Tue, 18 Jun, 2019


#farakक्षमता
#farakक्षमताः जसले गुमाए खुट्टा, गुमाएनन् हिम्मत, गर्छन् साइकलमा सयर
सुरेन्द्र बजगाईं
फरकधार / जेठ २२, २०७६
सबै तस्वीर: यमलालकाे फेसबुकबाट ।

पर्वतको सामान्य परिवारमा जन्मिए, यमलाल रसाइली । एकदिन घरकै आँगनमा खेल्दा लडेका यमलालको दाहिने खुट्टा भाँचियो । त्यतिवेला उनी चार वर्षका मात्र थिए ।



तिहारको समय थियो । घरमा छोराको खुट्टा भाँचिएकोमा आमाबाबु निराश भए । वरपर अस्पताल थिएनन्, उनीहरुले घरमै सक्दो कोशिस गरे । काम्रो बाधेँ, धामीझाँक्रीलाई फुक्न लगाए । अनि स्थानीय जडिबुटी प्रयोग गरेर बनाइएको लेप काम्रो भित्र र बाहिर मज्जाले दलिदिए । 

तर, चार वर्षे यमलालको खुट्टा पहिलेको जस्तो भएन । तिहारको रौनक सकिएपछि उनलाई बाबुले पाल्पा अस्पताल पुर्याए । चिकित्सकहरुले काम्रो खोले, यमलालको खुट्टा ठिक भएको थिएन । बरु झन् बिग्रिएको थियो । चिकित्सकहरुको राय थियो– घुँडामुनि काटेर फाल्नु पर्छ ।

यसै पनि ‘दलित’ भनिएर यमलालको परिवारलाई समजमा सम्मान गरिन्थेन । झन्, उनको खुट्टा काटिएपछि उनलाई समाजले ‘पाप गरेको’ संज्ञा दिन थाल्यो । 

‘मलाई बाटोमा देखे भने मानिसहरु साइत परेन भनेर फर्किन थालेको सम्झना छ,’ केही समयअघि कैलालीको लम्कीमा भेटिएका यमलाल विगतमा फर्किए, ‘मेरो परिवारलाई हेर्ने नजर नै फरक भएको थियो; आमा दैनिक यही कारण रुनुहुन्थ्यो ।’

समाजमा त यो विभेद भोगेका थिए यमलाल रसाइलीले, स्कुलमा पनि उनलाई सामान्य व्यवहार गरिएन । 

‘साथीहरु आफूसँग बस्न दिँदैनथेँ, खाजा छुइन्छ भन्थेँ,’ उनको अनुहार मलिनो भयो, ‘हामीले आखिर गाउँ छोड्यौँ र कैलाली आयौँ ।’

परिवार कैलाली झर्नुअघिका अनेक सम्झना यमलालको मुटुमा गाँठो परेर बसेका छन् । उनी विद्यालय जान कम्तीमा पनि आधा घन्टा हिँड्नु पथ्र्यो । यमलाल वैशाखीको साहराले विद्यालय त जान्थेँ तर बाटो वैशाखीलाई सहज हुने खालको थिएन । 

‘खाल्डाखुल्डी मात्र होइन,’ यमलालले ती दिन सम्झिए, ‘एउटा खोल्सामा पुल थियो, म कयौँ पटक त्यो पुलमा वैशाखी चिप्लिएर लडेको छु ।’

लड्दैलड्दै स्कुल पुगेका यमलालले स्कुलमा पनि सहज वातावरणमा पढ्न पाएनन् । विद्यालयमा उनका सहपाठीले मात्र होइन, सिनियर र शिक्षकहरुले पनि उनीबारे बारम्बार गुनासो गरिरहेका हुन्थे । ‘कतिपटक मेरो वैशाखीले साथीहरुको खुट्टामा कुल्चिन्थ्यो,’ उनले भने, ‘साथीहरु रिसाएर मेरो नजिक आउँदैनथे, अरुले पनि मलाई हेप्न नै खोज्थे ।’

यी कारणले गर्दा यमलाललाई स्कुल जान मन लाग्दैनथ्यो । उनी त घरमा नै खेलेर बस्न चाहन्थे । 

तर, उनी घरमा बस्दा उनका बाबु चिन्तित हुन्थे । उनका बाबुलाई लाग्थ्यो, ‘यसले अरु काम गर्न सक्दैन, पढिदिए हुन्थ्यो ।’

‘बुबा मलाई हप्काउनुहुन्थ्यो,’ उनले सम्झिए, ‘अनि आमा चाहिँ बुबालाई कराउनुहुन्थ्यो ।’ आमाबाबुको घर झगडा यमलालकै कारण बढिरहेको थियो । तर, यमलाललाई स्कुल जान मनै हुँदैनथ्यो । जे होस्, केही समयमा नै यमलालको परिवारमा एउटा सहमति निस्कियो– यमलाललाई सिपमुलक तालिमको अवसर जुटाइदिने । 

यही निष्कर्षअनुसार २०४६ सालतिर यमलाल खगेन्द्र नवजीवन केन्द्रमा जोडिए । १८ महिने यो तालिम लिएपछि यमलाल हिम्मतसहित कैलाली फर्किए । अनि लम्की बजारमा खोले एउटा सिलाइ पसल । 

 

फेरियो जिन्दगी, थपिए अनेक दुःख

गाउँमा टेलर पसल सुरु गरेपछि यमलालको जीवनमा अलिक सहज हुन थाल्यो । पसलमा काम मात्र होइन, यमलालले विभिन्न ठाउँमा प्रशिक्षण पनि दिन थाले । उनी सिलाइबुनाइ प्रशिक्षण दिन लम्कीबाट ४८ किलोमिटर पर पुग्नु पथ्र्यो । 

त्यति बेला यमलालले साइकल चलाउन त थालिसकेका थिए । तर, सधैं साइकलमा यो दूरी यात्रा गर्नु सहज थिएन । 

एकपटक दुई झोला लिएर घर फर्किन खोज्दै थिए, यमलाल । ‘शुक्रबार साँझको कुरा थियो । दुईवटा झोला थिए,’ उनले सम्झिए, ‘मलाई अपाङ्ग देखेर बस रोक्दैन कि भन्ने भय ममा थियो । मैले त्यहाँ सडकमा भेटिएका एक व्यक्तिलाई बस रोक्न लगाएँ ।’

यसरी पैदल यात्रुलाई बस रोक्न लगाएर यमलाल घर जान चाहन्थेँ । तर, जब गाडी रोकिएपछि वैशाखीसहित यमलाल बसको ढोकामा पुगे, बसका सहयोगीले उनको झोलामात्र फालिदिएनन्, यमलालाई पनि ढोकाबाटै बाहिर फालिदिए । उनीहरु अपाङ्गता भएका व्यक्तिलाई बसमा सवार गर्न चाहँदैनथे । 

त्यो दिन यमलाल त्यही ठाउँमा कहिलेकांही बस्न लिएको कोठामा फर्किए । ‘मनमा त मर्नुपर्छ कि भन्ने पनि भयो, त्यो रात निदाउन पनि सकिनँ,’ उनले भने, ‘तर, अपाङ्ग महासंघमा हुँदा मैले आफूमाथि विश्वास गर्ने कुरा सिकेको थिएँ । त्यसले मलाई थप काम गर्ने जोश भरिदियो, अगाडि बढ्ने चाहना जन्माइदियो ।’

 

साइकल यात्रा गर्ने धोको, काठमाडौंको बसाइ

त्यही एउटा घटनाले यमलालमा जोश जन्माइदिएको थियो– नेपालको साइकल यात्रा गर्ने । त्यसका लागि उनलाई एउटा गतिलो साइकल चाहिन्थ्यो । तर, उनीसँग नयाँ साइकल थिएन । त्यसैले उनले सुरुमा साइकल किन्न पैसा जोहो गर्ने विचार गरे । 

अनि काठमाडौं पसे । 

‘२०५५ सालको कुरा हो, काठमाडौंमा गएर साइकल किन्ने पैसा जोहो गर्छु भन्ने भयो,’ उनले भने, ‘पहिले त परिवारले मानेका थिएनन् तर मैले उहाँहरुलाई सम्झाएँ ।’

यमलाल ठूलो सपनाको भारी बोकेर काठमाडौं त आए तर यहाँ पनि उनले सोचेजस्तो भएन । 

खानबस्नकै समस्या भएपछि उनले दाइसँग ल्याएको एउटा नम्बरमा फोन गरे । घरबाट हिँड्ने बेलामा दाइले भनेका थिए, ‘यो मान्छेको बालकुमारीमा गार्मेन्ट छ, गएर फोन गर्नु ।’

तर, यमलालको ती व्यक्तिसँग फोनमा सम्पर्क हुन सकेन । 

‘दिनभर फोन अफ थियो,’ उनले भने, ‘रात अबेरसम्म पनि फोन नलागेपछि मैले बालकुमारीमा रहेको प्रहरी चौकीमा गएर बास मागेँ, त्यहाँ नै बसेँ ।’

त्यसको भोलिपल्ट उनी काम खोज्न काठमाडौं सहरमा निस्किएँ । यमलाललाई सिलाइकटाइ राम्रो आउँथ्यो, उनले बागबजारमा काम पनि पाए ।

 

तर, फर्किए घर, बनाए साइकल यात्राको योजना

केही वर्ष काठमाडौंमा बसेका यमलालले खासै प्रगति हुने देखेनन् । सधैं दुःख गर्नुभन्दा घरमै गएर बस्ने योजना उनले बनाए । 

यमलालले गाउँमा सुरु गरेको टेलर पसल चलिरहेको थियो । त्यसको छेवैमा थियो, उनको काकाको साइकल मर्मत पसल । यमलाल काम नहुँदा यसै काकाको पसलमा पुग्थे र गफिन्थे । 

‘एकदिन साइकल पसलमा पैताला नभएका एक व्यक्ति आए, साइकल मर्मत् गर्न,’ उनले सम्झिए, ‘उनले साइकल बनेपछि मज्जाले साइकल चलाएर अगाडि गए ।’ त्यही समय अपाङ्गता भएका एक विदेशीले सगरमाथाको सफल आरोहण गरेको समाचार पनि सुनेका थिए यमलालले । 

पैताला गुमाएका व्यक्तिले साइकल चलाएको आफ्नै आँखाले देखेका र अपाङ्गता भएका व्यक्तिले सगरमाथा चढेको समाचार पढेका यमलालको मनमा आत्मबल जन्मियो– म पनि साइकल चलाउँछु, देशको यात्रा गर्छु । 

खासमा यमलालले त्यतिबेला साइकल चलाउन सिकिसकेका थिए । उनलाई दाइले साइकल चलाउन सिकाएका थिए । ‘दाइ पछाडिको सिटमा बस्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘दाइले दायाँ पाइडलमा आफ्नो खुट्टा राख्नुहुन्थ्यो, मैले अर्कोमा । अनि म साइकल चलाउँथे ।’

भनिन्छ– घोडा चढ्ने मान्छे लड्छ । यमलाल पनि यसरी साइकल चलाउँदा कयौँ पटक लडे । तर, उनले लड्न दिएनन् आफ्नो आत्मविश्वासलाई । 

बरु एकदिन उनले यसै साइकलको दायाँ पाइडलमा गह्रौँ फलामको ढिक्का राखे । अनि बायाँ पाइडललाई आफूले चलाए । ‘म त्यो दिन खुसीले उफ्रिएँ,’ उनको अनुहारमा विशेष चमक देखिन्थ्यो, ‘मलाई त्यो दिन लाग्यो, जीवनमा असफलता भन्ने कुरा केही हुँदो रहेनछ, कहिलेकांही दुःख हुँदो रहेछ तर त्यही दुःखका कारण जीवनमा निराश हुन हुँदो रहेनछ, बरु जीवनलाई सहज तरिकाबाट कसरी अगाडि बढाउने भन्ने सोच्नु पर्दो रहेछ ।’

 

सुरु गरे यमलालले साइकल यात्रा, मिल्यो ठूलो खुसी

जब यमलालले गाउँमा एक्लै साइकल चलाउन थाले, वरपरका सबैले उनको गुणगान गाउन थाले । सबैले गरेको त्यो प्रशंसाले यमलाललाई झन् ठूलो हिम्मत मिल्यो । 

अनि उनी साइकलमा देशका विभिन्न जिल्ला पुग्ने योजनामा लागे । 

र, यात्रा सुरु गरे उनले २०५९ सालमा । सुरु गरेको दुई महिनामा नै उनी ३१ जिल्ला पुगे । ‘२ महिना १८ दिनको त्यो यात्रामा मैले धेरै खुसी भेटाएँ,’ उनले भने, ‘अपाङ्गको चाहना स्थायी शान्तिको कामना नारा लिएर म हिँडेको थिएँ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेँ ।’

त्यसपछि त यमलालमा आशा, भरोसा र हिम्मत निकै बढिसकेको छ । केही समयअघि मात्र उनी रारासम्म पनि साइकलमा पुगे । मुगुमा एकजना बालकले अपाङ्गता भएकाले पढ्न नपाएको खबर सुनेपछि यमलाल ती बालकलाई सहयोग गर्न मुगुसम्म पनि पुगे । 

अपाङ्गता भएकाले पनि अवसर पाए भने गर्न सक्छन् भन्ने यमलालाई राम्रोसँग थाहा छ, यही सन्देश उनी नेपालभर छर्न चाहन्छन् । ‘कति ठाउँमा त आजभोलि मेरो छोरा अपाङ्ग छ, आउनुस् न उसलाई प्रेरणा दिनुस् भनेर पनि बोलाउँछन्,’ यमलाल हाँस्छन् । 

यमलालले बढेको यो आत्मविश्वासलाई विभिन्न प्रतियोगितामा पनि उपयोग गरेका छन् । नेपालमा हुने साइकल रेस प्रतियोगितामा मात्र होइन, उनी भारतसम्म पनि पुगेर साइक्लिङ गरेका छन्, सम्मान र पुरस्कार पाएका छन् ।

 

पारा ओलम्पिक जाने धोको

यमलालको आत्मविश्वास कतिसम्म उँचो भएको छ भने उनी पारा ओलम्पिकमा जाने सपना बनाएर बस्न थालिसकेका छन् । ‘एउटा खुट्टा नभएको नेपालीले पारा ओलम्पिकमा विजय प्राप्त गरेको रेकर्ड बनाउने धोको छ,’ उनले भने, ‘यो धोको पूरा भइदिए मैले जीवन साकार भएको ठान्न पाउने थिएँ ।’


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्