१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

विपक्षीको बहिष्कारका बीच मधेस प्रदेशसभाबाट बजेट पारित

मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेशसभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरूको बहुमतले बजेट पारित गरिएको हो ।


सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गरे ।



विपक्षी दलका प्रदेशसभा सदस्यले सांसदलाई उपलब्ध गराइएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको भन्दै विरोध जनाएका छन् ।

सरकारले आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले आज बिहान कार्यदल बैठक र पछि प्रदेशसभा बैठकसमेत बहिष्कार गरेका थिए । त्यसपछि सत्ता पक्षीय दलका सदस्यहरूको उपस्थितिमा मात्रै बैठक अगाडि बढेको थियो । 



विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार गर्ने अडान राखेका थिए । 

गत १ असारमा अर्थमन्त्री सुनिल यादवले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१  हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । 

पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पेस गरिएको र अर्थ मन्त्रालयसँग रहेको बजेट फरक परेकाले अर्थमन्त्रीको राजीनामाको माग गर्दै आफूहरूले बैठक बहिष्कार गरेको बताए । 

सत्ता पक्षका केही प्रदेशसभा सदस्यले पनि बजेटमा फरक परेको भन्दै विरोध जनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले बजेटबाट २९४ पाना गायब गरिएको भन्दै विरोध जनाएका थिए । 



नेपाली कांग्रेसका वीरेन्द्र सिंहले पनि विगतमा रु ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरिए पनि ५ लाख रुपैयाँसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने अवस्था बनाएको टिप्पणी गरे ।

मुख्यमन्त्री सतिष सिंहले भने योजना प्रणालीमा प्रविष्ट गर्दा केही फरक परेको र विगतमा पनि शून्य तथा  कम बजेट भएका योजना रेडबुकमा नल्याउने गरिएको बताउए । 

यसपटक पनि त्यहीअनुसार गरिएकाले विरोध गर्न आवश्यक नरहेको उनको भनाइ थियो । 

  • प्रकाशित मिति : ३० असार, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया