सुदूरपश्चिमको बाजुरास्थित ऐतिहासिक बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य नेपाली सेनाको नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ ।
सुदूरपश्चिम क्षेत्रमा पर्ने मल्लागिरी पर्वत अन्तर्गत समुद्री सतहबाट करिब ४ हजार २२० मिटर उचाइमा अवस्थित नेपालकै आस्थाको केन्द्रको रूपमा रहेको यो मन्दिर ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । बडिमालिका मन्दिर नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यस मन्दिरमा प्रत्येक वर्ष जनैपूर्णिमा र गंगा दशहरा पर्वमा विशेष मेला लाग्ने गर्दछ। पौराणिक मान्यताअनुसार, सतीदेवीका अंग पतन भएको स्थानहरूमध्ये मल्लागिरी पर्वतमा सतीको बायाँ कुम खसेको जनविश्वास छ । शक्तिस्वरूपा देवी मन्दिरमा बिराजमान भएकी छन् । यही कारणले यस क्षेत्रलाई ‘मालिका’ भनिएको हो ।
यस स्थललाई आदिशक्ति बडिमालिका माताको वासस्थानका रूपमा पुजिन्छ। युगौँयुगदेखि स्थानीयबासीसहित टाढा–टाढाबाट आएका भक्तजनहरूले यहाँ पूजा, आराधना र दर्शन गर्दै आएका छन्। ऐतिहासिक र धार्मिक महत्व बोकेको यो मन्दिरको पुनर्निर्माणको कार्य २०५० सालदेखि नै थालिएको भए पनि प्राविधिक, भौगोलिक र व्यवस्थापकीय कारणले ठोस काम अघि बढ्न सकेको थिएन।
मन्दिर संरक्षण, संवद्र्धन र प्रवर्धनको उद्देश्यसहित नेपाली सेनाले २०८१ सालको चैत २८ गतेबाट पुनर्निर्माणको काम सुरु गरेको थियो । करिब तीन महिनाको अवधिमा, २०८२ असार २३ गते—काम सम्पन्न भएको हो । पुनर्निर्माणको अवधिभर पनि मन्दिर श्रद्धालुका लागि खुला राखिएको थियो ।
यस कार्यमा रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बडिमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, मन्दिरका पुजारी नेत्रप्रसाद उपाध्याय, पुरातत्व विभाग, भक्तपुर–ललितपुरका दक्ष कालिगड र स्थानीय समुदायको सक्रिय सहभागिता थियो ।
विकट भूगोल, प्रतिकूल मौसम र सामग्री ढुवानीको कठिनाइबीच पनि समन्वयपूर्वक काम सम्पन्न भएको बताइएको छ । मल्लगिरी पर्वतको चुचुरोमा अवस्थित यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जहाँ नीलो आकाशमुनि टाकुराबाट देखिने हिमाली शृङ्खला, हरियाली डाँडाकाँडा, शुद्ध हावा र सांस्कृतिक मौलिकता स्वर्गीय अनुभव जस्तै लाग्छ । बडिमालिका मन्दिर पुनर्निर्माणले न केवल धार्मिक महत्त्वको पुनरुत्थान गराएको छ, बाजुरा जिल्लाको पर्यटन तथा आर्थिक सम्भावनालाई समेत उजागर गरेको छ ।
बडीमालिका मन्दिर सुदूरपश्चिमका हिन्दु भक्तजनका लागि मात्र नभई सम्पूर्ण नेपालीको आस्थाको प्रतीकको रूपमा चिनिन्छ । मन्दिर पुनर्निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । यहाँको मौलिक जीवनशैली, धार्मिक चाडपर्व, देवी–देवताको पूजा प्रणाली र जनसम्पर्कले पर्यटकहरूलाई गहिरो अनुभव दिने मान्यता छ ।
अब पुनर्निर्मित मन्दिरसँगै बडिमालिका धाम केवल एक धार्मिक स्थल मात्र नभई आध्यात्मिक शान्ति र प्राकृतिक साहसिक यात्राको गन्तव्य पनि बनेको छ। भविष्यमा यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउने सम्भावनामा अब थप उज्यालो देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।