् तल्लो तहमा बसेर काम गर्ने क्रियाशील सदस्यहरु समेत छन् । कारण देखाइएको छ, पार्टीभित्र अन्तर्घात भयो भन्ने । फेरि कांग्रेस र अन्तर्घात एकअर्काका परिपुरक जस्तै देखिन्छन् निर्वाचनका बेला, यो पनि अरुले भनेको कुरा होइन स्वंय कांग्रेसकै नेता कार्यकर्ताहरुले भन्ने गरेको कुरा हो ।
नेपाली कांग्रेसको विधान अनुसार पार्टीमा अवान्छित गतिविधि गरेमा त्यसलाई कारबाही गर्नसक्ने प्रावधान रहेको छ । जसको लागि विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्ने अन्यथा त्यो त्यतिकै निष्कृय हुने समेत उल्लेख छ । तर संघ र प्रदेशको निर्वाचन भएको साढे २ वर्ष, स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितेपछि कारबाहीको डण्डा चलाइयो, यसले कांग्रेसभित्र बहस मात्रै सिर्जना गरेको छैन, तरंग नै ल्याएको छ ।
अर्को कुरा, कांग्रेसभित्रको गुटगत राजनीति समेत त्यहाँ हाबी भएको संस्थापन इतरका नेताहरुको आरोप रहेको छ ।
बुधबार पार्टीले कारबाहीको डण्डा चलाएपछि बिहीबार नै संस्थापन इतरको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाले छलफल गर्नु उचित ठाँने । आफू निकटका नेताहरुलाई आफ्नो सचिवालयमा बोलाएर डा. कोइरालाले छलफल गरे । बैठकको निष्कर्ष निस्कियो, ‘कारबाही पूर्वाग्रही, अन्यायपूर्ण र गुटगत राजनीतिको छाँया बन्यो ।’
संस्थापनलाई माया गर्ने धारले ‘खुच्चिङ’ भनिरहँदा इतर पक्षले ‘प्रतिशोध, पूर्वाग्रह’ देखिरहेको छ । तर आफूखुसी निर्णय गरेर विचार र शिद्धान्त नै नमिल्नेसँग गठबन्धन गर्ने अनि तल्लो तहका कार्यकर्ताहरुले आफ्नै पार्टीमा मत हाल्न पाउनुपर्यो भन्दा कारबाही ? यो अहिले आम प्रश्न बनेर उभिएको छ सानेपाको आँगनमा ।
अझ कतिपयले त आगामी ०८४ को निर्वाचन, आगामी महाधिवेशनलाई समेत लक्षित गरेर संस्थापन इतरका नेताहरुमाथि छानीछानी कारबाही गरिएको आशंका गरेका छन् ।
कारबाही प्रकरणले कांग्रेस दुई धारमा उभिएको छ । संस्थापनलाई माया गर्ने धारले ‘खुच्चिङ’ भनिरहँदा इतर पक्षले ‘प्रतिशोध, पूर्वाग्रह’ देखिरहेको छ । तर आफूखुसी निर्णय गरेर विचार र शिद्धान्त नै नमिल्नेसँग गठबन्धन गर्ने अनि तल्लो तहका कार्यकर्ताहरुले आफ्नै पार्टीमा मत हाल्न पाउनुपर्यो भन्दा कारबाही ? यो अहिले आम प्रश्न बनेर उभिएको छ सानेपाको आँगनमा ।
बिहीबार डा. कोइराला निवासमा भेटिएका पार्टीबाट निष्काशनमा परेका नेपाली कांग्रेसका खोटाङका सभापति विष्णुकुमार राईको दुखेसो पनि त्यही छ । जब संघ, प्रदेश र स्थानीय तह निर्वाचन हुन लाग्यो, तब पार्टीले गठबन्धन गर्ने निर्णय गर्दा सिंगो जिल्ला नै त्यसको विपक्षमा देखियो, यानेकी रुखमा नै मत हाल्न पाउनुपर्ने पक्षमा देखियो ।
खोटाङ कांग्रेसले आफूहरु गठबन्धन नगर्ने पक्षमा रहेको कुरा सुनाउन कांग्रेस नेतृत्वलाई कुरा सुनाउन आउँदा ढोका बन्द गरिएपछि आफूहरुले विद्रोह गरेरै कांग्रेसकै उम्मेदवारलाई मत मागेको स्वीकार गर्छन् ।
त्यसो त कांग्रेसमा तीनै तहको निर्वाचनमा गुटगत प्रभाव, अन्तर्घात र एकले अर्कोलाई सिध्याउने खेललाई त्यती नौलो मानिँदैन । तर आफूहरुको मनोभावना नै नबुझी गरिएको निर्णयमा सती जान नसक्ने स्वनिर्णय गरेका कार्यकर्तामाथि निरन्तर डण्डा चलाइएकै छ । तर न नेतृत्वले गठबन्धन संस्कृती पार्टीमा भित्र्याउँदा परेको असर र तल्लो तहका कार्यकर्ताहरुको कुँडिएको मन नै बुझ्ने कोसिस गरेको छ ।
नत ‘रुख’ चिह्नलाई आफ्नो प्राण सम्झिने कांग्रेसका कार्यकर्ताहरुले ‘रुख’ मा नै मत हाल्न पाउनुपर्यो भनेर गरिएको आलापको अन्तर्य नेतृत्वले बुझ्न सकेको छ ।
अहिले अन्तर्घात भएको भन्दै चलाइएको डण्डाले अन्तर्घात रोकिन्छ कि पुनः थप आक्रोश र विद्रोह जन्मिन्छ, त्यो भने हेर्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।