१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

अख्तियार पुग्यो राप्रपा, सुडानदेखि ओम्नी काण्डसम्मको फाइल खोल्न दबाब

राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापन पत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित ज्ञापन पत्र बुझाएका हुन् । 


अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूला–ठूला भ्रष्टाचारका काण्डको जुन तदारुकताका साथ छानबिन हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए ।



सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्य एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्री एकअर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ । राप्रपाका सांसद दीपक सिंह देशमा भइरहेको ब्रम्हलुट रोक्नका लागि आफूहरू अख्तियार आयोग आएको सुनाए । 

भ्रष्टाचारका विषयमा छानबिन र मुद्दा दर्ताका काम प्रशस्त हुँदै गर्दा पनि ठूला भ्रष्टाचारका काण्ड जस्तै: सुडान घोटाला, ललिता निवास, वाइडबडी, क्यान्टोन्मेण्ट, ओम्नी, एनसेल लगायतका ठूल–ठूला भ्रष्टाचार काण्डमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता तथा प्रभावकारितामा गम्भीर प्रश्न उठेको बताउँछन्, राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाही । 



राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता बिना यस प्रकारका ठूला भ्रष्टाचार कर्मचारी संयन्त्रबाट मात्र हुनसक्छन् भन्ने कुरामा विश्वास गर्न नसकिने र  भ्रष्टाचारको मुख्य जरो र छाता राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीको दायरामा नल्याएसम्म सानातिना कारबाहीले मात्र सेवा प्रवाह, सुशासन र भ्रष्टाचारमा सुधार हुन नसक्ने राप्रपाको भनाइ छ ।  



  • प्रकाशित मिति : २ साउन, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया