लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका श्रीराम पौडेल र चर्चित गायिका पूर्णकला बिसीको स्वरमा ‘आँखा सन्काइ सन्काइ’ बोलको तीज गीत सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा रिलिज गीतको भिडिओमा गायक पौडेल स्वयंका साथमा मोडल सारीका केसीलगायतले अभिनय गरेका छन्।
विनोद बाजुरेलीको सङ्गीत संयोजनमा रेकर्ड भएको यो गीतमा शब्द दीपेन्द्र खड्का तथा सङ्गीत नेत्र भण्डारीको हो। श्रीराम पौडेलको यो गायनका हिसाबले चौथो गीत हो। उनले यसअघि केही म्युजिक भिडिओमा अभिनय गरेका थिए ।
गीत सार्वजनिक गर्दै गायक तथा मोडल पौडेलले भने, ‘आजको गतिशीलताले भोलिको भविष्य निर्माण गर्छ । त्यसैले गतिशील जीवन जिउनुपर्छ भन्ने लाग्छ। अर्को क्षेत्रमा काम गरिरहँदा साङ्गीतिक क्षेत्रमा पनि केही गरौँ भन्ने सोचले गीत सङ्गीतको क्षेत्रमा काम गरेको हुँ।’

‘आँखा सन्काइ सन्काइ’ गीतको भिडिओ निर्देशन स्मृति तिमल्सीना (गुरुआमा) ले गरेकी हुन् । राजेश घिमिरेको छायाङ्कन रहेको भिडिओलाई नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।
गीतका गायक तथा मोडल श्रीराम पौडेलले अन्य गीत पनि ल्याउने तयारी गरिरहेका छन्। पञ्चेबाजा, सुदूर पश्चिमको भाका र कौरा गीत रेकर्ड भइसकेको र छिट्टै सार्वजनिक हुने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।