१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

किन आवश्यक छ जनसङ्ख्या अध्ययन ?

जनसङ्ख्यामा गतिशील प्रजनन क्षमता जन्म, मृत्यु र बसाइसराइले विकासका हरेक पूर्वाधारमा प्रभाव पारेका हुन्छन् । जनसङ्ख्या गतिशीलता भनेको जनसङ्ख्याको समग्र संरचनागत पक्षले विकासका हरेक तहमा प्रभाव पार्छ । जनसङ्ख्या बढ्नु भनेको विकासका स्रोतहरूको उपयोग गर्नुपर्ने बाध्यता बढ्नु हो र स्रोतहरूलाई परिचालित गर्दा जनसङ्ख्याको आकारका बारेमा अध्ययन गर्न जरुरी छ । जनसङ्ख्याको आकारसँगै वितरणको कुरा पनि आउँछ । अहिले जनसङ्ख्या गाउँमा भन्दा सहरमा बढी छ । सहरमा स्रोतहरूको उपभोग बढी छ । गाउँमा कम छ । सहरमा स्रोत हुँदैन गाउँबाट ल्याइएका हुन्छन् । यसले जनसङ्ख्याको वितरणको तरिकामा ठुलो प्रभाव पार्छ ।


जनसङ्ख्याको संरचनागत पक्षलाई भूगोलले पनि प्रभाव पार्छ । समथर भू–भागमा मानिसहरूको बसाइ बढी हुन्छ । पहाडी भू–भाग र भिरालो जमिनमा मानिसहरू कम बस्छन् । यी कुराहरू जनसङ्ख्या र विकास सिधै ठोकिने कुरा हुन् । जन्म, मृत्यु, बसाइसराइले संरचनागत पक्षमा प्रभाव पार्छ र संरचनाको पक्षसँग गाँसिएर विकासमा प्रत्येक तहहरूमा त्यसको प्रभाव रहेको हुन्छ । हामीले विकासका लागि नीति बनाउँछौ । प्रमाणमा आधारित नीति बनाउन जनसङ्ख्याको संरचनागत पक्ष चाहिन्छ ।



प्रमाणमा आधारित नीति बनाउने प्रक्रियामा जनसङ्ख्याको वास्तविक तथ्यङ्क कहाँ, कति मान्छे बसेको छन् भन्नेबारे जानकारी हुनुपर्छ । जनसङ्ख्याको तथ्यसङ हेर्दा उमेरगत, लैगिङ्गक संरचना, भौगोलिक वितरणलाई ध्यान दिने गर्छौँ । बस्तीको कुरा गर्दा सहरी बस्ती, ग्रामीण बस्ती, अर्ध–सहरी जस्ता संरचनागत पक्षलाई अध्ययन गरेर प्रमाणमा आधारित नीति बनाउन सहयोग गर्छ ।

त्यसैले जनसङ्ख्या अध्ययनले नीति बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने कुरा भुल्न भएन । जनसङ्ख्या अध्ययन किन गर्ने भन्दा प्रमाणमा आधारित नीति बनाउन यो विषय छनोट गरेर पढ्ने हो । राष्ट्रिय तहमा जनसङ्ख्याका थुप्रै चुनौतीहरू छन् । नेपालको सन्दर्भमा युवा पलायन भएका छन् यो सकारात्मक होइन । ती युवालाई स्वदेशकै स्रोत परिचालन गरेर रोक्न सक्नुपर्छ । अरू मुलुकले हाम्रा युवालाई प्रयोग गरेर विकाससहित आय आर्जन राम्रो गरिरहेका छन् । त्यस्तो हामीले पनि यही गर्न सक्थ्यौँ । अर्को चुनौती भनेको बुढ्यौलीपन पनि हो । यस्तो तीव्र रूपमा नेपालका बढिरहेको छ ।



बुढ्यौली जनसङ्ख्याबाट विश्वका धेरै देशले अनुभव हासिल गरेका छन् प्रगति गरेका छन् । यस्ता कुरा बुझ्न जनसङ्ख्या अध्ययन गर्नुपर्छ ।

१९९१ मा ५ प्रतिशत भन्दा कम ६० वर्ष भन्दा माथिको बुढ्यौली जनसङ्ख्या थियो भने अहिलेको अन्तिम ०७८ ले १०.२ प्रतिशत बुढ्यौली जनसङ्ख्या पुगेको देखाएको छ । अव राज्यले बुढ्यौली जनसङ्ख्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अवस्था छ । बुढ्यौली जनसङ्ख्याबाट विश्वका धेरै देशले अनुभव हासिल गरेका छन् प्रगति गरेका छन् । यस्ता कुरा बुझ्न जनसङ्ख्या अध्ययन गर्नुपर्छ । अहिले हाम्रो जन्मदर तीव्र रूपमा घटिरहेका छन् । प्रजननमा प्रभाव परिरहेको छ । जन्मदर घट्नु निरन्तर मृत्युदर घटेर जानु र बुढ्यौली उमेर समूहका मानिस बढ्नुले हाम्रो सक्रिय जनसङ्ख्या तीव्र गतिले घट्ने देखिन्छ । यस्ता चुनौतीहरू पनि छन् ।  यस्ता विषयलाई समयमा नै नियन्त्रणमा लिएर समाधान दिन लागिएन भने मुलुकले नराम्रो चुनौती भोग्न बाध्य हुन्छ । यस्तो कुरालाई विशेष ध्यान दिनुपर्छ ।

यस कारण पढ्ने जनसङ्ख्या 

विश्वव्यापी रूपमा दिगो विकासको अवधारणा आएको छ । त्यसमा गरिबी घटाउने, वातावरण सन्तुलित बनाउन पर्यावरणीय जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्ने लगायतका धेरै कुराहरू छन् । विश्वको लक्ष्य प्राप्त गर्नका लागि हामी जनसङ्ख्यामा केन्द्रित हुनुपर्छ । जनसङ्ख्याको विविध पक्षको अध्ययन विना हामीले लक्ष्य प्राप्त गर्न सक्दैनौ । प्रमाणमा आधार भई अगाडि बढ्न जनसङ्ख्या अध्ययन अनिवार्य छ । जनसङ्ख्या र स्वास्थ्यको कुरा गर्दा जनसङ्ख्या र स्वास्थ्यको अन्तरसम्बन्ध हुन्छ । 



सामाजिक पद्धतिसँग जनसङ्ख्याको कस्तो सम्बन्ध रहेको हुन्छ भनेर पाठ्यक्रममा राखेका छौँ । जनसङ्ख्याभित्र बालबालिका, युवा, प्रौढ र बुढ्यौलीको कुरा गर्छौ र त्यसभित्र तिनीहरूले भोगेका कुराहरू समावेश गरिएको छ । त्यसमा स्वास्थ्यसँग सम्बन्धित विषयहरू, युवाहरूको चुनौतीहरूका विषयहरू छन् । त्यसमा सामाजिक व्यवस्थाको तालमेल भएको हुन्छ । यस्ता कुरा हामीले जनसङ्ख्या अध्ययन भित्र बसेर काम गर्नुपर्ने हुन्छ । 

जनसङ्ख्या अध्ययनले अनुसन्धानको प्रक्रियामा पनि बढी महत्त्व दिएको छ । विशेष गरी तथ्याङ्कमा आधारित भएर कसको के आवश्यकता हो त्यसलाई सम्बोधन गर्न अनुसन्धान जरुरी पर्छ । जस्तै, राजनीतिज्ञहरूले आफ्नो जनमत विश्लेषण गर्न, व्यवसायीले उमेर समूहका आधारमा उत्पादनमा जोड दिन सक्छ । जनसङ्ख्या आप्रवासन र बसाइसराइका कुराहरूमा राज्यले वास्तविक तथ्याङ्क प्राप्त गर्न सक्छ । यस्ता अनुसन्धानहरूले जनसङ्ख्या अध्ययन विषयको महत्त्व दर्साउँछ । बाहिरी मुलुकका विकासका साथै अनुभवहरू साटासाट गर्न सकिन्छ । जस्तै चीन र जापानले बुढ्यौली जनसङ्ख्या नियन्त्रण गर्नका लागि गरेका अनुभवहरू हामीलाई काम लाग्न सक्छ । उनीहरूका अनुभवले हामीलाई सहयोग पुर्याउछ । यसका लागि जनसङ्ख्या संरचनागत पक्षको अध्ययन धेरै महत्त्वपूर्ण छ ।

विद्यार्थीको रुचि छ र अवसर पनि

समय सापेक्षित विषयहरू आए पनि जनसङ्ख्या विषय अध्ययन गर्नेको सङ्ख्यामा कमी छैन । देशभरका धेरैजसो कलेजहरूले स्नातक तहमा जनसङ्ख्याको विषय पढाइ रहेका छन् । मास्टर लेभल र एमफीलमा पनि जनसङ्ख्या पढ्नेहरू छन् । उपत्यकाका पाटन बहुमुखी क्याम्पस, आरआर क्याम्पस र पद्मकन्या क्याम्पसमा यो विषय पढनेहरूको कमी छैन । पृथ्वीनाराण क्याम्पस पोखरा, वालिङ, जनकपुर, सिन्धुली, तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुमलगायतका क्षेत्रमा पनि जनसङ्ख्या पढाइ भइरहेको छ ।

अहिले जनसङ्ख्या अध्ययनको महत्वलाई ध्यानमा राखेर सरकारले ७५३ वटा सरकारका स्थानीय निकायहरूमा एक एक जना भए पनि जनसङ्ख्या अध्ययन गरेका विज्ञ राख्नुपर्छ । जसका कारण राज्यले नीति बनाउन, विभिन्न कार्यक्रम गर्नका लागि सहज वातावरण हुन्छ ।

हालैको वर्षमा मास्टर डिग्रीको प्रथम सेमिस्टरमा १४२ जना भर्ना भएको स्थिति छ । अहिले नयाँ कोर्ष पनि भएकाले आकर्षण छ । तर पहिलेजस्तो आकर्षण चाहिँ छैन । विश्वविद्यालयले तीन वर्षे स्नातक तहलाई चार वर्षे बनाएको छ । त्यसलाई सक्न पाँच वर्ष लाग्छ । अनि मास्टर डिग्री सक्न अरू दुई वर्ष लाग्छ ।  कतिपय अवस्थामा आर्थिक क्षमता कमजोर भएका कारण इच्छा हुँदा पनि पढ्न नपाएको देखिन्छ ।

जे जतिले जनसङ्ख्या अध्ययनलाई निरन्तर पढिरहेका छन् उनीहरूलाई रोजगारीको समस्या होला जस्तो लाग्दैन । अहिले जनसङ्ख्या अध्ययनको महत्वलाई ध्यानमा राखेर सरकारले ७५३ वटा सरकारका स्थानीय निकायहरूमा एक एक जना भए पनि जनसङ्ख्या अध्ययन गरेका विज्ञ राख्नुपर्छ । जसका कारण राज्यले नीति बनाउन, विभिन्न कार्यक्रम गर्नका लागि सहज वातावरण हुन्छ । हरेक निकायमा जनसङ्ख्या विज्ञ राख्दा राज्यका कार्यक्रमहरू प्रभावकारी हुन्छन् । विज्ञ अनिवार्य गर्नै पर्छ । त्यसले तथ्यगत कुराहरू केलाउँछ र विकासलाई सहज बनाउँछ । ७५३ ठाउँकै जनसङ्ख्याका विवरणलाई चुस्त दुरुस्त गराउनको लागि जनसङ्ख्या विज्ञ जरुरी पनि छ ।

यस कारण छ, जनसङ्ख्याको महत्त्व

जन्म, मृत्यु, बसाइसराइसँगै जथाभाबी मानव बस्ती बढ्दो छ । त्यो कति लाभदायक छ भन्ने कुरामा नीति बनाउनुपर्ने हुन्छ । साथै अन्तर्राष्ट्रिय बहस चलाउने जस्ता कुरामा जनसङ्ख्या विषय आवश्यक छन् । कानुन, शिक्षा, स्वास्थ्य क्षेत्र सबैमा जनसङ्ख्या विषयमा ठोकिन्छन् । वातावरणीय अवस्था, जलवायु परिवर्तनका कुराहरू, विगत, वर्तमान र भविष्यका सम्भावनाका कुरा गर्न पनि सङ्ख्या वा डाटाको आवश्यक पर्छ । 

हाम्रो जनगणनाको तथ्य १० वर्षमा मात्र आउँछ । त्यो पनि सबै आउँदैन । विषयगत र विस्तृतरुपमा तथ्याङ्कगत रूपमा आउँदैन । जनगणना १०÷१० वर्षमा हुन्छ । जनसङ्ख्याभित्रको विविध पक्षको समग्र पक्षलाई जनगणनाले खिच्न सक्दैन । नेपालको जनसङ्ख्या समग्रमा घटेको होइन । जनसङ्ख्या वृद्धिदर झरेको वा घटेको हो । जनसङ्ख्याको आकार घटेको होइन । यस विषयमा बुझ्न जरुरी छ । 

राज्यको नीति नियम बनाउने ठाउँका जनसङ्ख्या बुझेका मानिस जान जरुरी छ । पछिल्लो समय टेक्नोलोजीले स्रोतहरूलाई सक्ने काम गरिरहेको छ  । विकसित मुलुकका एक जनाले उपभोग गर्ने स्रोत र अविकसित मुलुकका २५ जना मानिसले उपभोग गर्ने स्रोत बराबर हुन्छ ।  किनभने टेक्नोलोजीले अगाडि बढेकाहरूले उपभोग्य स्रोतहरू बढी उपभोग गरिरहेका छन् । यसले स्रोतहरू सकिँदै जाने र जनसङ्ख्याको आकार बढ्दै गएको छ । 

जनसङ्ख्या भित्रको पक्षलाई सन्तुलित र व्यवस्थित गर्न जरुरी छ । जनसङ्ख्याभित्र पनि जनसङ्ख्या गतिशीलता उतारचढावमा छ  । यसले सन्तुलित जनसङ्ख्याको संरचनागत पाटोले स्रोतको प्रयोगको मात्रलाई पनि सन्तुलित बनाउन सकिन्छ र दिगो रूपमा लान सकिन्छ । यसले मानव जातीसँगै पृथ्वीमा रहने जीवहरूको आफू रहनुञ्जेल सहज जीवन बिताउन सकुन् भन्नका लागि पनि जनसङ्ख्यालाई लान सकिन्छ । 

विद्यार्थीहरूको सीप र क्षमता बढाउन राज्यले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । तालिमलगायतका अवसर शिक्षकहरूलाई दिनु आवश्यक छ । नयाँ नयाँ प्रविधिहरूलाई प्राध्यापनमा समायोजन गर्नुपर्छ । विद्यार्थीलाई प्रविधिमैत्री वातावरण दिनुपर्छ । यसले विद्यार्थीले दक्ष सीप हासिल गर्न सकुन् । त्यसलाई राज्यले व्यवस्थित गर्नुपर्छ । यसमा राज्य सचेत हुन् जरुरी छ । 

शिक्षण संस्थाहरूमा कस्तो मानव शक्ति कहाँ प्रयोग गर्ने भन्ने कुरा सोच्न जरुरी छ । शिक्षण संस्थाहरूले पाठ्यक्रम कस्तो बनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । स्थान विशेषका कुराहरूलाई पहिचान गरी परिचालन गर्ने जनसङ्ख्या कस्तो हुनुपर्ने, उपभोग कसले गर्नेजस्ता कुरा पहिचान गरी विकासलाई टेवा दिन सकिन्छ । रोजगार सिर्जना गर्ने कुरालाई पनि राज्यले पठनपाठनमा स्थान दिएर पाठ्यक्रम निर्माण गर्न लगाउनुपर्छ । 

(त्रिभुवन विश्वविद्यालय,जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. शर्मासँग मनिषा बस्नेतले गरेको कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : २८ असार, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया