अहिले चर्चामा छिन्, गायिका एलिना चौहान । चर्चित सेलिब्रेटीमा गनिने एलिनाको थप चर्चा गायकीको कारणले होइन, एउटा अभियानका कारण ।
छोटै समयमा वैवाहिक जीवनमा आएको उतारचढाव । त्यसैलाई मसला बनाएर सामाजिक सञ्जालमा हुने प्रहार । आम रुपमा नेपाली समाजमा ‘सेलिब्रेटी’ भनेपछि आलोचना पचाउनुपर्छ भन्ने मानसिकता । तर आत्मसम्मानमै चोट लाग्ने भएपछि कसैले पनि त्यतिसम्म सहन सक्दैन कि बारम्बार पुरानो घाउलाई कोट्याएर नुनचुक छर्किने गरिन्छ ।
अहिले एलिनाले भोगेको नियती त्यही हो, त्यसअघि कहिले नायिका ऋचा शर्मा त कहिले गायिका समीक्षा अधिकारीहरुले भोग्नु पर्यो ।
एलीनामाथि निरन्तर प्रहार हुन थालेपछि उनले केही दिन सहेकै हुन् । तर व्यक्तिगत जीवनलाई नै अशान्त बनाउने किसिमले प्रतिक्रिया आउन थालेपछि भने उनले तिनीहरुमाथि ‘प्रहार’ को नीति लिइन् । गाली, यतिसम्मकी स्वंय गाली खानेले मात्र होइन, देख्नेहरुले समेत जिब्रो टोक्नु पर्ने किसिमका अश्लिलताका शब्दहरु हुन्छन् ।
हाम्रा छोरीहरु अझै आफूमाथि भएको ‘ह्यारेस्मेन्ट’ लाई सामाजिक सञ्जालदेखि मनभित्रै लुकाएर हिँड्न बाध्य छन् । सामाजिक परिवेशका कारण प्रतिकारमा उत्रिँदा कतै भोलिका दिनमा सामाजिक रुपमा तिरस्कृत हुन पर्छ कि भन्ने संशय बाँकी छ । संविधानले नै सामाजिक पुनस्थापनाको हकको किटान गरेको छ, तर हाम्रो मानसिक पर्खालले त्यसलाई नाघ्न नसक्दा अहिले उत्कृष्ट संविधान भए पनि निकृष्ट हर्कतहरु नरोकिएका होलान् ।
स्वयं देशका प्रधानमन्त्री केपी शर्मा ओलीले नै एलिनाको आँटमा थप उर्जा भर्ने काम गरिदिए, त्यसले गर्दा ‘छोरी’हरुमा थप आत्मबल भर्ने काम भयो । त्यसपछि उनीहरुको पक्षमा सञ्चारजगत, नागरिक समाज, राजनीतिक वृत्त, प्रहरी प्रशासन समेत तातेपछि भने नकारात्मक धारणामा बाच्नेहरु केही सजग बने । जसले एलीनाप्रति नकारात्मक प्रस्तुत हुनेहरु आत्मालोचनासम्म पुगेका छन् ।
केही समय अघि नायीका ऋचा शर्मामाथि बिना काम त्यसैगरी गाली आयो । आफूमाथि आएको सुन्न र देख्न नसकिने गालीहरु सामाजिक सञ्जालमा देखाउने आँट गरिन् ।
त्यसपछि छरियो, महिलाप्रतिको पुरुष मानसिकता मात्र होइन महिलाप्रति महिलाले नै सोच्ने तरिका र मानसिकता पनि । ‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भनिन्छ, तर व्यक्तिगत आरोपप्रत्यारोपमा अर्को पक्षले क्षमा दिँदा त्यस्ता गल्ती क्षम्य हुन्छन् । ऋचामाथि आएका गाली र उनले सामाजिक सञ्जालमा त्यसलाई छरपस्ट गर्ने नीति लिएपछि भने क्षमाका सन्देशहरु आउन थाल्यो । ऋचाले माफि दिइन् । त्यो एउटा घटना बन्यो, र त्यसले खराब सोच्नेहरुका लागि केही पाठ त बन्या । ऋचाको प्रतिकारले केही सजग जस्तो देखिएको सामाजिक सञ्जाल एलीनामाथि त्यो भन्दा बढी खनियो । जसले गर्दा ठूलो हंगामा नै ल्याएको ।
ऋचाले देखाएको आँटकै आड भरोसामा एलीनाले आफूमाथिको ‘ह्यारेस्मेन्ट’ सामाजिक सञ्जालमा पोखिन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता दुई भागमा विभाजित भए । त्यस्तै गालीमा रमाउने भिड एकातिर जम्मा भइ थप एलिनाहरुमाथि प्रतिकार गरिरहँदा समाजका प्रतिष्ठित व्यक्तिहरुले भने उनीहरुको साहसलाई सलाम गर्न कन्जुस्याइ गरेनन् ।
स्वयं देशका प्रधानमन्त्री केपी शर्मा ओलीले नै एलिनाको आँटमा थप उर्जा भर्ने काम गरिदिए, त्यसले गर्दा ‘छोरी’हरुमा थप आत्मबल भर्ने काम भयो । त्यसपछि उनीहरुको पक्षमा सञ्चारजगत, नागरिक समाज, राजनीतिक वृत्त, प्रहरी प्रशासन समेत तातेपछि भने नकारात्मक धारणामा बाच्नेहरु केही सजग बने । जसले एलीनाप्रति नकारात्मक प्रस्तुत हुनेहरु आत्मालोचनासम्म पुगेका छन् ।
कुरा, एलीना, ऋचा र समीक्षाहरुको मात्र होइन । मुख्य कुरा हाम्रो मानसिकता र दृष्ट्रिकोणको हो ।
मनकै कन्तुरभित्र आफ्ना पीडा र ह्यारेस्मेन्टहरु लुकाएर हिँड्ने छोरीहरु अब आफूमाथि परेका आपतहरु तत्काल प्रतिकार गर्न नसके पनि कानुनी सहायताले उपचारको खोजीमा हिँड्न सकुन् । आफ्नाविरुद्ध लेखेपछि तत्काल पक्राउको उर्दी जारी गर्ने सरकार र शीर्ष नेतृत्वले पनि एलीनाहरुमाथिको प्रहार आफ्नै छोरीहरुको भन्ने बुझोस् ।
जसबाट किताबमा थन्किएका कानुनका ‘धारा’ र ‘दफा’हरुले वास्तविक काम गरोस्, एलिनाहरु जितुन्, खराब मनोवृत्तिहरुको पराजय हुन सकोस् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।