पाकिस्तानविरुद्धको टी–२० आई सिरिजको पहिलो खेलमा घरेलु टिम बंगलादेश विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा घरेलु टिम बंगलादेश ७ विकेटले विजयी भएको हो ।
पहिलो खेलमा पाकिस्तानले दिएको १ सय ११ रनको सामान्य लक्ष्य बंगलादेशले १६.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । उसका लागि परवेज हुसेन इमनले अर्धशतकीय पारी खेले ।
उनले ३९ बलमा पाँच छक्का र तीन चौकासहित नटआउट ५६ रनको पारी खेलेका हुन् । यस्तै, तौहिद हृदयोयले ३६ र जकर अलीले अविजित १५ रन बनाए । पाकिस्तानका लागि सलमान मिर्जाले दुई तथा अब्बास अफ्रिदीले एक विकेट लिए ।
त्यसअघि मिरपुरस्थित शेरे बंगला नेशनल स्टेडियममा टस हारेर ब्याटिङ रोजेको पाकिस्तान १९.३ ओभरमा १ सय १० रनमै अलआउट भयो । उसका लागि फखर जमानले ४४, अब्बास अफ्रिदीले २२ तथा खुसदिल साहले १७ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बंगलादेशका लागि तस्किन अहमदले तीन तथा मुस्तफिजुर रहमानले दुई विकेट लिए ।
यो जितसँगै तीन खेलको सिरिजमा बंगलादेशले १–० को अग्रता लिएको छ । यी दुई टिमबीचको दोस्रो खेल मंगलबार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।