१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

बेलायतको मुद्रास्फीति पुनः बढ्यो, खाद्यान्न र इन्धन महँगियो

बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जून महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, मे महिनाको ३.४ प्रतिशतको तुलनामा मुद्रास्फीति दरमा वृद्धि भएको हो ।


यो वृद्धिको मुख्य कारण मोटर इन्धन, हवाई र रेल भाडा तथा खाद्यान्न मूल्यमा भएको उल्लेखनीय वृद्धि हो । खाद्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थको मूल्य एक वर्षअघिको तुलनामा ४.५ प्रतिशतले बढेको देखिएको छ, जुन फेब्रुअरी सन् २०२४ यताकै उच्च दर हो ।



ऊर्जा, खाद्यान्न, मदिरा तथा चुरोटलाई बाहिर राखेर गणना गरिएको मुद्रास्फीति दर जूनमा ३.७ प्रतिशत रहेको छ, जुन मे महिनाको ३.५ प्रतिशतको तुलनामा उच्च हो । यसैबीच, सेवा क्षेत्रको मूल्य वृद्धिदर ४.७ प्रतिशतमै स्थिर देखिएको छ, जुन देशभित्रको मूल्य दबाबको सूचक मानिन्छ ।

यसअघि ओएनएसले प्रकाशित गरेको तथ्यांक अनुसार, बेलायतको वास्तविक मासिक सकल घरेलु उत्पाद (जीडीपी) मे महिनामा ०.१ प्रतिशतले घटेको थियो । यो लगातार दोस्रो महिना संकुचन भएको हो ।



बैंक अफ इङ्ग्ल्याण्डले जून महिनामा आफ्नो नीतिगत ब्याजदर ४.२५ प्रतिशतमा यथावत् राखेको थियो । स्थायी मुद्रास्फीति दबाब र विश्वव्यापी अनिश्चितताको कारणले यस्तो निर्णय गरिएको हो । यद्यपि, आगामी अगस्टमा ब्याजदरमा कटौती हुने अपेक्षा गरिएको छ ।

मुद्रास्फीति दर बैंकको लक्षित दुई प्रतिशत भन्दा अझै माथि रहेको छ । बजार विश्लेषकले सन् २०२५ भित्र कम्तीमा दुई पटक ब्याजदर घट्ने सम्भावना देखेका छन्, जसअनुसार वर्षको अन्त्यसम्म नीतिगत ब्याजदर झरेर करिब ३.७५ प्रतिशत पुग्न सक्ने अनुमान गरिएको छ ।



  • प्रकाशित मिति : ३२ असार, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया