नेपाली टिम आउँदो अक्टोबरमा आयोजना हुने टी–२० विश्वकप छनोट प्रतियोगितामा सहभागिता जनाउने तयारीमा छ । ओमानमा आयोजना हुने यस प्रतियोगिताबाट तीन टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
नेपालले तेस्रोपटक विश्वकपको टिकट हात पार्ने लक्ष्य राखेको छ । विदेशी मैदानमा हुने प्रतियोगिता नेपालका लागि सधैं चुनौतीपूर्ण रहँदै आएका छन् । सोही कारण नेपाललाई आफ्नो लक्ष्य हात पार्न सहज हुने छैन । त्यसैले नेपालले छनोट प्रतियोगिताका लागि खेल र रणनीतिमा विशेष ध्यान दिन आवश्यक छ ।
विश्वकप छनोटअघि नेपालले ध्यान दिनुपर्ने पाँच पक्ष
विश्वकपअघि नेपालले सर्वाधिक ध्यान दिनुपर्ने कुरा हो, टिमको समन्वय र संयोजन । खेलाडीको फिटनेस, मनोबल र तालमेल मजबुत बनाउन आवश्यक छ । टोलीका केही अनुभवी खेलाडी हाल पनि राम्रै लयमा छन् ।

यस्तै, युवा खेलाडीको पनि समावेशीकरणले टोलीलाई थप सन्तुलन दिने अपेक्षा गरिएको छ । अभ्यास क्याम्पमा व्यक्तिगत कौसल सुधार मात्र होइन, टिम रणनीतिमा पनि फोकस गर्नुपर्नेट । विदेशी मैदानमा मौसम, पिच र वातावरण फरक हुने भएकाले त्यसअनुसार तालिम र तयारी अनुकूल बनाउन पनि महत्वपूर्ण छ ।
यस्तै, टिमले मानसिक दृढता र दबाब व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्छ । विश्वकप छनोटजस्तो ठूलो प्रतियोगितामा चुनौतीपूर्ण परिस्थितिमा पनि आत्मविश्वास र संयम कायम राख्न सक्नु खेलको परिणाममा निर्णायक भूमिका खेल्छ ।
प्रशिक्षक र व्यवस्थापकले खेलाडीलाई दबाबपूर्ण परिस्थितिमा पनि आफ्नो क्षमताअनुसार सहज ढंगले प्रदर्शन गर्न प्रेरित गर्नुपर्छ । त्यसका लागि टोलीभित्र विश्वासको वातावरण बनाउन आवश्यक छ, जहाँ गल्तीलाई सिकाइको अङ्गका रूपमा हेरियोस् । साथै, खेलाडीको मानसिक सन्तुलन कायम राख्न अनुभवी मनोपरामर्शदाताको साथ र मार्गदर्शन निकै उपयोगी हुन्छ, जसले खेलाडीको आत्मविश्वास, ध्यान केन्द्रित गर्ने क्षमता र दबाबमा टिकिरहने शक्ति बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यस्तै, नेपालले आफ्नो लक्ष्य हासिल गर्न खेलको रणनीति र योजना स्तरीय बनाउनुपर्छ । विदेशी पिचमा बलको उडान, पिचको व्यवहार र विपक्षी टोलीका बलियो र कमजोर पक्षको अध्ययन गरेर खेल योजना बनाउनुपर्छ ।

टिमले आफ्नो बलियो क्षेत्रलाई प्राथमिकता दिनुका साथै कमजोरी सुधार गर्न पनि अहिलेदेखि नै काम गर्नुपर्छ । विशेषगरी बलिङ लाइनअपमा विविधता ल्याएर पिचअनुसार रणनीति अपनाउनुपर्छ । ब्याटिङमा पनि स्थितिअनुसार आक्रमण र सुरक्षा दुवै पक्षलाई सन्तुलित राख्नु विशेष योजना अपनाउनुपर्छ ।
यस्तै, विश्वकप छनोटमा आफ्नो अभियान पूरा गर्ने हो भने नेपालले विदेशी प्रतिस्पर्धाका अनुभवलाई थप व्यापक बनाउन जरुरी छ । पछिल्लो समय नेपाली टिमले विदेशी भ्रमणमा राम्रो अनुभव लिइरहेको छ । तर, अझ बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर विभिन्न खेल परिस्थितिमा आफूलाई परीक्षण गर्नुपर्ने देखिन्छ ।
विदेशी टोलीसँग नियमित अभ्यास खेल र क्याम्पले नेपाली खेलाडीलाई मैदानका फरक–फरक चुनौतीसँग परिचित गराउनेछ । यस विषयलाई ध्यानमा राखेर नेपालले आउँदो अगस्टमा अस्ट्रेलिया र सेप्टेम्बरमा यूएईको भ्रमण गर्दैछ ।
यस्तै, विश्वकप छनोटअघि खेलाडी र व्यवस्थापनबीच पारदर्शिता, आपसी विश्वास र नियमित संवाद कायम गर्न अत्यन्त आवश्यक छ । सफल टोली निर्माणका लागि केवल प्राविधिक दक्षता मात्र होइन, टोलीभित्रको भावनात्मक समन्वय र पारस्परिक समझदारी पनि उत्तिकै निर्णायक हुन्छ ।

खेलाडीले आफ्नो भूमिकाबारे स्पष्ट बुझाइ पाउनु, निर्णय प्रक्रियामा सहभागी हुन पाउनु र व्यवस्थापनसँग सहज ढंगले विचार आदान–प्रदान गर्न पाउनुले टोलीमा समर्पण र जिम्मेवारीबोध बढाउँछ ।
यदि यस्ता महत्वपूर्ण पक्षमा समयमै गहिरो ध्यान दिइयो भने नेपालले आगामी छनोट प्रतियोगिताबाट सफलतापूर्वक अघि बढ्दै तेस्रोपटक टी–२० विश्वकपको मञ्चमा स्थान बनाउन सक्छ । त्यो उपलब्धि नेपाली क्रिकेटको मात्र नभइ समग्र देशको खेल क्षेत्रका लागि ऐतिहासिक र गर्वको क्षण हुनेछ, जसले भविष्यका पुस्तालाई थप प्रेरणा र सम्भावनाको ढोका खोल्नेछ ।
विश्वकप छनोटअन्तर्गत नेपालले समूह चरणमा ८ अक्टोबरमा कुवेत र १० अक्टोबरमा जापानसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।