१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

नेपालको उपाधि यात्रा निर्णायक मोडमा : हरेक खेल फाइनल सरह

साफ यू–२० महिला च्याम्पियनसिपमा बंगलादेशविरुद्धको खेल नेपाली टोलीका लागि कठिन परीक्षाजस्तै थियो । खेलभरि नेपाल दबाबमा देखियो । र, त्यसको परिणाम पनि त्यस्तै रह्यो, ३–२ को पराजय ।


घरेलु मैदान र समर्थकको ऊर्जा बोकेको बंगलादेशले पहिलो हाफमै दुई गोल गर्दै नेपाललाई पछि पार्‍यो । त्यो अवस्थामा नेपालले खेल सम्हाल्न खोजे पनि चाहेजस्तो लय बनाइराख्न सकेन ।



बंगलादेश निकै आक्रामक देखियो । १४औँ मिनेटमा सिन्हा शिखा र ३६औँ मिनेटमा सागोरिकाले गोल गर्दै नेपाललाई २–० ले पछि पारे । तर, दोस्रो हाफमा भने नेपाली टोलीले आत्मबल देखायो ।



अनिशा राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । ८६औँ मिनेटमा मीना देउवाले बराबरी गोल गरिन् । खेल रोमाञ्चक बन्यो । तर, खेलको अन्तिम मिनेट नेपालका लागि निकै पीडादायक बन्यो । 

इन्जुरी समयको अन्तिम मिनेटमा नेपालले तेस्रो गोल खायो । यो गोलले न केवल खेल गुमायो, बरु पछिल्ला दिनमा नेपाली महिला फुटबल टिमले भोग्न थालेको दुःखद प्रवृत्तिलाई दोहोर्यायो ।

उज्बेकिस्तानसँग नेपालको सिनियर महिला टिमले हालै एसियन कप छनोटमा निर्णायक म्याच खेलेको थियो, जहाँ नेपालले सानदार पुनरागमन गर्दै खेललाई टाइब्रेकरमा धकेल्यो । तर, टाइब्रेकरमा चुक्दा २६ वर्षपछि एसियन कप खेल्ने नेपालको सपना अधुरै रह्यो । त्यो हारको चोट अझै पूरै निको हुन नपाउँदै यू–२० टिमले पनि उस्तै पीडा भोग्नु पर्‍यो ।



१० दिनको फरकमा नेपाली महिला फुटबल टोलीले दुईपटक एउटै पाठ सिक्नु पर्‍यो, खेलको अन्तिम समय कहिल्यै हल्का रूपमा लिन हुँदैन । बंगलादेशविरुद्धको खेलको दोस्रो हाफ तनावपूर्ण बन्यो ।

नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीच भएको झडपपछि दुवै खेलाडीले रातो कार्ड पाए । त्यस घटनाले दुवै टिम १०–१० खेलाडीमा सीमित भए । त्यसका बाबजुद नेपाली खेलाडीले देखाएको जुझारुपन प्रशंसनीय रह्यो । तर, नेपालले त्यो लयमा अन्तिम मिनेटमा गुमाउँदा मैदानमै खेलाडीको रुवाबासी चल्यो ।

बंगलादेशसँगको यो हारले  नेपालको उपाधि सपनामा धक्का लाग्न सक्छ । किनकी बंगलादेशसँगको बराबरी वा जित निकै महत्वपूर्ण थियो । हुन त नेपालले अझै चारवटा म्याच खेल्न बाँकी छ ।

उपाधि जित्न नेपालले अब हरेक खेल जित्नुपर्ने समीकरण निर्माण हुने देखिन्छ । किनकी बंगलादेशबाहेक नेपालको प्रतिस्पर्धी तुलनात्मक कमजोर छन् । 

नेपालको निर्णायक भिडन्त फेरि बंगलादेशसँगै हुनेछ । नेपालले तेस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्नेछ । त्यसपछि नेपालले थप तीनवटा म्याच खेल्नेछ, जहाँ फेरि नेपाली टिम श्रीलंका, भुटान र बंगलादेशसँग भिड्ने छ ।

जारी प्रतियोगितामा नेपालको प्रदर्शन हेर्दा उपाधि सम्भावनाका हिसाबले अन्तिम खेल निर्णायक बन्न सक्छ, जहाँ बंगलादेशलाई हराउनैपर्ने दबाब रहने देखिन्छ ।

नेपाल र बंगलादेशबीचको उक्त प्रतिस्पर्धा २१ जुलाईमा हुनेछ ।

  • प्रकाशित मिति : ३० असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया