नेपालमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनीमध्ये एक अग्रणी नाम हो– एनसेल आजियाटा लिमिटेड । लामो समयदेखि मोबाइल सेवा, डाटा इन्टरनेट, भ्वाइस र अन्य डिजिटल सेवामा अग्रसर एनसेलले आफ्नो ब्रान्ड विस्तार गर्न र ग्राहक संलग्नता बढाउन विभिन्न योजना सार्वजनिक गर्दै आएको छ ।
त्यसै क्रममा करिब एकअघि कम्पनीले ‘सधैँ अन करोडपति’ नामक ग्राहक आकर्षण योजना सार्वजनिक गरेको थियो । जुन योजनाको एनसेलले खुबै प्रचार गरेको थियो । सञ्चार माध्यमदेखि होर्डिङ बोर्डसम्म, सामाजिक सञ्जालदेखि अनलाइन प्लेटफर्महरूसम्म यस योजना लोकप्रिय बनेको थियो ।
जसअन्तर्गत ग्राहकले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने मौका पाउने बताइएको थियो । कम्पनीका अनुसार यो योजनामा हरेक हप्ता १० जना ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्ने छन् भने साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहने बताइएको थियो । यस्तै यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्ने, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने बताइएको थियो ।
यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्थ्यो । यो सुन्दा र हेर्दा निक्कै आकर्षक योजना थियो । तर, १ साउनमा एनसेलले एकाएक योजना स्थगनको घोषणा गर्यो ।
‘ग्राहकवर्गहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरेको एनसेल ‘सधैँ अन करोडपति’ योजना नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम आजैका मिति २०८२ श्रावण १ (जुलाई १७, २०२५)बाट लागु हुने गरी बन्द गरिएको ब्यहोरा सम्पूर्ण ग्राहक वर्गहरूको जानकारीको लागि सादर अनुरोध गर्दछौँ । यसबाट ग्राहक वर्गहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ,’ एनसेलले जारी गरेको सूचनामा भनिएको छ ।
एनसेलले एक विज्ञप्ति जारी गर्दै ‘सधैँ अन करोडपति’ योजना औपचारिक रूपमा बन्द गरिएको जानकारी दिएको हो । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको ‘सधैँ अन करोडपति’ योजनालाई चिट्ठा कार्यक्रमको रूपमा व्याख्या गर्दै चिट्ठा ऐन २०२५ को प्रावधानअनुसार योजना बन्द गर्न निर्देशन दिएको छ । ग्राहकको हितमा नपर्ने भन्दै उक्त योजना बन्द गर्न निर्देशन दिइएको बताउँछन्, नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता प्रदीप पौड्याल ।
‘विद्यमान व्यवस्था अनुसार ‘सधैँ अन करोडपति’ योजना चलाउन नमिल्ने भएका कारण बन्द गर्न निर्देशन लिइएको हो,’ उनी भन्छन्, ‘बाँकी कुरा दुर सन्चार ऐन अनुसार प्रक्रिया अघि बढ्छ ।’ एनसेलले चिट्ठा ऐन २०२५ र चिट्ठा नियमावली २०२७ को व्यवस्थाहरू उल्लङ्घन गर्दै यो योजना चलाएको थियो । चिट्ठा ऐनले यस्ता योजना सञ्चालन गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

नेपाल सरकारले अनुमित दिएकोमा बाहेकको अवस्थामा चिट्ठा खोल्न पाइँदैन । यसलाई प्रकाशन, प्रचार र विज्ञापन गर्न पनि पाइँदैन । गृह मन्त्रालय र स्थानीय जिल्ला प्रशासन कार्यालयको अनुमतिमा कुनै परोपकारी कामका लागि मात्रै चिट्ठा योजना चलाउन पाइन्छ । कानुनविपरीत चिट्ठा खोलेमा बिगोअनुसार जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था छ ।
प्राधिकरणले पनि एनसेलले योजना सुरु गर्नु पूर्व नै रोक्नुपर्नेमा ढिलाइ गरेको छ । एनसेलले भने ‘सधैँ अन करोडपति’ योजना चार साता पूर्ण रूपमा सञ्चालन गरिसकेको थियो । पाँचौँ साता सञ्चालनमा रहेको अवस्थामा प्राधिकरणको निर्देशन आएपछि योजना बन्द गरिएको हो । पाँचौँ साताको आइतबारदेखि बुधबारसम्म टिकट जित्ने ग्राहकहरूको नाम बिहीबार प्रत्यक्ष प्रसारणमार्फत घोषणा गरिएको थियो । बम्पर पुरस्कार स्वरूप १ करोड रुपैयाँका विजेताको समेत घोषणा भइसकेको छ ।
यो निर्णयले केवल ग्राहकमा अन्यौलता मात्र सृजना गरेन कम्पनीप्रति रहेको विश्वासमा पनि प्रश्न उठेको छ । एनसेलजस्ता कम्पनीहरूले नवीन योजना ल्याएर प्रतिस्पर्धात्मक बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोज्नु स्वाभाविक हो । तर एनसेलले कानुनी मापदण्डको उल्लङ्घन मात्र गरेन, ग्राहकको विश्वासमा समेत गम्भीर चोट पुर्याएको छ । दूरसञ्चारजस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदायक कम्पनीहरूले सञ्चालन गर्ने यस्ता योजनाहरूलाई नियामक निकायले पारदर्शिता, उपभोक्ता हित र निष्पक्षताको दृष्टिकोणबाट मूल्याङ्कन गर्न आवश्यक छ ।
व्यावसायिक सफलताको नाममा नियम र कानुन मिच्ने प्रवृत्ति उचित होइन । त्यस कारण यस्ता गतिविधिमा संलग्न कम्पनीहरूलाई कानुनी रूपमा कडा कारबाही गर्नु आवश्यक छ । साथै उपभोक्ताको हक र हितको प्रभावकारी संरक्षण गर्नु अपरिहार्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।